माथिल्लो भोटेकोशीको परीक्षण

0

मंसिर २२- सिन्धुपाल्चोक – पटकपटकको प्राकृतिक प्रकोपबाट झण्डै ६ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि परीक्षण प्रसारण गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीमा बाँधस्थल र फुल्पिङकट्टी झिर्पुमा विद्युत गृह रहेको आयोजनाबाट परीक्षण प्रसारण गरिए पनि आगामी १५ दिनपछि व्यापारिक उत्पादन गरिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिएका हुन् ।। हाल दुवै युनिट सञ्चालनमा ल्याइएको छ। तर नदीमा पानीको बहाव कम भएका कारण दैनिक २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत स्थापितले जानकारी दिए । उक्त आयोजनाको पुनःनिर्माणका लागि दुई वर्षअघि सात अर्बमा चिनियाँ कम्पनी सिनो हाइड्रो ब्युरो ११ सँग सन् २०१९ को डिसेम्बरसम्म सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो । सो आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनका केही टावरमा क्षति पुगेपछि चार महिनासम्म बन्द भएको थियो र मर्मतपछि पुनःसञ्चालनमा आएलगत्तै २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पनले क्षति पुर्‍याएपछि मर्मत कार्य हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले तहसनहस पारी पछि २०७४ मा पुनःनिर्माणको काम सुरू हुन लागेको हो ।

You might also like