भुमहीमा  सहकारी बजार सम्बन्धि अन्तरक्रिया

0

लक्ष्मी घिमिरे
नवलपरासी   – पश्चिम नलपरासीको सुनवल नगरपालिका – १२ भुमहीमा संचालित सहकारी बजार सम्बन्धि सरोकारवालाबीच अन्तरक्रिया विहीवार भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान कृषि सहकारी संस्था रामनगरको संयुक्त आयोजवनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डेले बिषादी रहित कृषि क्षेत्र बनाउनका लागि नगरपालिकाले योजना बनाएको उल्लेख गर्दै सहकारी बजारमा सुनवल नगर सहित समग्र जिल्लाका कृषकका कृषि उत्पादनले प्राथमिकता पाउनेमा आफु आशावादी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेलले उत्पादक र उपभोक्ताबीचको दुरी कम गरी बिचौलिया हावी हुन नदिनका लागि सहकारी बजार आवश्यक रहेको दावी गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनुभएका का सुनवल ११ का वडाध्यक्ष देवीलाल डुम्रेले उत्पादकले बजार नपाउने र उपभोक्ताले कृषि उत्पादन नपाउने अवस्थाबाट बाहिर ल्याउनका लागि सहकारी बजार नै उत्तम उपाय भएको धारणा राख्नुभयो । उहाँले उत्पादनको क्षेत्रबाट नै आर्थिक समृद्धि हुने दावी गर्नुभयो ।
कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघका अतिस खनाल र साना किसान कृषि सहकारी संस्था रामनगरकी अन्तर समुह अध्यक्ष गोमा न्यौपानेले धारणा राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष देवीलाल डुम्रेको अध्यक्षता सहकारी बजार संयोजक उपेन्द्र प्रधानको संचालनमा कार्यक्रम भएको थियो ।
सो सहकारी बजार प्रदेश सरकार कृषि तथा सहकारी मन्त्रालय र, सुनवल नगरपालिकाको सहयोगमा साना किसान कृषि सहकारी संस्था रामनगरले ब्यवस्थापन गर्दै संचालन गरिरहेको छ । त्यसका लागि प्रदेश सरकार कृषि तथा सहकारी मन्त्रालयको ५० लाख र साना किसानको ५० लाख रुपैया र सुनवल नगरपालिकाको समेत लगानी रहेको जनाइएको छ । त्यस्तै बजार संचालनका लागि भुमही सहकारीचोक देखि उत्तरतर्फ सटर सहितको भवन निर्माण गरिएको सहकारी बजार संयोजक उपेन्द्र प्रधानले जानकारी दिनुभयो ।

You might also like