थारु मोर्चाद्वारा पहिचान विनाको संबिद्यान खारेजीको माग
पहिचान विनाको संघीयता कामै नलाग्ने-चौधरी
संजय तिवारी नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले संबिद्यानको खारेजीको माग गरेको छ । मोर्चाले दोस्रो संबिद्यानसभाबाट बनेको संबिद्यान पश्चगामी रहेको तर्क गर्दै संबिद्यान खारेजीको माग गरेको हो ।
पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न आइतवार क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका केन्द्रीय संयोजक कमल चौधरी नाम मात्रको संघीयता आवश्यक नरहेको बताउनुभयो ।
उहाँले पहिचान विनाको संघीयता कामै नलाग्ने ठोकुवा गर्नुभयो । नेता चौधरीले नक्कली संघीयता ल्याएर जनयुद्ध र जनआन्दोलनको अपमान गरिएको भन्दै थरुहट थारुवान आन्दोलनका लागि मोर्चाले तयारी गरेको जानकारी दिनुभयो । उहाँले संबिद्यान खारेजीको माग सहित असोज ३ गते कालो दिवस मनाइने बताउनुभयो । सबै भन्दा ठुलो जनजाति समुदाय थारु र मगर रहेको बताउदैं उहाँले धोकाधडी गर्नेहरुलाई इतिहासले नछोडने चेतावनी दिनुभयो ।
त्यस्तै बैठकले २०७६ चैत्र १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले संबिद्यान खारेजीका लागि संर्घषको बिकल्प नरहेको बताउनुभयो । उहाँले मुठ्ठीभर शासकहरुका लागि ल्याएको बेनामे संघीयताले उत्पीडित जातिको मुक्ति नहुने दावी गर्र्नुभयो । पत्रकार सम्मेलन क्रान्तिकारी पत्रकार महासंघ जिल्ला अध्यक्ष संजय तिवारीको अध्यक्षतामा भएको थियो । त्यस्तै मोर्चाको बर्दघाटमा सम्पन्न केन्द्रीय बैठकमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य राजवीरले सम्बोधन गर्नुभएको थियो ।