वडामा न्युन बजेट विनियोजन गरिएको भन्दै बैठक बहिस्कार

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेट सिलिङ्गका लागि छलफल गर्न राखेको कार्यपालिका बैठकमा ६ जना कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन् । नेपाली कांग्रेस सम्बद्ध ६ जना वडा अध्यक्षले मनोमानी र एकलौटी तरिकाले बजेट ल्याएको भन्दै बैठक बहिष्कार गरेका हुन । नगर प्रमुखले गर्दै एकलौटी गर्दै अधिकाँश बजेट नगरमा केन्द्रीत गरेकोे र वडामा न्युन बजेट विनियोजन गरेकोले बैठक बहिस्कार गरिएको वडा नम्बर १६ का वडाध्यक्ष सुकबहादुर गुरुंगले स्थानीयपत्रलाई जानकारी दिनुभयो ।

बैठक बहिस्कार पछि ती वडाध्यक्षहरुले आन्तरिक छलफललाई समेत तीब्र बनाएका थिए । सो आन्तरिक बैठकमा नगरप्रमुखले पहिलेदेखि नै धेरै पेल्दै गएकोले बहिस्कारले मात्र नपुग्ने भन्दै आगामी रणनितिबारे समेत छलफल भएको बैठकका एक सहभागीले बताए । सो बैठकमा सहभागी कार्यपालिका सदस्यहरुले ब्रिफिंग गरेपछि बिज्ञप्ति समेत जारी गरेका छन् । बर्दघाट नगरपालिका वडा नम्बर ६,७,१०,११,१५ र १६ का वडाध्यक्षहरुले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा बजेट सिलिङलाई अध्ययन गर्ने समय नदिएको र अधिकाँश बजेट नगरमा केन्द्रीत गरि कार्यकर्ताको पृष्ठपोषण गर्न लागिएको आरोप लगाइएको छ ।

वडा ६ का वडाध्यक्ष रोहित थारु ७ का धुब्र थारु ,१० का राजु मिश्र ११ नम्बरका वडाध्यक्ष तीर्थराज फोज्दार १५ का बलबहादुर बलाल र १६ का वडाध्यक्ष सुकबहादुर गुरुंगद्धारा हस्ताक्षरित बिज्ञप्तिमा आन्दोलनको चेतावनी दिएको छ । बिज्ञप्तिमा – बजेटलाई न्यायोचित ढंगले बिकेन्द्रीकृत नगरे हामी कडा आन्दोलनमा उत्रन बाध्य हुने – भनिएको छ । यसैबीच बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले केन्द्रबाट प्राप्त बजेटमा गतबर्ष भन्दा ३ प्रतिशत मात्र बृद्धि भएको बताउदै वडामा पठाउने बजेटमा ५ प्रतिशत बृद्धि गरिएको यसैबर्ष तलब र सामाजिक सुरक्षा भत्ता समेत बृद्धि भएको साथै नगर प्रहरीको ब्यवस्थाका लागि समेत बजेट खर्चनुपर्ने तर्क गर्दै बैठक बहिष्कार नियोजित भएको दावी गर्नुभयो ।

You might also like