साहित्य, समाज र हाम्रो बर्दघाटनगर

0


दिनानाथ पौडेल

अन्डा पहिले कि चल्ला भन्ने बहसले यकिन निष्कर्ष नदिए झैँ साहित्य पहिले कि समाज पहिले भन्ने बहसले कुनै गन्तव्यमा पुर्याउदैन । समाजको निर्माण हुनु भन्दा पनि पहिले नै, अझ भनौं जंगली युगमा मानवले आफ्ना रोइरहेका साना बच्चाहरुलाई फकाउदा गीतको प्रयोग गर्दथे भन्ने कुराले साहित्य मानव सामाजिक हुनु भन्दा पहिले नै जन्मिएको कुरालाई दर्शाउद्छ भने साहित्य समाजको दर्पण हो भन्ने वहुचर्चित उक्तिले समाजले साहित्यलाई जन्माएको हो भन्ने जिकिर गर्दछ । घोत्लिएर हेर्ने हो भने कुन पहिले भन्ने बहस नै बेतुक जस्तो लाग्दछस किनकी मानव सभ्यता, साहित्य र समाज एक आपसमा परस्पर समन्धित हुदै अगाडी बढेको देखिन्छ। जेसुकै भएपनि, साहित्य र समाजबीच नङ्ग र मासुको समन्ध छ।
मानिस सामाजिक प्राणी हो । मानिसले जन्मेदेखि नमरुन्जेलसम्म गर्ने गतिविधिले वास्तवमा उसको परिचय निर्धारण गर्दछ । समाज र प्रकृतिसंगको अन्तरक्रियाले मानव जीवनलाई अर्थपूर्ण र गतिवान बनाउदछ । मानिसले यस जगतमा भोगेका, अनुभूति गरेका, अझ भनौं पाँच ज्ञानेन्द्रीयहरुको सहाराले आर्जन गरेको ज्ञानलाई कलात्मक ढंगबाट गरिएको प्रस्तुतिले साहित्यको जन्म दिन्छ । प्राचिन समयमा यो मौखिक थियो भने आजभोली लिखितरुपमा अस्थित्वमा छ । साहित्यले मानव जीवनलाई सहि बाटोमा हिड्न एकातिर निर्दिष्ट गरेको हुन्छ भने अर्कोतिर स्वस्थ र सफल जीवनकालागि मनोरन्जन प्रदान गर्दछ । अनुशासित, देशभक्ति एवम उर्जावान मानव स्रोत उत्पादनमा समेत यसको अहम योगदान रहन्छ । शुख, शान्ति, स्वस्थ र समृद्द समाज निर्माणकालागि साहित्यले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
समाज अनुसारको साहित्य जन्मने कुरामा अधिकांश बौद्दिक व्यक्तित्वहरु सहमत छन । धार्मिक युगमा भगवान र धर्मको गुनगान गाइएको साहित्य रचिएको पाइन्छ भने युद्दकालमा युद्दको साहित्य। त्यस्तै बीसौं एक्काइसौं सताब्दीको प्राबिधिक युगमा ज्ञान, विज्ञान तथा प्राविधिक विषयवस्तुहरु साहित्यमा प्रतिबिम्बित भएको पाइन्छ । प्राचीनकालदेखि उत्तरआधुनिक युगसम्मका साहित्य हेर्यौं भने त्यहा विविध प्रकारका शैली र प्रस्तुति पाइन्छ । कतिपय साहित्यहरु तत्कालिन सामाजिक घटना अर्थात यथास्थितिवादमा मात्र केन्द्रित हुन्छन भने कतिपय तत्कालिन सामाजिक संरचनामा आधारित हुदै कल्पना मार्फत नयाँ बाटो पहिल्याउनेतर्फ लक्षित हुन्छन। प्रगतिशील साहित्यले समाज सुधार वा आमुल परिवर्तनकालागि आव्हान गर्दछ भने यथास्थितिवादी साहित्यले जे छ त्यसैमा सन्तोष गर्न प्रेरित गर्दछ।
साहित्यलाई मुख्यतः पाँच विदा, त्यो भनेको, कविता, काल्पनिक कथा, वास्तविक कथा, नाटक र तस्बिर तथा चलचित्रमा वर्गीकरण गरेको पाइन्छ ।वर्गीकरणभित्र पुन विभिन्न शाखाहरु विभक्त छन ।साहित्यको जुनसुकै विदा अध्ययन गर्दा तत्कालिन समाजको सांस्कृतिक, सामाजिक, आर्थिक, राजनैतिक, दार्शनिक, बौद्दिक, वैचारिक, धार्मिक, भाषिक आदी जस्ता विषयवस्तुहरुको ज्ञान प्राप्त हन्छ।विश्वब्रमाण्डमा घटित हुने हरेक घटना शृंखलाहरुलाई यसले समेट्न सक्दछ । भनिन्छ – जहाँ रबि पुग्दैन त्यहाँ कबि पुग्दछ । साहित्यिक ज्ञान वहुपक्षीय हुन्छ भने अन्य ज्ञान एकांगी।साहित्यविना कुनैपनि समाजको बौद्दिक पहिचान अधुरै रहन्छ।समाजका हरेक पक्षलाई मिहिन तरिकाले साहित्यले प्रतिबिम्बित गर्ने हुदा यसलाई समाजको दर्पणको रुपमा लिने गरिन्छ ।
नविन सोच, सिर्जनशीलता, काल्पनिकी, जस्ता मानसिक अभ्यास मार्फत साहित्यले मानिसलाई सदा व्यस्त र प्रफुल्लित राख्दछ । यसले मानव मस्तिष्कलाई चलायमान र तिखो बनाउदछ ।स्वच्छ र स्वस्थ मन मस्तिष्कबाट आएका बिचारले समाजमा सकारात्मक तरंग ल्याउन मद्दत गर्दछ । विसंगति, कुलत र कुकर्मतर्फ उन्मुख भएका युवायुवतीहरुलाई सुमार्गतर्फ लाग्न प्रेरित गर्दछ । साना बालबालिकाहरु स्वभावैले साहित्यप्रति रमाउने हुदा उनीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न संजीवनी बन्न सक्दछ । सिकाइमा दिगदारिलो लाग्ने परिभाषा, सूचना, नियमहरु साहित्यिक तरिकाले बुझ्दा वा पढ्दा दिगो र सरल हुन्छ भन्ने कुरा ह्रस्वो दिर्घको नियम समेटी रचिएको गत बर्षको तीज गीतले लाखौँ विद्यार्थीहरुको मन छुन सफल भएको दृष्टान्तले त्यहिं पुष्टि गर्दछ। त्यसो त रोइरहेको काखे बालकलाई भुलाउदा वा निदाउन हाल्दा आमाको मुखबाट आएको नुनु बाबु, ह ह बाबु, नानी नानी हो हो जस्ता लयबद्द स्वरले बच्चालाई सुखानुभूत प्रदान गरेको हामी सबैले देखिएको, भोगिएको कुरा हो । साच्चै नै जटिलतालाई सरलता र सहजतामा बदल्न सक्ने अदम्य शक्ति साहित्यमा निहित छ ।
चुरे पहाड, वा भनौं, दाउन्ने पर्बतको काख, शान्तिका दूत गौतम बुद्दसंग जोडिएको बुद्द्मंगल ताल अवस्थित, पाहाड र तराइको संगमस्थल, पवित्र लुम्बिनी र त्रिबेणी धाम जोड्ने हुलाकी सडक तथा पूर्व र पश्चिम जोड्ने महेन्द्र राजमार्गले छोएको हाम्रो बर्दघाट नगर भौगोलिक रुपले धनी नगर हो । यहाँ नेपालको विविधतालाई झल्काउने सप्तरंगी समुदाय बस्ने समाज छ । वास्तवमा पवित्र धाम, धार्मिकस्थल, पहाड पर्वत शृंखलाको सामिप्यता तथा विविधतायुक्त समाजको अनुकुलित वातावरणमा सिर्जनशील व्यक्तित्वको जन्म भएको पाइन्छ। सायद प्राकृतिक सौन्दर्यको काखमा विलियम वड्र्सवर्थ नजन्मिएको भए विश्व साहित्यमा स्वच्छन्दवादका पिता भनि उनी चिनिने थिएनन । साहित्य सिर्जनाको निम्ति बर्दघाट नगर हरेक दृष्टिकोणले उपयुक्त छ भन्दा अतिसयोक्ति हुदैन ।
देशका विभिन्न ठाउँबाट रास्ट्रिय स्तरमा कथाकार, निबन्धकार, नाटककार, कबि, लेखक, गायक जस्ता प्रतिभा जन्मदा बर्दघाट नगरलाई चिनाउने गरि कोहिपनि अगाडी आउन सकेका छैनन । महेन्द्र राजमार्गले छोएको कारण वाहेक यस नगरलाई रास्ट्रिय स्तरमा चिनाउने गरि नत कुनै उल्लेख्य कार्य यहाँ भएको छ नत कुनै सर्जक वा राजनीतिज्ञ नै जन्मिएका छन । यहाँ नत ऐतिहासिक महत्वको कलात्मक सम्पदा छ नत अनौठा चिजहरु नै । रास्ट्रिय स्तरको व्यक्तित्व नजन्मदासम्म वा कुनै उल्लेख्य कार्य नहुदा सम्म हामी बर्दघाट नगरबासीको पहिचान रास्ट्रिय स्तरमा स्थापित हुनै सक्दैन । हाम्रा आफन्त वा महेन्द्र राजमार्ग हुदैं यात्रा गर्ने यात्रुले अड्कल गरी चिन्ने वाहेक अर्को चिनारीको मापक हामीसंग आजसम्म छैन ।
बर्दघाट नगरलाई साहित्य क्षेत्रबाट चिनाउन सकिन्छ भन्ने उदेश्यकासाथ साहित्यप्रति बिशेष रुची र चासो राख्ने व्यक्तिहरुको छलफलबाट बर्दघाट साहित्य समाजको भर्खरै जन्म भएको छ । यस क्षेत्रका साहित्यिक प्रतिभाहरुको खोजी तथा बाल साहित्यको प्रस्फुटन गराउने लक्ष्यकासाथ बामे सर्ने जमर्को गरिरहेको छ । यस क्षेत्रका समस्त साहित्य अनुरागी महानुभावहरु यस समाजमा संगठित भइ साहित्य सिर्जनाको प्रबर्दनमा योगदान दिनुहुनेछ भन्ने आशा लिएका छौं । शुख, शान्ति र समृद्दीका लागि साहित्य भन्ने मूलमन्त्रकासाथ सम्पूर्ण बर्दघाटनिवासी आमाबुवा, दाजुभाइ तथा बिधार्थी भाइबहिनीहरुसंग हामी जोडिन चाहन्छौं । सम्भव भए तन र मनसंगै जोडिने जमर्को गर्ने छौं, नभए सुचनाको संयन्त्र मिडिया मार्फत जोडिने छौं। नयाँ बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना ।

बर्दघाट – १३, नवलपरासी

You might also like