साहित्यकार अर्जुन अविरलको दृष्टिमा – पत्रकार रवि पाण्डेय

0

अर्जुन अबिरल
-पारिवारिक पृष्ठभुमि
तत्कालिन माकर गाउ पंचायतको चिसापानीमा रवि पाण्डेयको जन्म भएको थियो । सो स्थान हाल बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी बल्क नम्बर १ मा पर्दछ । मिति २०४१ साल माघ २८ गते आइतवार जन्मेका रवि पाण्डेयको पुरा नाम रविलाल पाण्डे हो । उहाँ बुवा स्वः मेघनाथ पाण्डे र आमा पार्वतीदेवी पाण्डेको जेष्ठ सुपुत्र हुनुहुन्छ । गाउघर तर्फ दिनेश उहाँको परिचित नाम हो । दिब्यज्योति माविबाट २०५७ सालमा प्रबेशिका उर्तिण पाण्डेको परिवार निम्न मध्यमवर्गीय परिवार रहेको छ । गुल्मी जिल्लाको हर्मिचौरबाट २०३४ अघि झरेका पाण्डेको परिवार पञ्चायतकालमा सुनवलको मछेडमारामा सुकुम्बासी बसेको थियो । तर निरकुश पञ्चायतले त्यहाँका सुकुम्बासी उठाउने निकै प्रयत्न गर्यो । त्यो सुकुम्बासी आन्दोलनलाई सरकारले दबाउन सकेन र त्यहाँका सुकुम्बासीलाई बर्दघाट २ चिसापानी, दाउन्नेदेवी र पुर्नवासमा ल्याएर जग्गा दिएको थियो ।
-बाल्य अबस्था
सानैदेखि अति मिलनसार उहाँ परिवारमा मात्र प्यारो नभई गाउघरमा समेत निकै प्यारो भएकोले सबैले बाबु भन्ने गर्थे । आफ्नो कुरालाई सधै निर्धक्क संग राख्ने सानैदेखिको उहाँको बानी हो । परिवारले जेठो छोरो भएको कारण चाखिलो पालित बाट हुर्किएका उहाँले किशोर अवस्थामा अध्ययन गर्दा कने आर्थिक अबस्थाका कारण निकै समस्या झेल्नुपरेको थियो । उहाँ कर्ममा विश्वास गर्ने भएका कारण सानै उमेरदेखि पढाई खर्च जुटाउदै अध्ययन गर्नुभयो । ३ दिदी २ बहिनी गरी ५ दिदी बहिनी मध्ये काइली बहिनीको शान्तिको २०५९ साल चैत्र १९ गते बर्दघाटमा सडक दुर्घटनाका कारण मृत्युभएको थियो । बर्दघाटमा उहाँकै बहिनीको नाममा शान्तिनगर चोक समेत छ । उहाँहरु दुई २ भाई हुनुहुन्छ । श्रीमति, १ छोरा १ छोरी र आमा सहित उहाँको परिवार बर्दघाट ४ दिब्यनगरमा बसोबास गर्दै आउनुभएको छ । उहाँहरु सपरिवार क्रान्तिकारी माओवादीको मुलधारमा सक्रिय हुनुहुन्छ ।
-बैचारिक अडान
पूर्व बिद्यार्थी नेता रवि पाण्डेयलाई नवलपुर तर्फ निकै संर्घषशिल ब्यक्तित्वको रुपमा चिनिन्छ जनयुद्धको उतराद्र्धमा नवलपुरको संगठनमा उहाँको बिशेष योगदान रहेको पूर्व माओवादीहरुको समेत भनाई छ । उहाँले गैडाकोट देखि सर्दी सम्मको भित्री मधेशको बिद्यार्थी आन्दोलन उठाउन निकै खटनुभएको थियो । त्यसबेला सुर्य न्यौपाने ,सन्तोष सिग्देल, रवि पाण्डेय, बोल्गा नेपाल, रमेश बस्याल , खड्ग बस्नेत , समिक्षा बि.क, गोबिन्द न्यौपाने लगायतको नेतृत्वमा उहाँ त्यसबेला शैक्षिक निजीकरण तथा ब्यापारिकरण बिरुद्धको आन्दोलन उठेको थियो ।
हरेक कुरामा द्धन्द्धवादी भएर सोच्ने उहाँको बानी रहेको छ । हरेक काममा यो हुन्छ वा हुदैन भए के हुन्छ नहुदाँ के हुन्छ भनेर सोच्ने उहाँ हरेक कुरालाई शंका र विस्वास बरोबरी गर्नुहुन्छ । आँखा चिम्लेर विश्वास गर्ने भन्दा पनि ब्यवहार हेरेर विस्वास गर्ने बानीका कारण उहाँलाई साथीहरुले शंकालु दृष्टिले हेर्ने गर्दछन । तर हाम्रो संगतले के पुष्टि गर्दछ भने उहाँले बस्तुगत अवस्था हेरी धारणा बनाउनुहुन्छ । बर्हिमुखी र फरासिलो बोलीका कारण उहाँका अभिब्यक्ति केही विवादित हुने गरेपनि अन्तरसंर्घषको अध्ययनमा उहाँ माहिर हुनुहुन्छ । बर्गसंर्घषबाट खारिएको ब्यक्ति भएकाले उहाँ लाल र निपुर्णबीचको सम्बन्धलाई राम्रो संग पकडने गरेको त्यसबेलाका सहकर्मीहरु बताउछन् । दमदार तर्क राख्ने भएकोले उहाँ कुनै पनि नयाँ ब्यक्तिमा समेत सहजै प्रभाव राख्न सक्ने हुनुहुन्छ । उहाँ आफ्नो अडानलाई तार्किक ढंगबाट राख्ने भएकाले बिरोधीहरुले त्यति मन पराउदैनन । उहाँले बैचारिक क्षेत्रमा सम्झौता गरेको पाईदैन । तर उहाँलाई चञ्चल अस्थिर भन्नेहरु पनि छन् । मलाई भने अस्थिर भन्दा पनि चलायमान जस्तो लाग्छ उहाँको बानी ।
-राजनैतिक संस्कार
उहाँको परिवार पुर्व नेकपा मालेको आलोकमा झुकाव राख्ने थियो । २०५४ मा तत्कालिन नेकपा एमालेले आमा पार्वती पाण्डेलाई वडामा उम्मेदवार बनाउने प्रस्ताव पनि ल्यायो तर त्यो प्रस्ताव पाण्डेय परिवारले कुरा मानेन । त्यसपछि तत्कालिन जनप्रतिनिधिहरुले पाण्डे परिवारले जोतभोग गर्दै आएको जग्गामा समेत दर्ता रोक्न निकै प्रयत्न गरे । ती प्रतिनिधीहरुसंगको प्रतिवाद प्रतिकारबाट नै आमा पार्वतीको माओवादी आन्दोलन प्रतिको झुकाव रहयो । र तत्कालिन रुपमा कमरेड सरोज संग भेटभएको र महिला संगठनमा आबद्ध भएको माओवादी आन्दोलनको इतिहासमा उल्लेख छ । क्रान्तिकारी माओवादीका पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले पाण्डेयको आमा पार्वती संगठित भएपछि मात्र उहाँको परिवार माओवादी आन्दोलनमा जोडिएको बताउनुहुन्छ । उहाँ त सानै हुनुहुनथ्यो हामी सागठनिक काम गर्दै गर्दा त्यसको प्रभाव पनि उहामा पर्नु स्वाभाविक हो भन्नुभयो । यद्धपि रवि पाण्डेयको बैचारिक पृष्ठभुमि भने अलि फरक छ । उहाँ २०५५ सालमा कक्षा आठमा अध्ययन गर्दै गर्दा तत्कालिन नेकपा ( माक्र्सवादी ) को बिद्यार्थी संगठन नेपाल प्रगतिशिल बिद्यार्थी संगठनमा आबद्ध हुनुभयो । सो पार्टीका नेता जय प्रकाश भरतको सम्पर्क उहाँ त्यहाँ आबद्ध हुनुभएको थियो । तर त्यहाँ अधिकाश साथी संगै उहाँ तत्कालिन अबस्थाबाट नेकपा माओवादी प्रबेश गर्नुभयो । उहाँ २०५९ सालको प्रतिगमन बिरोधी आन्दोलनमा संयुक्त बिद्यार्थी मोर्चाको कबरमा सरिक हुनुभएको थियो । त्यसपछि नवलपरासीको क्रान्तिकारी बिद्यार्थी आन्दोलन उठाउन सक्रियता पुर्व लाग्दै सो पार्टीको पार्टी सेलमा आबद्ध हुदै २०६१ मा अखिल क्रान्तिकारीको जिल्ला सदस्य , त्यसपछि बर्दघाटमा शान्ति सम्झौता पूर्व भएको जिल्ला सम्मेलनबाट जिल्ला सचिव हुदै पुर्वी नवलपरासीको पार्टी इलाका सचिव तथा बिद्यार्थी आन्दोलनमा समेत जुझारु रुपले संगठनमा होमिनुभयो त्यति नै यो पंक्तिकार संगको भेटको माध्याम बन्यो । उहाँको त्यसबेला भुमिगत नाम कमरेड समर भएको मलाई स्मरण छ । जसले हामीलाई लुम्बिनी कलेजमा प्रशिक्षण दिनुहुनथ्यो ।
-साहित्यिक हस्ताक्षर
सामाजिक ब्यक्तित्व समेत रहनुभएका रवि साहित्यमा रवि विकल्प नाममा परिचित र उतिकै सक्रिय ब्यक्तित्व हो । शुरुका दिनमा ०५८ सालमा दिब्यज्योति बहुमुखी क्याम्पस अध्ययन गर्दै गर्दा उहाँ साहित्य गोष्ठीमा निकै सक्रिय हुनुभयो । त्यसपछि २०६१ मा दिब्यपल्लबी साहित्यिक पत्रिका प्रकाशन गर्दै साहित्यिक पत्रकारको रुपमा पहिचान बनाउनुभयो । उहाँ अखिल नेपाल जनसाँस्कृतिक महासंघ अखिल नेपाल लेखक संघ हुदै उहाँले रक्तक्रान्ति प्रगतिशिल गजल संग्रह प्रकाशित रहेको छ । २०५९ सालका राजाले कु गरेपछि साहित्य मार्फत भएको प्रतिगमन बिरोधी आन्दोलनमा साहित्यमार्फत लाग्नुभयो । आमुल परिर्वतनको एक नारा लिई उठ भन्ने गजल त्यसबेला निकै ख्याती प्राप्त गजल भयो । जुन हरेक आन्दोलनको मोर्चामा उहाँले प्रस्तुत गर्नुहुन्थ्यो । उहाँका मुक्तक संग्रह र लघुकथा संग्रह प्रकाशोन्मुख रहेका छन् । उहाँ कावासोती बस्दाँ दिपक सोती र उहाँका परिवारको संगतबाट पनि साहित्य लेखनप्रति निरन्तरता दिनुभएको थियो ।
-शिक्षणमा अब्बल
नवदिब्यज्योति प्राथमिक बिद्यालयको स्थापना तथा संस्थापनका भुमिका खेल्नुभएका उहाँ बिभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत पुरस्कृत हुनुभएको छ । शिक्षण छोडेर जनयुद्धमा होलटाईमर हुनुभएका उहाँ पुनः फेरि सोही बिद्यालयमा शिक्षण गर्न पुनः स्थापित समेत हुनुभयो । तर शिक्षण पेशाबाट भन्दा पत्रकारिताबाट संसार बुझ्न सहज हुने भएकोले शिक्षण पेशा छोडेर २०६९ बाट उहाँ पत्रकारिताको पुर्णकालीन बिद्यार्थी हुनुभयो । शिक्षणमा समेत बालमैत्री शिक्षणमा पोख्त उहाँ रुम टु रिडबाट समेत पुरस्कृत हुनुभएको थियो ।
-जन पक्षीय पत्रकारिता
२०६३ सालपछि उहां जनआब्हान साप्ताहिक हुदै नयाँ सत्ता दैनिक तत्कालिन बुटवल टुडे दैनिक र पछि लुम्बिनी दैनिकमा आबद्ध हुदै दाउन्ने साप्ताहिकको प्रबन्धकको रुपमा कार्य गर्नुभयो । र त्यस पश्चात रेडियो दाउन्ने स्थापनामा क्रियाशिल हुदै सहसचिव समेत भई १८ महिना समाचार तथा सिफ्ट ईञ्चार्जको रुपमा काम गर्नुभयो । सोही सिलसिलामा कृष्ण बहादुर कार्की नेतृत्वमा क्रान्तिकारी पत्रकार संघको जिल्ला सदस्य र पछि जिल्ला सचिव हुनुभयो । उहाँले २०६७ सालमा नेपाल पत्रकार महासंघको साधारण सदस्य पाउनुभएका उहाँ बर्दघाटमा रहेको त्रिवेणी सामुदायिक टेलिभिजनको संस्थापक सचिव तथा कार्यकारी निर्देशकको रुपमा ३ बर्ष कार्य गर्नुभयो । त्यसपछि २०६९ सालमा क्रान्तिकारी पत्रकार संघले बैचारिक धारले छाडेपछि उहाँ नेकपा ड्यास माओवादीनिकट क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा बहुमत पत्रकार सहित क्रियाशिल रहदै आउनुभयो । त्यसपछि सो संगठनको केन्द्रीय सदस्य सचिवालय सदस्य समेत हुनुभयो । त्यसपछि संर्घषका दिन झनै कष्टकर रह्यो । तर संर्घष प्रति निकै आस्था भएका कारण निरन्तर उहाँ क्रान्तिकारी र जनपक्षिय पत्रकारितामा सक्रिय हुुनुभयो । नेपाल पत्रकार महासंघमा जिल्ला सदस्य हुदै ब्यवासयिक तथा जनपक्षीय पत्रकारलाई सदस्यता दिलाउन भुमिका खेल्नुभयो । उहाँले हाल न्यु भिजन मिडिया प्रालिद्धारा स्थानीय पत्र साप्ताहिक संचालन गर्दै अनलाइन समेत संचालन गर्दै आउनुभएको छ । चुस्त संगठनमा विस्वास गर्ने उहाँ पत्रिकामा पनि थोरै कर्मचारी राखेर खटदै आउनुभएको छ । उहाँको रंगीन पत्रिकाले राम्रै ब्यवसाय गर्दै आत्मनिर्भर हुने तर्फ अगाडि बढेको छ ।
– संर्घषको खाँचो
उहाँ नेपालमा जनवादी क्रान्ति नभई हरेक समस्याको समाधान हुदैन भन्नेमा अडिग हुनुहुन्छ त्यो अडानले उहाँको आस्था क्रान्तिकारी माओवादी प्रति छ । उहाँमा नेतृत्व संग डटेर आफनो कुरा राख्न सके खुबी छ । जनयुद्धमा होमिदां कष्ट सहेपनि उहाँ जेल पर्नुभएन । तर २०७५ सालमा विस्तारवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदाँ भएको मोदी बिरोधी आन्दोलनको रिर्पाेटिंग गर्ने क्रममा उहाँ बुटवलमा हिरासतमा पर्नुभयो । यद्धपि उहाँ नेतृत्व संग पारिवारिक स्थिति यस्तो छ भन्दै बार्गेनिंग गर्ने र बाहानाबाजी गर्नेमा मध्येमा उहाँ कहिल्यै पर्नुभएन । अहिले उहाँ नेपाल पत्रकार महासंघ नवलपरासीको कोषाध्यक्षमा सर्बसम्मत यीनै खुबीको पृष्ठभुमिले हुनुभएको हो भन्ने यस पंक्तिकारको बुझाई हो । अब पनि पत्रकारिता भजाउनेहरुसंग सर्तक रहदै अगाडि बढनु हुनेछ भन्ने अपेक्षा राख्तछु । साथै उहाँलगायत सबैमा श्रमजिवी पत्रकारको हितमा र पत्रकार श्रमजिवीद्धारा संचालित साना मिडियाको पक्षका लाग्ने प्रेरणा मिलोस निर्वाचित हरि शर्माको टिमलाई बधाई । सर्बसम्मत बनाउनेहरुलाई झनै धन्यवाद भन्न चाहन्छु ।
– यो लेख पश्चिम नवलपरासी र नवलपुरका बिभिन्न ब्यक्तित्वहरुसंग गरिएको कुराकानीको आधारमा तयार पारिएको हो । लेखक दाउन्ने साप्ताहिकका प्रधानसम्पादक तथा प्रेस सेन्टर नवलपुरका कावा अध्यक्ष हुनुहुन्छ ।

You might also like