सलह नियन्त्रणमा भारत र पाकिस्तानको अनुभव : राति ११ बजेदेखि बिहान ७ बजेको समय उपयुक्त
१५ असार,
काठमाडौं । कोरोनापछि अर्को संकट छिमेकी देश भारतबाट नेपाल छिरेको छ– सलह । आउँदैन भन्दाभन्दै नेपालमा आयो । ‘ढिलो आयो, कडा आयो’ भनेजस्तो सलहले एकैपटक देशव्यापीरुपमा सलहको आतंक सिर्जना भएको छ ।
अहिले नेपालमा देखिएको सलह सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको थियो । त्यहाँबाट साउदी अरब, इरान हुँदै गत डिसेम्बरमा सलह दक्षिण एसियाली राष्ट्र पाकिस्तान आइपुग्यो । पाकिस्तानमा ठूलो क्षति पुर्याउँदै भारत छिर्यो।
विस्तारै जाडो कम भएपछि पुनः बंश वृद्धि भई सलह भारत छिरेर बिशाल झुण्डहरुमा बसिरहेको छ । अहिले भारतमा एक दर्जनभन्दा बढी सलहको हुल राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणाका विभिन्न क्षेत्रमा विचरण गरिरहेका छन् । अघिल्लो रात हरियाणाबाट उत्तर प्रदेशतर्फ सलहहरु लम्किरहेको बीबीसीले जनाएको छ । समाचारअनुसार गुरुग्राम, फरिदावाद र दिल्लीका केही ठाउँहरुमा पनि सलहले दुःख दिएको रिपोर्टहरु आएका छन् ।
भारतमा भन्दा पहिले पाकिस्तानमा सलहले हंगामा गरेको थियो । तर, पाकिस्तानले यसलाई अहिले धेरै हदसम्म नियन्त्रणमा लिइसकेको छ । सलहलाई नियन्त्रणमा लिन पाकिस्तानले प्रयोग गरेको सूत्र नेपालका लागि पनि उपयोगी हुन सक्छ । खास गरी, सलहलाई कुखुराको आहाराका रुपमा प्रयोग गर्ने विधि त्यहाँ धेरै प्रभावकारी देखिएको थियो ।
सबैभन्दा पहिले पाकिस्तानको पञ्जाब प्रान्तबाट यो प्रयोग सुरु गरिएको थियो । कृषकहरुलाई सलह संकलन गरेर कुखुरालाई खुवाउन सरकारले प्रेरित गर्यो । साथै, किसानले सलह संकलन गरेर ल्याएमा सरकारले खरिद पनि गर्ने रणनीति अख्तियार गरियो । अहिले नेपालमा दुईवटा प्रदेशले यही नक्कल गरेका हुन् ।
पञ्जाब प्रयोग प्रभावकारी देखिएपछि प्रधानमन्त्री इमरान खानले यो विधी देशव्यापीरुपमा लागू गर्न चाहे । पाकिस्तानको खाद्य मन्त्रालयका अधिकृत मेहम्मद खुर्सिद र बायोटेक्नोलोजिस्ट जोहर अलिले यसका लागि एक कार्यक्रम तर्जुमा गरे । उनीहरुले पञ्जाबकै ओकरा जिल्लालाई पहिलो छनोटमा राखे, जहाँ कृषकहरुले आफ्नो बालिनालीमा कुनै विषादीको प्रयोग गरेका थिएनन् ।
‘सुरुमा सलह समात्न हामी आफैंले सिक्नुपर्ने थियो र त्यसपछि स्थानीयलाई सिकाउनुपर्ने थियो । सलहरुलाई जालीले कुनै काम गर्दैन,’ खुर्सिदले एएफपीसँग भनेका छन् । खुर्सिदका अनुसार रातिको समयमा सलहका झुण्ड रुख वा बोटबिरुवामा चढेका हुन्छन् । बिहान घाम नउदाउँदासम्म स्थिर भएर बस्छन् । त्यसबेला तिनीहरुलाई समात्न सजिलो हुन्छ ।
सरकारले प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिने भनेपछि स्थानीयहरु रातभर सलह संकलनमा जुटेका थिए । सलहले आफ्नो सबै उब्जनी नष्ट गरेपछि निराश बनेका एक कृषकले एकपटकको आउटिङमा संकलित सलहबाट १६ सय रुपैयाँ आम्दानी गरेको बताइन् । यसले गर्दा आफ्नो गुजारा सहज बनेको अनुभव उनले सुनाइन् ।
त्यसो त सुरुमा सलह संकलन गरेर बेच्ने कुरा गर्दा कृषकहरु त्यति उत्साहित थिएनन् । तर, विस्तारै उनीहरु यसमा आकर्षित हुँदै गए । पछि सरकारले नै अब भयो भन्ने स्थिति आयो । मानिसहरुले २० औं टन सलह संकलन गरेपछि सरकारले यसका लागि छुट्याएको बजेट नै सकिएको थियो । अन्ततः सरकारले सो कार्यक्रम स्थगित गर्यो ।
गत फेब्रुअरीमा पाइलट प्रोग्रामका रुपमा पञ्जाबमा लागू गरेको सो कार्यक्रम अहिले अन्य स्थानहरुमा पनि विस्तार गरिएको छ । किसानहरुबाट संकलन गरिएका सलहलाई जनावरको आहारा उत्पादन गर्ने कम्पनी हाइ टेक फिड्सले खरिद बिक्री गरिरहेको छ । कम्पनीका अनुसार कुखुराहरुको खानेकुरामा अहिले सलहले १० प्रतिशत हिस्सा ओगटेको छ ।
‘सलह खुवाउँदा कुखुराहरुमा कुनै नकारात्मक असर देखिएको छैन,’ कम्पनीका महाप्रबन्धक मेहम्मद खथरले भने ।
यो त भयो एउटा रोचक तरिका । तर, यही विधिबाट मात्रै सम्पूर्ण समाधान भने सम्भव छैन । पाकिस्तानको कृषि क्षेत्रलाई सलहले तहसनहस बनाइदिएको छ । अन्नबालीदेखि फलफुलसम्ममा यसले क्षति पुर्याएको थियो । कोरोनाको महामारीका बेला किसानका उब्जनीहरु सलहले नष्ट पारेपछि आउँदा दिनहरुमा ठूलै खाद्य संकटको खतरा उत्पन्न हुन सक्ने विज्ञहरुले औंल्याएका छन् । पाकिस्तानले उच्च परिमाणमा विदेश निर्यात गर्दै आएको गहुँ र कटनको उत्पादन पनि सलहले ध्वस्त पारेपछि राष्ट्रिय आयमा पनि सुख्खा लाग्ने स्थिति छ ।
पाकिस्तानको सरकारले सलहसँग लड्का लागि राष्ट्रव्यापी संकटकालसमेत लगाएको थियो र अन्तराष्ट्रिय समुदायसँग सहयोगको याचना गरेको थियो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अनुसार पाकिस्तानमा सलहले कुल ५ अर्ब अमेरिकी डलरको नोक्सानी गरेको छ भने २५ प्रतिशत उब्जनी नष्ट भएका छन् । आगामी दिनमा खाद्यान्नको अभाव र उच्च मूल्यवृद्धिको खतरा पनि संगठनले औंल्याएको छ ।
भारत के गर्दैछ ?
अब कुरा गरौं भारतको । भारत सरकारले स्थापना गरेको सलह चेतावनी संस्थानका उपनिर्देशक केएल गुर्जरका अनुसार अहिले एक दर्जनभन्दा बढी सलहको फौज दैनिक डेढ सय किलोमिटरसम्मको यात्रा गरिरहेका छन् । आमरुपमा एउटा फौजमा कम्तिमा पनि एक करोड सलहहरु हुन्छन् जुन एकपटकमा दुईदेखि तीन किलोमिटरको क्षेत्रसम्म फैलिएर उड्छन् ।
बीबीसीसँगको कुराकानीमा गुर्जले भने, ‘अहिले राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेशका केही हिस्सा र हरियाणाका केही क्षेत्रमा सलहले दुख दिइरहेका छन् । सबैभन्दा बढी आतंक राजस्थानमा छ । अब उत्तर प्रदेशका केही क्षेत्रमा पनि यसले प्रवेश गरिसकेको छ ।’
गुर्जरका अनुसार सलहको दल एक किलोमिटरदेखि तीन किलोमिटरसम्म फैलिएका छन् ।
उनी भन्छन्, ‘हामी नियन्त्रणमा ल्याउने कोशिष गरिरहेका छौं, तर अत्यधिक तापक्रमले गर्दा यिनीहरु बढी चञ्चल छन् । अधिकांस दलमा अपरिपक्व कलिला सलहहरु छन् । हामी जब स्प्रे गर्छौं, यिनीहरु तुरुन्त उडिहाल्छन् । त्यसैले अहिलेसम्म हामीले ५० प्रतिशतसम्म मात्रै सलह नियन्त्रण गर्न सकेका छौं ।’
अहिले पश्चिमी वायूका कारण सलहको दल पूर्वतर्फ बढिरहेको अधिकारीहरुले बताएका छन् । यूपीको आगरा र बलंदशहरतर्फ यिनीहरु बढिरहेका छन् । तर, पश्चिमी यूपीका अन्य जिल्लाहरुमा नजाने अनुमान गरिएको छ ।
बढी तापक्रम र हावाको बेग सलहहरुका लागि अनुकूल हुने विज्ञहरु बताउँछन् । त्यही भएर भारतले सलह नियन्त्रण गर्न दु:ख झेलिरहेको छ ।
डा. गुर्जर भन्छन्, ‘यदि तापक्रम अलि कम भएमा सलहको फौजको ‘मोटाबोलिक एक्टिभिटी’ अलि कम हुन्छ । त्यस अवस्थामा नियन्त्रणमा लिन सहज हुन्छ । अहिले पश्चिमी वायुको सहारा पनि यिनीहरुले पाइरहेका छन् । हावाको बेगले गर्दा यिनीहरु सजिलैसँग अगाडि बढ्छन् । त्यही भएर हाम्रो सामु ठूलो चुनौति छ ।’
भारतका केही क्षेत्रमा सलहको दलले फुल पनि पारिरहेका छन् । सरकारले यस्ता क्षेत्रहरुको खोजी र पहिचान गरिरहेको छ । केन्द्र सरकारले यसका लागि साठी ओटा टिम बनाएको छ । यसैगरी राज्य सरकारहरुले पनि फरक–फरक टिम बनाएर सलहको फौज नियन्त्रणमा लिन प्रयासरत छन् ।
भारतमा सलह नियन्त्रणका लागि ड्रोनको प्रयोग पनि भइरहेको छ । ड्रोनको सहयोगबाट विषादी छर्कने कार्य प्रभावकारी बनिरहेको अधिकारीहरु बताउँछन् । एक अधिकारीले भने, ‘मान्छेले छर्किन अप्ठेरो हुने ठाउँहरुमा हामीले ड्रोनको प्रयोग गरिरहेका छौं । यसले राम्रो नतिजा पनि प्राप्त भइरहेको छ ।’
भारतमा धेरै ठाउँहरुमा धान रोपाईं सकिएको छ भने कति ठाउँहरुमा सुरु हुन लागेको छ । यी क्षेत्रहरुमा भने धेरै खतरा नभएको अधिकारीहरुले बताएका छन् ।
उत्तर प्रदेशका कृषि विभागका निर्देशक सोराज सिंहका अनुसार सलहको दलको हमलालाई हेरेर प्रदेशका सबै जिल्लामा नोडल अधिकारी नियुक्त गर्न निर्देशन दिइएको छ । यसैगरी, आपत्कालीन व्यवस्थासम्वन्धी कानून अनुसार सलह रोकथामको लागि सरकारी कोषको प्रयोग गर्न पनि जिल्ला अधिकारीहरुलाई अनुमति दिइएको छ ।
सरकारले किसानहरुलाई सलह भगाउनका लागि हल्लाखल्ला गर्ने, ढोल बजाउने, टिन र अन्य भाँडाकुडा ठटाउने लगायतका सुझावहरु दिएको सिंहले बताए । सबै प्रभावित जिल्लामा राति ११ बजेदेखि बिहान सात बजेसम्म सलह नियन्त्रणका क्रियाकलाप गर्न भनिएको छ । ‘सलहहरु दिनभरि उड्छन् र रातभरि विश्राम गर्छन् । त्यसैले उनीहरुले विश्राम गरिरहेको समयमा विषादी छर्कन आदेश दिएका छौं,’ सिंहले भने ।
Online khaber