प्रदेश पाँचमा पहिलो पटक देखियोे कोरोना, एकै दिन दुई जनामा संक्रमण

0

बुटवल १९ वैशाख – प्रदेश पाँचमा दुई जना कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। रुपन्देहीका २५ वर्षका युवक र बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुषलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश पाँचमा कोरोना देखिएको यो पहिलो पटक हो । यस अघि एकजनामा मात्र र्यापिड टेष्ट पोजेटिभ आएकोमा पिसिआर परिक्षण गर्दा नेगेटिभ आएको थियो ।
त्यस्तै रुपन्देहीका कोरोना संक्रमित २५ वर्षीय युवा कोटहीमाई गाउँपालिकाका हुन् । उनी भारतीय सीमा क्षेत्रमा बस्दै आएको बताइएको छ । भारतबाट बैशाख ५ गते नेपाल भित्रिएका उनी मर्चवारकै एक क्वारेन्टाइनमा बसेका थिए । मर्चवारको मझगवामा स्थित क्वारेन्टाइनका सबैको कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको हो ।
नेपाल–भारत सीमामा कडा सुरक्षा तैनाथीका बीच उनी लुकेर नेपाल पसेको बुझिएको छ । गाउँमा आएको पत्ता पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । त्यसपछि मात्रै उनलाई क्वारेन्टाइन लगिएको थियो । उनी अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै नेपालगन्जका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सहरका चार स्थानलाई सिल गरिएको छ । कोरोना पोजिटिभ देखिएका व्यक्ति नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय हुन् । भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै छ सय जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ ।
नेपालगञ्जका डिएसपी रोड, वडा न ८ महेन्द्र पार्क, धम्बोजी चोक र एकलैनी क्षेत्र सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले बताए । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्क्स्थित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएका थिए । जसका कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने भएको छ ।
नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका ती युवा लामो समयदेखि उनी घर छोडर मस्जिद बस्दै आएका छन् ।
उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिएको छ ।

You might also like