घुससहित नापी सर्वेक्षक ठकुल्ला पक्राउ
परासी – परासीस्थित नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला २० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन । सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले आइतबार उनलाई कार्यालयबाटै रङ्गे हात पक्राउ गरेको थियो । बर्दघाट नगरपालिकाका एक सेवाग्राहीको पूर्जामा १८ धुर जग्गा उल्लेख भएपनि नक्सामा नभएकाले मिलाइ दिने भन्दै ठकुल्लाले २० हजार माग गरेको बताइएको छ ।
उनले क्षेत्रफल सुधार गर्ने भनी सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको आयोग कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो । उनलाई आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको भुसालले बताउनुभयो । ठकुल्ला केही महिनाअघि मात्र अमिनबाट सर्वेक्षकमा बढुवा भएको बताइएको छ ।