नवलपरासीमा विप्लव नेकपाका जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ
नवलपरासी – नवलपरासीमा प्रहरीले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित दुई जनालाई सोमबार राति पक्राउ गरेको छ । नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनीयालाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।
ज्ञवाली प्रचण्ड नेतृत्वको एमाओवादी हुदाँ नवलपरासी जिल्लाको कार्यालय सचिव रहदै आउनुभएको थियो । पछि पार्टीमा दुई लाइन संघर्षसँगै मोहन वैद्य किरण नेतृत्वको टोलीले छुट्टै पार्टी गठन गरे पछि उहाँ वैद्य नेतृत्वको पार्टीमा सक्रिय हुनुभयो । पछि विप्लवले वैद्यसँग छुट्टिएर छुट्टै पार्टी बनाए पछि ज्ञवाली विप्लवको पार्टीमा लाग्नुभएको थियो । देवदहको खैरेनीमा बस्दै आउनुभएका ज्ञवाली केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेपछि भने अहिले नवलपरासी इन्चार्ज भएर जिल्लामा सक्रिय हुनुभएको जनाइएको छ । पार्टी स्रोतका अनुसार उहाँलाई प्रहरीले घरमै घेरा हालेर गिरफ्तार गरेको हो । उहाँ बर्दघाटमा बस्दै आउनुभएको थियो । त्यसैगरी विप्लव नेतृत्वको नेकपाका जिल्ला कार्यकर्ता धनबहादुर मर्दि्नियालाई प्रहरीले सोमबार राति उहाँकै घरबाट नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाका अनुसार उनलाई घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कावासोती नवलपुरमा राखेको छ ।