सुगतरत्नलाई कालोमोसो दलेको आरोपमा पक्राउ परेका तामाङ २४ दिनपछि भए थुनामुक्त,
काठमाडौं । वाइडबडी घोटालाका मुख्य आरोपी नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेका नेकपा क्रान्तिकारी माओवादी को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालका केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङ मंगलबार थुनामुक्त हुनुभएको छ । उहाँ थुनामुक्त भएलगत्तै स्वागत गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका नेकपा क्रान्तिकारी माओवादी का नेता कार्यकर्ताहरुले तामाङलाई बधाई दिंदै अबीर माला लगाएर स्वागत गरे । सिडियो कार्यालय परिसरभित्र केही बेर अबिरजात्रा समेत चलेको थियो । तामाङलाई बधाई दिन तथा स्वागत गर्न क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्यद्वय इन्द्रमोहन सिंग्देल, दिनेश शर्मा, पार्टी केसहरु सुरेश श्रेष्ठ, शारदा महत, अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेता कार्यकर्ताहरु पुग्नुभएको थियो । थुनामुक्त भएलगत्तै सिडियो कार्यालय परिसरमै मिडियाकर्मीहरुसँग कुरा गर्दै नेता तामाङले भ्रष्टाचारीमाथि गरेको कारबाहीको आरोपमा २४ दिनसम्म प्रहरी हिरासतमा बस्दा आफूलाई गर्वको महसुस भएको र भ्रष्टाचार विरोधी अभियानमा लाग्न थप उर्जा प्राप्त भएको बताउनुभयो । क्रान्तिकारी युवा लिगले सुगतरत्न कंसकारमाथि गरेको कालोमोसो कारबाहीले देशव्यापी रुपमा ठूलै चर्चा पाएको थियो । र, धेरैले क्रान्तिकारी युवा लिगको यो कदमको प्रशंसा गर्दै राजनीतिक संरक्षणमा भ्रष्टाचार मौलाएकोले भ्रष्ट राजनीतिक नेतृत्वहरुमाथि पनि यस्तो कारबाही हुनुपर्ने चर्को आवाज उठेको थियो ।