लकडाउन र रमजान

0

माेहम्मद इजहार शेष

अरबी हिज्री पात्रोको नवौं महिना हो रमजान । यसै महिनामा विश्वभरका मुस्लिम समुदाय रोजा (ब्रत) बस्दछन् । धार्मिक उत्सव जस्तै मानिने यो एक महिने ब्रत यस वर्ष कोरोना महामारीले विश्व नै अस्तब्यस्त भएको बेला परेको छ । पश्चिमि मुलुकहरुमा रमजान शुक्रबारदेखि सुरु भएको छ भने नेपाल र भारत सहितका अन्य मुलुकमा अाज शनिबारदेखि सुरु भएकाे छ । रमजान महिनामा इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरआन अवतरण भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

धार्मिक ग्रन्थ अनुसार अल्लाहको सबैभन्दा प्यारो तथा लगभग एक लाख चौबिस हजार सन्देष्टामध्ये सबैभन्दा अन्तिम र सबैभन्दा प्रभावशाली सन्देष्टा मोहम्मद सल्लअल्लाहो अलैहे ओसल्लम मक्काबाट मदिना प्रस्थान गरेर गएको दुई वर्षपछिदेखि यस संसारमा हरेक सक्षम मुस्लिमका लागि रमजानको रोजा (व्रत) अनिवार्य भएको थियो । प्रत्येक बालिग मुस्लिम समुदायका महिला वा पुरुष दुबैका लागि रमजानको रोजा अनिवार्य गरिएको मानिन्छ । यसै खुशियालीको अवसरमा मुस्लिम समुदाय एक महिने कठोर व्रत बसी रमजान पर्व मनाउने गरिएको हो । तर अहिले कोरोना भाईरसको महामारीले गर्दा हरेक कार्य अत्यन्त सावधानीले गर्नेपर्ने भएकाले रमजान पर्वका बेला मुस्लिम समुदाय थप जिम्मेवारीका साथ यो पर्व सम्पन्न गर्नुपर्नेछ ।

केही महत्वपूर्ण विषयहरु :-
सेहरी

रातको समयमा प्राय सूर्योदय हुनुपूर्व (निश्चित समय निर्धारित हुन्छ) रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । अहिले लकडाउनको समय रहेकाले खानपिनको व्यवस्था पहिले नै बन्दोबस्त गर्नुपर्छ । सकभर केहि दिनलाई पुग्ने गरी खाद्यान्न सामाग्रीहरु व्यवस्थापन गर्न उचित हुन्छ ।

ईफ्तार
सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । ईफ्तार मग्रीबको आजानसँगै गर्ने गरिन्छ, अर्थात त्यो दिनका लागि रोजा तोड्ने गरिन्छ । ईफ्तारका बेला आ–आफ्नो घर, समुदायमा सामुहिक तथा मस्जिदमा आदानप्रदान गरी ईफ्तार गर्ने चलन हो । यद्यपी त्यो बाध्यकारी भने होईन । अहिलेको समयमा सामाजिक दुरी कायम गर्नुपर्ने आवश्यक्ता रहेकाले आ–आफ्नै घरमा ईफ्तार गर्नुपर्नेछ ।

तराबिह
रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराबि (तराविह) भनिन्छ । यो करिब ९ बजेको समयमा एशाको नमाजसँगै पढिने नमाज हो । प्रायः तराविहमा कुरानको पाठ गरिन्छ । तराबि समुहमा मस्जिदमा पढ्ने गरिन्छ । तर अहिलेको समय सामुहिक कार्यका लागि उचित नभएकाले घरमै ऐशाको नामाज र तराबि पढ्नुपर्नेछ ।

शबेकद्र र कुरान मजिद
रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनको लागि अल्लाहको तर्फबाट हजरत मुहम्मदमाथि कुरान अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई “लैलतुल कद्र” पनि भनिन्छ । यस दिव्य रातलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरानले वर्णन गरेको छ । यस रातमा ईशदूतहरू पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास छ ।

सदकए-­फित्र
सदका­ए­फित्र तथा जकात (धर्मादान) द्वारा इस्लाम सामाजिक न्यायको व्यवहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । इदको नमाजभन्दा पहिला नै सदका­ए­फित्र दिनुपर्छ । सदका­ए­ फित्रबाट सङ्कलित रकम गरिब, मजदुर तथा बेसहारा मानिसहरूलाई दिनुपर्छ । फित्रको मात्रा ईस्लाम धर्ममा नै निर्धारण गरिएको छ । आफ्नो चल–अचल सम्पत्तीको मुल्यांकन अनुसार दान गर्नुपर्ने हुन्छ । गरिब, बिपन्न, अनाथ बालबालिका लगायतका असायह ब्यक्तिहरु फित्रको हकदार हुन्छन् । फित्र नदिए रमजानको ब्रत र सम्पूर्ण धार्मिक कार्य गरेको मान्य नहुने धार्मिक ग्रन्थमा उल्लेख भएका कारण मुस्लिम समुदायले यसलाई हर्षका साथ पुरा गर्ने गरेका छन् ।
जकात
जकातको अर्थ पवित्र गर्नु हो । यो फित्र जस्तै एक किसिमको दान हो । जकात कुनै व्यक्तिसँग भएको सुन, चाँदी, अन्न वा जनावर इस्लामी विधिशास्त्रले तोकेको सीमा पुगिसकेको छ भने त्यस्तो व्यक्तिको सञ्चित रकमको निश्चित परिणाममा समुदायको अधिकार हुन जान्छ । यसलाई नै जकात भनिन्छ । जकात आफ्नो आयको केही निश्चित प्रतिशत दान दिने गरिन्छ । एक परिवारका सबै सदस्यको नामबाट जकात दिनुपर्ने ब्यवस्था छ । आयस्रोत नहुने, गरिब, नोकरको स्वतन्त्रता, ऋणीहरूको कर्जा तिर्न आदिमा उक्त जकातबाट सङ्कलित रकम प्रयोग गर्न सकिन्छ । जकात गाउँका मदरसा वा सिधै विपन्न र आवश्यक ब्यक्तिलाई दिन सकिन्छ ।
ईदुल्फीत्र
हिज्री पात्रोको १० औं महिना हो सौवाल । सौवाल महिनाको पहिलो तारिखमा “ईदुल फित्र” पर्व धुमधामसँग मनाईन्छ । यो दिन बिहानै चाडैं उठेर नुहाइधुवाइ, नयाँ लुगालगाइ मुस्लिम समुदाय एक विशेष नमाज पढ्नका लागि इदगाह वा मस्जिदमा तोकिएको निर्धारित समयमा भेलाभइ इदको नमाज पढ्ने गर्छन् । नमाज पूरा हुन साथ एकआपसमा अंगालो मारेर इद मुबारक भनी खुशी साटासाट गर्छन् । मिठामिठा परिकार बनाएर आफन्त, इष्टमित्र, छरछिमेकी, गरिब, अनाथलगायत सबैलाई बोलाएर खान दिने र आफू पनि खाने गर्छन् । यसरी पुरानो कुनै रिसिइबी भए यस दिनबाट सबै रिसिइबीबिर्सेर प्रेम र उत्साहका साथ इदउल–फित्र मनाउने गरिन्छ । ईदको नमाज पनि कोरोना महामारीलाई मध्यनजर गरी राज्यको निर्देशन अनुसार सम्पन्न गर्नुपर्ने जम्मेवारी छ ।

नेपाली मुस्लिम विश्वभरिकै मुसलमानहरूको तुलनामा शान्ति प्रेमी छन् । नेपालमा मध्यकालीन इतिहासदेखि नै सामाजिक सद्भाव र सहिष्णुतालाई मन पराएको देखिन्छ । विविधताले भरिपूर्ण समाजमा सहअस्तित्वको आधारमा मिलिजुली बसेका हुन् । पहाडमा न्यून संख्यामा मुस्लिमहरू छन् । तर, उनीहरू ससम्मान पहाडी समाजसँग घुलमिल भएर बसेका छन् । तराई मधेशमा पनि मुस्लिमहरू अन्य समुदायसँग सौहार्द्रपूर्ण वातावरणमा बस्दै आएका छन् । शान्त स्वभाव र सहिष्णु प्रवृत्तिले गर्दा देशभर नै ठूलो संख्यामा सहज रुपमा मस्जिद, मद्रसा, कब्रिस्तान लगायत सञ्चालनमा रहेका छन् । विगतको जस्तै यो वर्षको रमजान महिनाले पनि नेपाली समाजमा मानवता, आपसी सदभाव, भाइचारा कायम भई मुलुकमा वास्तवीक समृद्धिको युग सुरु होस् , कोरोनाको महामारी अन्तय होस् । रमजान मुबारक !

You might also like