क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जेनजी माथिको दमनको तीव्र विरोध एवं भत्र्सना
काठमाडौं – केपी ओली नेतृत्वको गठबन्धन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्ध (जेन–जेड) को आयोजनामा भएको विरोध प्रदर्शनमाथि गरिएको प्रहरी दमन र हत्याको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तीव्र विरोध एवं भत्र्सना गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा प्रहरी दमन बन्द गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “ओली नेतृत्वको गठबन्धन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्ध (जेन–जेड) को आयोजनामा आज देशैभर विरोध प्रदर्शन भइरहेको छ । उक्त विरोध प्रदर्शनका क्रममा काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न शहरहरुमा प्रहरीले पानीका फोहरा, अश्रुग्यास, लाठीचार्ज र गोली प्रहार गर्दा अहिले साँझको ५ः१५ सम्म विभिन्न संचार माध्यमले जनाए अनुसार १७ जना आन्दोलनकारी युवाको मृत्यु भइसकेको छ । अन्य सयौंजना युवाहरु घाइते भएका छन् । सर्वप्रथम शान्तिपूर्ण ढंगले विरोधमा उत्रिएका युवाहरुमाथि ओली सरकारले गरेको प्रहरी दमन र हत्याको हाम्रो पार्टी तीव्र निन्दा तथा घोर भत्र्सना गर्दछ । साथै हाम्रो पार्टी प्रहरी दमन बन्द गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने र त्यसको विरोधमा उत्रिएका निहत्था युवाहरुमाथि बल प्रयोग गरी दमन गर्ने ओली सरकार चरम फासीवादी बन्दै गएको तथ्य स्पष्ट हुन्छ । यसको हाम्रो पार्टी कडा विरोध गर्दछ । सरकारले कानुन बनाएर सामाजिक संजाल नियमन गर्नु पर्नेमा त्यसो नगरी एक्कासी सामाजिक संजाल बन्दगर्नु गलत भएको छ । हाम्रो पार्टी सामाजिक संजालहरुमाथि लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गर्दछ ।”