बर्दघाट नगरको ‘रिफ्रेस’ तालिम नवलपुरको होम स्टेमा !
स्थानीय द्धारा नगरपालिकाको आलोचना
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले गण्डकी प्रदेशको नवलपुरस्थित अमलटारी होम स्टेमा पुगेर जनप्रतिनिधि तथा कर्मचारीहरुलाई ‘पुर्नताजगी तालिम’ गरेको छ । माघ ५ गते शुक्रवार र ६ गते शनिवार दुई दिन सम्म संचालन भएको तालिमका बारे नगरवासी बीच चर्चा परिचर्चा जारी छ ।
कार्यपालिका सदस्य र अधिकृतस्तरका कर्मचारी मात्र सहभागी तालिमका बारे सामाजिक संजाल तथा जनस्तरमा आलोचना समेत शुरु भएको छ । तालिममा करिब ५५ जना सहभागी रहेको स्रोतले जनाएको छ ।
शुक्रवार कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल र अधिकृतस्तरका कर्मचारी कार्यालयमा नभेटिएपछि सेवाग्राही आश्चर्यमा परेका थिए । सेवाग्राहीले कार्यालयमा सुनसान देखेपनि निकै चाँसोपूर्वक लिदै भेटिएका कर्मचारीहरु संग हाकिम तथा अधिकृतहरु नभेटिनुका कारण खोतलिरहेका भेटिएका थिए । ‘आज के रैछ र पालिका कार्यालय सुनसान छ’ – नगरपालिकाको कार्यालय परिसरमा भेटिएका एक सेवाग्राहीले भने– ‘कार्यालयमा न हाकिम छन् । न लेखा, न योजना । त्यसै त शुक्रवारको दिन काम हुदैन् । झन् कर्मचारी नै नहुदाँ काम हुने कुरै भएन् ।’
त्यस्तै कार्यालयमा भेटिएका एक कर्मचारीले ‘आज ठूला बडाहरुको तालिम छ गण्डकी तिर.. हामी साना (भुसुना) खालका मात्र छौ’ भनेर ब्यंग गरिरहेका थिए ।
कार्यालयमा सेवा लिन आएका अर्का सेवाग्राहीले तालिमै भएपनि सेवाग्राहीको काममा बाधा हुन नहुनेमा जोड दिइरहेका थिए । नगरको मात्र नभई वडाबाटै कामकाज ठप्प पारेर तालिममा कर्मचारी लगिएकोमा उनको असन्तुष्टि थियो ।
लेखा, प्रशासन र राजस्वमा शाखामा कोही नभए पछि छिटफुट रुपमा मात्र सेवाग्राही सेवाका लागि आएका थिए । छिट्टफुट रुपमा आएका सेवाग्राहीले निमित्त प्रमुख प्रशासकीय अधिकृत गोपाल पाण्डेलाई भेटेर काम लिने प्रयत्नमा देखिन्थे । स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रहेका पाण्डेयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी आफूले पाएको जानकारी दिदै (आज)शुक्रवार खासै सेवाग्राही नआएको दावी गरे ।
घटना क्रम बढ्दै जादाँ २ दिने यो तालिमको चर्चा यतिमा मात्र सिमित हुने देखिएको छैन् । स्थानीय बजार प्रर्बद्धन र बजारलाई चलायमान बनाउन चाँसो नदिने बर्दघाट नगरले अर्कै प्रदेशमा कार्यक्रम गरेको भन्दै शनिवार चिया चर्चा थियो । यो असन्तुष्टि नगरसंग मात्र नभएर संचारकर्मीहरुसंग पनि स्थानीयले गुनासो पोखिरेहका थिए । ‘हँ पत्रकारहरु पनि के भएका हुन् ‘– चियापसलमा भेटिएका एक स्थानीयले भने– ‘सबैलाई लाई तोक लगाइदिएछन् क्याँ हो ? गण्डकी प्रदेशमा गएर तालिम गर्दा समेत कोही चुँ सम्म बोल्दैनन् त ?’ तालिम नै भएपनि स्थानीय स्थानमा गरे राम्रो हुने उनको सुझाव थियो ।
यस तालिमका लागि नगरले सूचना समेत जारी गरेको थियो । एक सहभागीका अनुसार क्षमता अभिबृद्धि भनिएको तालिममा पूर्व सचिव रेश्मीराज पाण्डेले सहजीकरण गरे । कार्यक्रममा नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडीयो) समेत सहभागी थिए ।
‘हामीले बर्दघाट नगरपालिकाको तालिम गण्डकी प्रदेशको नवलपुरको होम स्टेमा किन गर्नुप¥यो ?’ भनेर बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालसंग प्रतिक्रिया लिन ९८५७६४३१११ कल गर्दा उक्त नम्बरमा कल रिसिभ हुन सकेन् ।