कसरी छिर्‍यो नेपालका जेलमा कोरोना भाइरस ?

0

भदौ १२,

काठमाडौँ– मुलुककै सबैभन्दा ठूलो कारागार सुन्धारास्थित जगन्नाथदेवल अर्थात केन्द्रीय कारागारमा बिहीबार ६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भयो।

योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ८ पुगेको छ। उक्त कारागारमा कार्यरत ३१ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टी भएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए। बलियो सुरक्षा व्यवस्थापन र भेटघाटमा कडाई गरिएको जेलमा कसरी भाइरस छिर्‍यो भन्नेमा यकिन हुन नसकेको सापकोटा बताउँछन्।

जगन्नाथदेवल देशकै सबैभन्दा बढी कैदीबन्दी भएको कारागार हो। बिहीबारको तथ्यांकअनुसार त्यहाँ तीन हजार २ सय ६१ जना कैदीबन्दी छन्। कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको भन्दै लकडाउन सुरु हुनुअघिदेखि  नै देशभरका सबै कारागारमा कैदीबन्दी भेटघाटमाथि कडाइ गरिएको थियो।

तर कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म देशभर ६४ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ। कारागार सुरक्षामा खटिएका ५२ जना सुरक्षाकर्मी र ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाले जानकारी दिए। तीमध्ये ४७ जना कैदीबन्दी, १८ जना सुरक्षाकर्मी र ६ जना कर्मचारी संक्रमणमुक्त भएका छन्।

सापकोटाका अनुसार हालसम्म देशभर ७ वटा जेलमा रहेका कैदीबन्दी,सुरक्षाकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ। तीमध्ये सिन्धुपाल्चोक र बाँकेको कारागार संक्रमणमुक्त भएको छ। पर्सा, सिराहा, सुनसरी र स्याङ्जाका कारागारमा पनि कोरोना संक्रमित भेटिएका छन्।

सापकोटाले हालसम्म कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीमा ७ सय ३५ पीसीआर टेस्ट गरिएकोमा कैदीबन्दीको मात्र संख्या चार सय ९० जना रहेको जानकारी दिए। हाल देशभर रहेका कारागारमा २३ हजारभन्दा बढी कैदीबन्दी रहेका छन्। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले कोरोना संक्रमित कैदीबन्दीलाई सुरक्षाकर्मीकै निगरानीमा आइसोलेसनमा राखिने गरेको बताए।

कोरोना भाइरसको महामारी सुरु भएसँगै सरकारले कारागारमा रहेका कैदीबन्दीको चाप घटाउन एक वर्षसम्मको सजाय पाएका कैदीलाई दैनिक जरिवाना तिराएर छाड्ने निर्णय गरेको थियो।

कारागार व्यवस्थापन विभागका अनुसार त्यसरी २ सय २८ जना कैदीबन्दी छुटेका छन्। यस्तै बालबालिका सुधार गृहमा रहेका २ सय १९ जना बालबालिकालाई फैसला नहुँदासम्मका लागि परिवारको जिम्मा लगाइएको छ।

यी हुन् तीन वटा सम्भावना


केन्द्रीय कारागारका जेलर बास्कोटा कारागारमा  कोरोना भाइरस छिर्नुका तीन वटा सम्भावना औँल्याउँछन्।

पहिलो, जेलमा आउने नयाँ कैदीबन्दीबाट। दोस्रो कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजाँदा त्यहाँबाट। र तेस्रो सुरक्षामा खटिएका सुरक्षाकर्मी र कारागारका कर्मचारीबाट।

‘कारागारमा आउने नयाँ कैदीबन्दीलाई हामीले २१ दिन क्वारेन्टिनमा राख्छौँ र त्यसपछि मात्र अरुसँग मिसाउँछौ। क्वारेन्टिनमा राख्दा कसैमा लक्षण देखिएको थिएन। तर पछि उनीहरुबाटै सर्‍यो की भन्ने हाम्रो आशंका छ’, जेलर बास्कोटाले भने, ‘दोस्रो, कारागारमा रहेको दिर्घरोगीहरुलाई हामी बाहिरका अस्पतालमा नियमित उपचारका लागि लैजान्छौँ। त्यसरी जाँदा कोरोना संक्रमितसँग सम्पर्क भएर भित्रिन सकेको हुन सक्छ।’कारागारमा रहेका सुरक्षाकर्मी र कर्मचारीको बाहिरी आवतजावत खुला हुने भएकाले उनीहरुबाट पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने बास्कोटाले बताए।—Desh sansar

You might also like