धनगढीका अटोरिक्सामा ट्राफिकको नजर, लाइसेन्स नभएकालाई ठाउँको ठाउँ कारबाही 

0

प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा विद्युतीय रिक्साको संख्या अत्यधिक बढीरहेको छ। विद्युतीय रिक्साका कारण नागरिकलाई सडक प्रयोगमा समस्या हुँदै आएको छ। अत्यधिक रिक्साका कारण धनगढीको ट्राफिक व्यवस्थापनमा समेत समस्या थपिएको छ।

धनगढीको ट्राफिक व्यवस्थापनमा विद्युतीय रिक्साले समस्या ल्याएको भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ। दैनिक झण्डै एक सय विद्युतीय रिक्सा नियन्त्रण गर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए। ‘धनगढीमा चालक अनुमति पत्र नहुनेले रिक्सा चलाउने क्रम बढेको छ,’ उनले भने, ‘अरुलाई बोकेर हिड्ने चालकले लाइसेन्स लिएको, नवीकरण गरेको, बिमा गरेको हुनुपर्यो, नत्र जोखिम हुन्छ भनेर नियमन गरिरहेका छौँ।’

विगत ९ महिनादेखि विद्युतीय रिक्सा सञ्चालनलाई व्यवस्थित बनाउन चालक अनुमति पत्र र ब्लूबुक परीक्षण गर्ने कार्यलाई ट्राफिक प्रहरीले तिव्रता दिएको हो। चालक अनुमति पत्र नभएर रिक्सा चलाउँदा सडक दुर्घटना हुने जोखिम रहेको भन्दै चालक अनुमति पत्र र ब्लूबुक नबोकेको रिक्सा नियन्त्रणमा लिइएको छ।

तर रिक्सा लाचकहरुले भने ट्राफिक प्रहरीले चालक अनुमति पत्र चेकजाँचका नाममा दुःख दिन खोजेको गुनासो गरेका छन्। यातायात व्यवस्था कार्यालयले दैनिक सिमित व्यक्तिको मात्रै फाराम भर्न अनलाइन खुला गर्दा सबैले छोटो अवधिमा लाइसेन्स लिन नपाएको गुनासो उनीहरुको छ।

लेखपढ गर्न नजान्नेले पनि रिक्सा चलाउने गरेकोले केही महिनाको समय दिएर चेकजाँचलाई खुकुलो बनाउनुपर्ने विद्युतीय रिक्सा चालक मजदुर संघका अध्यक्ष मिनराज जोशीले बताए। ‘ट्राफिक प्रहरीले लाइसेन्स चेकजाँचमा केही खुकुलो गर्नुपर्छ। चेकजाँचका नाममा सास्ती दिनु भएन,’ उनले भने, ‘यातायातले लाइसेन्स खुलाउँदैन। ट्राफिकले दिनदिनै जरिमाना काट्छ।’

यता ट्राफिक प्रहरीले जनगुनासो बढेपछि विगत ९ महिनादेखि विद्युतीय रिक्सा चालकलाई जिम्मेवार बनाउन प्रयास थालेको दाबी गरेको छ। निजी गाडी चालकको समेत लाइसेन्स ब्लूबुक नभए गाडी नियन्त्रणमा लिने कानूनी अधिकार ट्राफिक प्रहरीसँग छ । एकभन्दा बढी सवारी बोकेर गुड्ने सवारी साधन चालकले थप जिम्मेवार हुनुपर्ने प्रहरीको जिकिर छ।

अटो चालकले लाइसेन्स, बीमा, नवीकरण नगरी सवारी हाक्नु गैरकानुनी भएकोले दैनिक प्रहरी चेकजाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिंहले बताए। धनगढीमा अत्यधिक रिक्साका कारण सडक प्रयोगमा समस्या हुन थालेको सर्वसाधारणको छ। धनगढीमा चाहिनेभन्दा बढी रिक्सा भएकोले आवश्यकता अनुसार सञ्चालनको कार्यविधि बनाउनुपर्ने माग उठिरहेको छ।  dineshkhabar

You might also like