देवदह मेडिकल कलेजमा तनाव : सुत्केरीको उपचारमा लापरवाही भएको आरोप

0

२० मंसिर ,बुटवल । रुपन्देहीको देवदहr मेडिकल कलेजमा सुत्केरीको उपचारमा लापरवाही भएको भन्दै आफन्तले विरोध जनाएपछि तनाव उत्पन्न भएको छ । देवदहनगरपालिकामा अवस्थित देवदह मेडिकल कलेजमा उपचाररत सुत्केरीको तीन दिनसम्म अवस्था सार्वजनिक नगरिएको भन्दै आफन्तहरुले आज (शनिबार) विहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

तिलोत्तमा–१० कान्छी बजारकी ३१ वर्षीया राधा थारुलाई सुत्केरी गराउन गत मंसिर १७ गते बुधबार अस्पताल भर्ना गरिएको थियो । बिहीबार विहान अपरेशन गरी बच्चा निकालीएको थियो । तर केही घण्टापछि सुत्केरी बेहोस भएपछि पुनः अपरेशन कक्षमा लगिएको र हालसम्म अवस्था सार्वजनिक नगरिएको विरामीका आफन्तले बताएका छन् ।

सुत्करीको मृत्यु भइसकेको तर अस्पतालले घोषणा गर्न आनाकानी गरेको दाबी गर्दै उनीहरुले अस्पताल प्रशासन विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । सुत्केरीकी दिदी फूलमतिले भनिन्, ‘तीन दिनसम्म हामीलाई भेट्न दिइएको छैन, जिउँदो मर्दो सार्वजनिक गरिएको छैन, यो डाक्टरको लापरवाही नै हो ।’ उनका अनुसार सुत्केरी जिवीत छ भन्नेमा परिवारजन विश्वस्त छैनन् । सुत्केरीका श्रीमान्सहितका आफन्तले अस्पताल प्रशासनसँग जानकारी मागिरहेका छन् । जन्मेको शिशु भने कुशल रहेको बताइएको छ ।

उता देवदह मेडिकल कलेजका मेडिकल सुपरिटेन्डन डा. बिक्रम ज्ञवालीले ग्लोबल आवाजसँग कुरा गर्दै सुत्केरीको रक्तश्राव नरोकिएपछि थप अपरेस गर्नु परेको र विरामी अहिले आइसियूमा रहेको बताएका छन् । ‘सुत्केरीले बच्चा जन्माइसकेपछि पनि रक्तश्राव नरोकिएपछि पुनः अपरेशन गरी पाठेघर फाग्नु परेको थियो ।’-उनले भने, त्यसपछि पनि रक्तश्रावको समस्या भएपछि विरामीलाई अहिले आइसियूमा राखिएको छ ।आफन्तहरुको विरोधपछि अस्पतालका मेसु ज्ञवालीसहित स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा विरामीका आफन्तहरु बीच सहमतीका लागि वार्ता सुरु भएको अस्पतालले जनाएको छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी थियो ।

ग्लोबल आवाज

You might also like