फर्पिङको जंगलमा दुई युवा-युवती मृत फेला

0

 

 काठमाडौंको फर्पिङस्थित जंगलमा दुई युवा-युवती मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान प्रहरीले फर्पिङको जंगलमा दुईजना मृत अवस्थामा भेटेपछि थप अनुसन्धानका लागि टोली खटाएको छ ।

अनुसन्धानमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान टोली घटनास्थल पुगेका छन् । घटनास्थल प्रहरीको फर्पिङस्थित चेकप्वाइन्टबाट झण्डै एक किलोमिटरमाथि थाखेलतर्फ जानेबाटोको जंगल हो । उक्त क्षेत्र दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा पर्छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार घटनास्थलमा औषधि राख्न प्रयोग गरिने जस्तो बट्टा फेला परेको तर त्यसभित्र के थियो भन्ने बारे केही नखुलेको बताए । ‘दुईजनाको शव नजिकै औषधिको जस्तो बट्टा फेला परेको छ । त्यस विषयमा हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अहिले नै यकिन साथ मृत्युको कारण भन्न सकिन्न । घटनास्थलको स्थिति हेर्दा विष सेवन गरेर आत्महत्या गरेको पनि हुनसक्छ । हामी अनुसन्धानकै क्रममा छौं ।’

उनका अनुसार हालसम्म दुवै मृतकको पहिचान खुलेको छैन । तर, हुलिया हेर्दा भने दुवैजना २०/२२ वर्षका जस्ता देखिन्छन् ।  kantipurnews

You might also like