‘हामी छिटो भन्दा छिटो सुकुम्बासी र अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्नेछौ’
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका –९ निवासी शम्भुलाल श्रेष्ठ नेपाली काँग्रेस बृतमा एक कुशल संगठकका रुपमा परिचित हुनुहुन्छ । पार्टीको नगर कार्यसमितिको सभापति भएर पार्टी संगठनको काम गरेको अनुभव समेत रहेका श्रेष्ठसंग तत्कालिन पंचनगर गाविस अध्यक्ष भएर जनप्रतिनिधिको रुपमा काम गरेको अनुभव पनि छ । बि.स. २०७९ बैशाख ३० गते सत्तारुढ गठबन्धनबाट बर्दघाट नगरपालिका प्रमुखमा बिजयी हुनुभएका श्रेष्ठसंग नगर प्रमुखको पदस्थापनको क्रममा हाम्रा सहकर्मी पप्पु रेग्मीले गरेको कुराकानी:
१) बर्दघाट नगरपालिकाको नगर प्रमुखमा बिजयी हुनुभएकोमा यहाँ र गठबन्धनको टिमलाई हार्दिक बधाई छ ?
-धन्यवाद । यहाँलाई पनि….
२) सत्तारुढ गठबन्धन अर्थात ४ दलको तर्फबाट यहाँहरु बिजयी हुनुभएको छ । काम गर्ने सिलसिलामा यहाँको प्राथमिकताहरु के के हुन्छन् ?
-अहिले बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा जनताले हामीलाई अपार समर्थन गरेर बिजयी गराउनुभएको छ । र अब हामी बर्दघाट नगरपालिकामा नेतृत्व गर्दै गर्दा बिपन्न घरपरिवारका ब्यक्तिहरुलाई राहत पुग्ने गरी हामीले कार्यक्रम ल्याउनेछौ । कृषि, शिक्षा र स्वास्थ्यमा यो तीनवटा कुरामा हामीले बिशेष ध्यान दिएर अगाडि बढ्छौ । हामीले नगरको बजेट बिनियोजन गर्दा शिक्षा स्वास्थ्य र कृषिलार्ई पहिलो प्राथमिकता राखेर हामी अगाडि बढ्छौ । अहिले बर्दघाटमा अत्यन्तै भयावह स्थितिमा रहेको अब्यवस्थित बसोबास , सुकुम्बासी दाजुभाई दिदीबहिनीहरु धेरै परिवार, धेरै नै अब्यवस्थित रुपमा रहेको हामीले देख्यौ । त्यसको हामीले ब्यवस्थापन गर्नका लागि पुर्जा दिलाउनका लागि केन्द्रबाट सुकुम्बासी समस्या समाधान आयोग गठन हुदैछ । बर्दघाटबाटै हामीले अध्यक्षमा प्रस्तावित गरेका छौ । त्यस कारणले पनि हामी छिटो भन्दा छिटो सुकुम्बासी अब्यवस्थित बसोबासलाई ब्यवस्थित गर्नेछौ ।
३) अब बर्दघाटलाई देशैभरका नागरिक अर्थात पुर्व र पश्चिमका मानिसहरुलाई चिन्नु पर्दा कसरी चिन्ने ? यहाँले बर्दघाट नगरको पहिचानका निम्ति कस्ता खालको काम गर्नुहुन्छ ?
-बर्दघाटलाई एउटा सफा सुन्दर नगरको रुपमा, एउटा समृद्ध नगरका रुपमा, पहिचान गराउने लक्ष्यमा हामी जान्छौ । त्यसकारणले यहाँ आउनेलाई बर्दघाट हेर्ने लायक, बस्न लायक, सफा सुन्दर रहेछ भन्ने बनाउन चाहन्छौ ।
४) अहिले चुनावका बेला अलि बढी अब्यवस्थित सुकुम्बासी र भुमिहीनहरुका बिषय उठेका छन् । तपाईले जितेपछि अब्यवस्थित सुकुम्बासी र भुमिहीन पनि निकै आशावादी देखिएका छन् । त्यसैले त्यो वर्गको पक्षमा देखिने गरी तत्काल के काम गर्नुहुन्छ ? लालपुर्जा चुनावी प्रोपोगण्डा मात्र बन्ने त होइन ?
-यो मेरो भाषण होइन । मैले काम गरेर देखाउनु छ । यो मेरो कर्म हो । मेरो कर्तब्य हो । मैले कर्तब्य पुरा गर्नेछु । मैले सुकुम्बासी तथा अब्यवस्थितहरुको पक्षमा काम गरेर देखाउनेछु । जनतालाई त्यसै भम्रमा राखेर चुनावी नारा बनाएको होइन । हामीले जनतालाई एउटा प्रतिज्ञापत्र सबैको हात हातमा प्ु¥याएका छौ । त्यसलाई अक्षरशः पालना गरेर बर्दघाटलाई सुन्दर नगर समृद्ध नगर बनाउने हामी टिमले काम गर्ने प्रतिबद्धता गर्न चाहन्छौ ।
५) यहाँहरु गठबन्धनमा हुनुहुन्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन पनि हो । तपाईले करलाई समायोजन गरेर जाने अथवा कर बढाउने, घटाउने के सोच्नुभएको छ ?
-अहिले हामी कर बढाउने तर्फ होइन । त्यसलाई ब्यवस्थापन गरेर लान्छौ । करको दायरा भित्र नरहेको क्षेत्रलाई दायरामा ल्याउछौ । हामीले करबाट धेरै जनतालाई आहात पु¥याउने काम गर्दैनौ । त्यस कारणले यहाँ यो अटो रिक्सावालाको ठुलो आवाज थियो । उहाँहरुलाई अब्यवस्थित रुपमा कर लिएको भन्ने आवाज छ । उहाँहरुको आवाजलाई चाँही मध्यनजर राखेर कर ब्यवस्थापनमा पुनःमुल्याँकन गरेर अगाडि बढ्छौ । अहिले कर बढाउदैनौं । सबै अध्ययन गरेर उचित रुपमा परिमार्जन गर्छाै । अहिले कर बढाएर यो आर्थिक बर्षमा हामी जादैनौ ।
६) यहाँ मेयर भइसकेपछि सत्ता सहयात्री दलहरुको पनि गठबन्धन दलहरु प्रति पनि यहाँको जिम्मेवारी रहन्छ । सहयात्री दलहरुलाई कसरी मिलाएर लैजान तपाईको प्रयत्न रहन्छ ?
-यसमा हाम्रो प्रयत्न छ । गठबन्धन दलहरुसंग सहकार्य गरेर एक अपासमा छलफल गरेर, कुनै कुरा यदि मिलेन भने पनि ब्यापक र घनीभुत छलफल गरेर, मैले सबै अहिलेका सहयात्री दलहरुलाई एकताबद्ध कार्यगत एकता गरेर अगाडि बढाउछु । त्यो मेरो प्रतिबद्धता छ । यो कार्यमा गठबन्धनका साथीहरुसित मेरो प्रयत्न जारी रहन्छ ।
७) भनेपछि पाँच बर्ष भित्र हामी बस्न लायक, देख्न लयाक, र हेर्न लायक बर्दघाट पाउछौ ?
पक्कै पाउनुहुन्छ । जनताको गुनासोमा धेरै कमी आउछ । जनताको गुनासो हुदै हुदैन भन्ने होइन । हामी आईसकेपछि जनआँकाक्षा निकै धेरै छ । त्यसकारणले जनआँकाक्षालाई प्राथमिककरण गर्दै अधिकाँश जनतालाई सुबिधा हुने किसिममा कार्यक्रमहरु अगाडि बढाउछौ । हामीले पाँच बर्ष सम्म जनताका धेरै गुनासो परिपुर्ति गर्छाै ।
८) गठबन्धन दलले गरेका साझा प्रतिबद्धताहरु प्रतिज्ञाहरु पुरा गर्नुहुन्छ भन्ने कसरी आशा गर्न सकिन्छ ?
-हामी त्यो प्रतिबद्धता पत्र अनुसार नै प्राथमिकीकरण गर्दै जनताको जनजिविकाको कुराहरुलाई ध्यान दिन्छौ । यहाँ धेरै युवाहरु छन् । उनीहरुहरुलाई स्वरोजगारमुलक , आयमुलक तथा शिपमुलक काममा लगाउछौ । यहाँ धेरै संघसंस्थाछन् । ती संघसंस्थाहरुलाई हामी शिपमुलक आयमुलक र उत्पादनमुलक काममा लगाउनेछौ ।
९) कृषि क्षेत्रमा बिगतमा भएका कामहरुलाई यहाँहरुले अपुगताहरु भएको भन्दै आउनुभएको थियो । अब आफै नेतृत्वमा हुनुहुन्छ । कृषि र पशुपालनको क्षेत्रमा तपाईले कसरी अगाडि बढाउने सोच्नुभएको छ ?
-कृषिमा धेरै कृषकहरु आस्थावान छन् । र हामीले देख्यौ कृषिमा कागजी घोडा दौडाउनेहरुले प्राथमिकता पाएको र अनुदान पाएको हामीले देख्दै आएका छौ । जो वास्तविक किसान हो उनीहरुले कुनै राहत नपाएको कुराहरु आएको छ । हामी सबैलाई अवलोकन गरेर, अनुसन्धान गरेर कृषिमा बिशेष गरेर कृषिमा फोकस गरेर बजेट राख्नेछौ । वास्तविक किसानलाई सुबिधा दिने काममा लाग्छौ ।
१०) स्थानीय उत्पादनले बजार नपाएको गुनासो आउने गरेको छ । बिशेष गरेर कृषि क्षेत्रको एकीकृत बजार ब्यवस्थापनमा यहाँसंग के योजना छ ?
-हामीले स्थानीय बजार ब्यवस्थापन गर्छाै । यहाँ उत्पादन भएको बस्तुको बजारीकरण गर्न लाग्छौ । यहाँ उत्पादन नहुने वस्तु आयात गर्ने ब्यवस्था र यहाँ उत्पादन भएर बढी भएको वस्तुको बजारीकरण गर्न सहकार्य गर्छाै ।
११) अन्तिममा नगरवासीलाई के भन्न चाहनुहुन्छ ?
-सम्पुर्ण आदरणीय विकास प्रेमी, न्याय प्रेमी समुदायमा हार्दिक धन्यवाद दिन चाहन्छु । हाम्रो गठबन्धन र मलाई अत्याधिक मत दिएर विश्वास गर्नुभएको छ । म त्यो विश्वास टुट्न दिने छैन । म जनताको शिर निहुरिने काम गर्ने छैन । त्यसकारणले मैले भावी दिनमा बर्दघाटलाई समृद्ध बनाउनका लागि अहोरात्र खट्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु । अन्त्यमा आदरणीय सबै मतदाता ज्युहरुमा हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।