अस्थिर नेताको स्थिर सपना : काठमाडौंको मेयर
२०५४ सालको स्थानीय निकाय निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट काठमाडौंको मेयर निर्वाचित हुँदा केशव स्थापित ३८ वर्षका थिए, अहिले ६३ का भए । यसबीचका हिउँद-बर्खामा वागमतीमा धेरै पानी र लेदो पनि बग्यो ।
स्वयं स्थापितको राजनीतिक जीवनमा पनि धेरै उतार-चढाव आयो । यसबीचमा उनी राजवादीदेखि माओवादी र संघीय समाजवादीसम्म बने । देशले संघीय शासन प्रणाली अपनाएपछिको दोस्रो स्थानीय तहमा उनी पुनः एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदका प्रत्यासी बनेका छन् ।
झण्डै डेढ दशकपछि मेयरको त्यही कुर्सीमा उक्लिन चुनावी मैदानमा उत्रिएका स्थापित यो राजधानी सहरको चुनावी खेलका निकै अनुभवी खेलाडी पनि हुन् । २०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा उनी तत्कालीन नेकपा (माले)का तर्फबाट उपप्रधानपञ्चको जनपक्षीय उम्मेदवार थिए । यस हिसाबले उनी ३६ वर्षयता निरन्तर काठमाडौंको नेतृत्व लिने खेलमा छन् ।
काठमाडौंका रैथाने स्थापितले पहिलो पटक २०५१ सालमा राजनीतिक नियुक्ति पाएका थिए-राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा । त्यो जिम्मेवारीमा उनी केवल एक वर्ष रहे । तर, त्यही बेलाको कामले उनलाई काठमाडौंको मेयरमा निर्वाचित हुने वातावरण बनाइदियो ।
युवा वयदेखि नै पञ्चायत विरोधी संघर्षमा जोडिएका स्थापित २०५४ को स्थानीय निर्वाचनमा एमालेको रोज्जा उम्मेदवार बने अनि सहजै जिते पनि ।
राजनीतिक उतारचढाव
काठमाडौंको लोकप्रिय मेयरमा दरिएका स्थापित त्यो कार्यकालको अन्त्यपछि भने राजनीतिक विचलनका कारण चर्चित हुन थाले । २०६१ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि उनी काठमाडौंको मेयरमा मनोनीत भएर ‘टिके मेयर’को रूपमा आलोचित बने ।
राजाको समय सकिएर राजनीतिको डाडुपन्यूँ नेकपा (माओवादी)को हातमा आएपछि स्थापित माओवादी बने । माओवादी बनेसँगै काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका उनी ९ महिना पनि टिक्न सकेनन् । त्यसपछि नेपालको सबभन्दा पुरानो राजनीतिक संगठन प्रजापरिषद्को अध्यक्ष बनेर चर्चामा आएका उनी त्यसमा पनि असफल बने ।
संविधानसभाको दोस्रो निर्वाचनको मुखमा संघीय समाजवादी पार्टीमा लागेका उनी काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवार बनेर नराम्ररी पराजित भए । अन्ततः उनी आफूले युवावय खर्चिएको एमालेमै फर्किएर पुनः काठमाडौंको मेयरमा खडा भएका छन् ।
मुख्यमन्त्री सपना, मीटुको हमला
केशव स्थापित स्वयंले आफूलाई राजनीतिक रूपमा अस्थिर सावित गरेका छन् । २०४९ सालमा नेपाली कांग्रेसका नवीन्द्रराज जोशीसँग काठमाडौंको उप मेयरमा पराजित भएपछि उनको राजनीतिक विचलन सुरु भएको देखिन्छ । २०६१ मा आइपुग्दा त उनी ‘राजावादी’ नै कहलाए ।
नेपाल संघीय गणतन्त्र भएपछि एमाले फर्किएका स्थापित पहिलो स्थानीय निर्वाचन (२०७४) मा पनि महानगरको मेयरमा उठ्न लालायित थिए, तर पार्टीले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनायो । त्यसपछि वागमती प्रदेशसभाको राजनीतिक गणितमा लागेका उनले मुख्यमन्त्री ताकेपनि भौतिक तथा पूर्वाधार मन्त्रीमा चित्त बुझाउनुपर्यो ।
अस्थिर छवि बनाएका स्थापितको प्रदेश राजनीति पनि सुखद रहेन । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई गालीगलौज र दुव्र्यवहारको आरोपमा उनी बर्खास्त भए । केही न केही बोलेर वा गरेर सधैं चर्चामा रहेका स्थापितले सामाजिक अवगालबाहेक अन्य कारबाही खेप्न नपरेको आरोप चाहिं यौन हिंसाको हो ।
जननिर्वाचित मेयर हुँदा उनले दुई महिलामाथि यौन हिंसा गरेको आरोप लाग्यो । त्यसबारे उनले कहिल्यै जिम्मेवार जवाफ दिएनन् । पछिल्लो पटक निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेपछि प्रेसले उठाएको प्रश्नमा पनि ‘विवादास्पद भएन भने कसरी केशव स्थापित हुन सक्छ ?’ भन्दै पन्छिए ।
चुनावी अनुकूलता-प्रतिकूलता
२०५८ सालतिर अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियूद्वारा आयोजित एक कार्यक्रममा मेयर स्थापित प्रमुख अतिथि थिए । उनले भाषण गर्न थालेपछि विद्यार्थी ताली पिटेको पिट्यै भए ।
‘यो अस्कललाई व्यापारिक केन्द्र ठमेलमा राख्ने होइन, बालाजुको कुनै विशाल फाँटमा सारौं । जंगलसँग जोडौं । पार्कहरू बनाऔं । शान्त वातावरणमा विद्यार्थीले पढ्न पाउन् । विद्यार्थीले पार्कमा गएर माया–प्रेम गर्न पाउनुपर्छ । यो कोलाहलमा बसेर विज्ञान पढ्न कसरी सकिन्छ ?’ भाषणमा उनले भने ।
बेस्करी ताली पाएको उनको भाषण केवल भाषणमा सीमित भयो । जीर्ण अस्कल क्याम्पस अहिले पनि ठमेलमै आफ्नो गौरव रक्षाको संघर्ष गरिरहेको छ । त्यसपछिको समयमा काठमाडौं वरपरका कुनै पहाड काटेर प्रेमीहरूका लागि उद्यान बनाउने किसिमका गफ उनले धेरै सुनाए ।
पछिल्लो दुई दशकको गफाडी शैलीले केशव स्थापितको जुझारु र विकासप्रेमीलाई धुलिसात् पारिदियो । यद्यपि, रत्नपार्कले अहिलेको स्वरुप उनकै पहलको परिणाम हो । बानेश्वर–शंखमूल, कालीमाटी–कुलेश्वर, कालीमाटी–कलंकी सडक विस्तारमा उनले कुशल नेतृत्व गरे । अष्ठमण्डलसहितको माइतीघर पनि उनकै कार्यकालको काम हो ।
यावत् राजनीतिक उतारचढावमा तैरिंदै आएका स्थापितको मेयरमा उम्मेदवारीले काठमाडौंका मतदातालाई ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारासँगै रातारात घरटहरा भत्काएर मानिसहरूलाई बिचल्लीमा पारेकोदेखि राजधानीमा हुनैपर्ने विकास गरेको सम्मका घटनाहरू सम्झाएको छ । यो सब सम्झाउन स्थापितको उम्मेदवारी काफी भएको छ, जुन उनको सबल पक्ष हो ।
स्वप्निल गफ गरेर नागरिकमा आफ्नो योजना सञ्चार गर्न सिपालु छन्, स्थापित । उनका पछिल्ला गफहरूलाई हावादारी नभई ‘भिजन’ मान्ने मतदाता पनि काठमाडौंमा धेरै छन् । अब उनले काठमाडौं महानगरको कायाकल्प गर्ने चुनावी योजना सुनाउन सक्छन् ।
अघिल्लो चुनावको अंकगणित केशव स्थापितका लागि खासै प्रतिकूल छैन । गत स्थानीय निर्वाचनमा एमालेका प्रत्यासीले कांग्रेस नेतृत्वको गठबन्धनले भन्दा करिब १० हजार बढी ६४ हजार ९१३ मत पाएका थिए ।
गत चुनावमा एमालेले भारतको नाकाबन्दी विरोधी भावनालाई राष्ट्रवादसँग जोडेर मत तानेको थियो । अहिले एमाले विभाजित छ । त्यतिबेला एमालेलाई सघाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि फुटेको छ ।
अस्थिर राजनीतिक यात्राका बीच गफाडीको छवि बनाएका स्थापितलाई महानगरमा पुनस्र्थापित हुन सामान्य मिहिनेतले पुग्ने देखिंदैन । यौन हिंसाका आरोपले पनि उनलाई धेरथोर पिरोल्ने नै छ । onlinekhabar