धनगढीको जाई–जाली सडक निर्माणको काम एक वर्षदेखि अलपत्र 

0

पानी पर्दा हिलाम्मे, गर्मीमा धुलाम्मे

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ र ६ भएर जाने जाई–जाली सडक निर्माण अलपत्र छोडेको स्थानीयले गुनासो गरेका छन्। निर्माण कम्पनीले आगामी असार १५ सम्म काम गरिसक्ने म्याद भए पनि एक वर्षदेखि कम्पनीले काम नगरेर सडकको धुलो खानुपर्ने बाध्यता आइलागेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। 

सडक निर्माण गर्ने भनेर कालोपत्रे सडक भत्काउने काम गरे पनि अहिले आएर निर्माण व्यवसायी र उपमहानगरपालिकाले स्थानीयलाई दुःख दिने नियतले सडक निर्माणमा ढिलाई गरिएको स्थानीय सन्तराम चौधरीले बताए। ‘निर्माण कम्पनीले काम नगरेको एक वर्ष भयो, उनले भने, ‘अहिले धुलो खानु परेको छ।  पानी पर्दा हिलो हुन्छ।’

धनगढीको जाई–जाली सडक निर्माणका लागि उपमहानगरपालिकाले २०७७ असार १६ गते तेडी मणिलेक जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। त्यो सडक निर्माणको लागत २ करोड ८७ लाख ५५ हजार ९ सय ७७ रहेको उपमहानगरपालिकाले जनाएको छ। बहुवर्षीय ठेक्का अन्तर्गतको सो सडकको काम २०७९ असार १५ गतेभित्र सक्नुपर्ने भए पनि कम्पनीबाट तोकिएको समयमै सडक कालोपत्र हुनेमा स्थानीय चेतराज जोशीले आशंका गरेका छन्। ‘ठेकदारको पत्तो छैन, उपमहानगरपालिकाको पत्तो छैन। लामो समयसम्म सडक नबन्दा सबैलाई समस्या भएको छ’  उनले भने।

पानी पर्दा हिलाम्मे हुने सडकमा अहिले धुलोका कारण हैरानी खेप्नु परिरहेको स्थानीयको गुनासो छ। धनगढी उपमहानगरपालिका वडा नम्बर–६ को मुख्य सडक रहेको जाई–जाली सडक शेहरी, मुर्कट्टी, धनचौरी र जालीका स्थानीयले धनगढी बजार आवतजावत गर्न प्रयोग गर्ने सबैभन्दा छोटो सडक हो। तर खेतमा जानसमेत अफ्ठ्यारो हुने गरी सडक निर्माण गरिएको टीकाराम चौधरीले बताए। उनले भने, ‘बजेट कम छ भनेर एकतर्फी मात्रै नाली बनाउने काम भएको छ। खल्ला खेतमा जान समस्या हुने गरि सडक बनाउने काम भएको छ।’ स्थानीयले अबिलम्ब सडक निर्माण गर्न निर्माण कम्पनी र उपमहानगरपालिकाको ध्यानाकर्षण गराइसकेका छन्।

निर्माण कम्पनीले लामो समयदेखि सडक निर्माणको काम नै नगरेको स्थानीयले बताएका छन्। उपमहानगरपालिका र निर्माण व्यवसायीको कारण दुई वर्षदेखि गर्मीमा धुलो र पानी पर्दा हिलो भएर समस्या भोग्नु परेको भन्दै जाईका स्थानीय अशोक चन्दले गुनासो गरे। ‘एक वर्षदेखि हामीले सडकका कारण दुःख पाएका छौँ, उनले भने, ‘गुनासो गर्न पनि कोही भेटिदैनन्।’

झण्डै दुई किलोमिटर रहेको उक्त सडकमा अरू काम सक्किएको, रोलिङ गरेर बेस हाल्न मात्रै बाँकी रहेकोले असार १५ अगाडि नै सडक कालोपत्र हुने दाबी धनगढी उपमहानगरपालिकाका इन्जिनियर विष्णु खड्काको छ। ‘ल्याब टेष्टिङपछि बढीमा बेस हाल्न एक महिना लागे पनि त्यसपछि कालोपत्रे गर्न केही दिन मात्रै लाग्छ’ उनले भने।

सडक निर्माण कम्पनी, तेडी मणिलेक जेभीका सञ्चालक सिद्धबहादुर ओलीसँग कुरा गर्न पटकपटक फोन गर्दा पनि सम्पर्क हुन सकेन।   dineshkhabar

You might also like