रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्वलन

0

२५ चैत, बुटवल । विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै मानव अधिकार तथा शान्ति समाजले बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरेको छ ।

दी प्रज्वलनमा सहभागीहरूले युद्धलाई निषेध र शान्ति प्रवर्द्धनको कामना सँगै हिमालय बचाउन र नदी जोगाउनसमेत अपिल गरेका छन् ।

दीप प्रज्वलनका क्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लुम्बिनी विश्व शान्तिको मुहान भएकाले रुससहित विश्वलाई शान्तिको सन्देश दिन लुम्बिनीमा दीप प्रज्वलन गरिएको बताए ।

युद्धले कसैको जित नहुने बरु क्षति मात्रै हुने भएकाले सबैले शान्तिको पक्षमा आवाज उठाउनुपर्ने सभापति खनालले बताए ।

समाजले चैत १७ गते गोरखाबाट सुरु गरेको हिमालय बचाऔं, नदी जोगाऔं, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध : शान्ति विशेष र लागुऔषध/मदिरा दुर्व्यसनविरुद्धको अभियानको पहिलो चरण पनि लुम्बिनीमा दीप प्रज्वलनसहित समापन भएको छ ।

अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमान्थाङ्गसहित लुम्बिनी, बाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरी २० जिल्लाका २२ स्थानमा सभा सम्पन्न भएका समाजले जनाएको छ ।

जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालय क्षेत्रमा अनपेक्षित रुपमा तापक्रममा वृद्धि भई हिमाल नाङ्गिन थालेको र नदीको अत्यधिक दोहनका कारण थप खतरा उत्पन्न भएको हुँदा मानव जीवनको स्रोत हिमालय बचाउन र नदी जोगाउन ठोस इच्छाशक्ति, नीति र योजना स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आवश्यक भएकोतर्फ समाजले ध्यानाकर्षण गराएको जनाएको छ ।   onlinekhabar

You might also like