मेयरको टिकट लिने दौडमा एमाले देवदहका आधा दर्जन नेता

0

रुपन्देही । सामाजिक संघसंस्थाका सामान्य निर्वाचनमा समेत अत्यधिक तरङ्गीत हुने देवदहलाई स्थानीय तहको निर्वाचनले राम्रैसंग तताईरहेको छ । स्थानीयस्तरमा क्रियाशिल राजनीतिक दलका नेताहरू आ-आफ्नो पार्टीबाट नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षको उम्मेदवारको टिकट ल्याउन निकै कसरत गरिरहेका छन् । सोही क्रममा गत निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा नगरको सबैभन्दा ठूलो दल नेकपा एमालेमा पनि टिकट प्राप्तिका लागि राम्रै रस्साकस्सी चलिरहेको छ ।

नेकपा एमालेबाट नगरप्रमुखको उम्मेदवार बन्न पार्टीका झन्डै आधा दर्जन नेताहरूले आ-आफ्नो तहबाट लविङ् गरिरहेका छन् । पार्टी नेताहरू टिकाराम चापागाईं, विद्यालक्ष्मी गुरुङ, ध्रुब खरेल, प्रकाश अर्याल, ॠषि सापकोटा र यम रानाले मेयरको उम्मेदवारको टिकटमा दाबी गरिरहेका हुन् । उनीहरू सबै नेकपा एमालेमा लामो पृष्ठभुमि भएका र पार्टीभित्र र पार्टीको प्रतिनिधित्व गर्दै विभिन्न संघसंस्थाहरूमा समेत काम गर्दै आएका नेताहरू हुन् ।

हेरौं, मेयरको टिकटका दावेदार आधादर्जन नेताबारे संक्षिप्त जानकारी:

टिकाराम चापागाईं:

गत निर्वाचनमा झिनोमतान्तरले पराजित चापागाईं हाल पार्टीको नगर अध्यक्ष छन् । तत्कालीन अवस्थामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी तालमेलको विचमा पनि झिनो मतले पराजित भएका उनी अहिले आफुले टिकट पाए सजिलै निर्वाचन जित्ने बताउँछन् ।

पार्टीमा युवामाझ लोकप्रिय चापागाईं आफू २०३८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय हुँदै आएको बताउँछन् । उनी कानुनका विद्यार्थी हुन् । चापागाईं प्रष्टवक्ता र भिजन भएका नेता भएकोले मेयरको उम्मेदवारका लागि सबैभन्दा उपयुक्त पात्र नै चापागाईं रहेको उनी निकटहरूको भनाइ छ ।

विद्यालक्ष्मी गुरुङ:

गत निर्वाचनमा नगरप्रमुख एमालेले गुमाउँदा पनि उप-प्रमुखमा जीत हात पार्न सफल विद्यालक्ष्मी गुरुङ नेकपा एमाले देवदहको पुर्व अध्यक्ष समेत हुन् ।

पार्टी निकट महिला संघ लगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियाशिल गुरुङले २०६४ सालमा एमालेको सदस्यता लिएर त्यसयता पार्टी काम मै सक्रिय छन् । जनजाति समुदाय, महिला र युवामाझ लोकप्रिय गुरुङसंग उप-प्रमुख भएर ५ बर्षकाम गरेको अनुभव समेत छ ।

सेतोमसीसंग कुरा गर्दै गुरुङले मेयरको उम्मेदवारमा आफ्नो दाबी स्वाभाविक भएको र आफुले टिकट पाए निर्वाचन जित्ने बताईन् ।

ध्रुब खरेल:

२०३६ सालको विद्यार्थी आन्दोलन हुँदै राजनीतिमा प्रबेश गरेका ध्रुब खरेल हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य छन् । २०२२ सालमा गुल्मीको आँपचौरमा जन्मीएका खरेल पटक पटक पार्टीको रुपन्देही जिल्ला कमिटी सदस्य,  इलाका इन्चार्ज लगायतका भुमीकामा रहेर काम गरिसकेका नेता हुन् ।

हाल देवदह आदर्श बहुमुखी क्याम्पसको अध्यक्ष समेत रहेका उनी २०६५ सालयता क्याम्पस संचालक समिति मै रहेका छन् ।

हालसम्म कुनैपनि राजनीति नियुक्ति नलिएको र निस्वार्थ पार्टी काममा खटेको बताउने उनले देवदहलाई समृद्धि र सुशासनको बाटोमा डोर्याउन आफुले मेयरलागि दावी गरेको बताउँछन् ।

प्रकाश अर्याल:

वि. सं. २०४६-४७ बाट विद्यार्थी राजनीति हुँदै एमाले बनेका अर्यालले एमाले निकट अनेरास्ववियुका विभिन्न कमिटीमा काम गरेका छन् । अखिलको प्रदेश कमिटीसम्म पुगेर २०५३ मा एमालेको पार्टी सदस्यता लिएका उनी २०५५ तिरबाट पार्टी राजनीतिमा जोडिएका हुन् । यस विचमा अर्याल पार्टीको देवदह नगर इन्चार्ज हुँदै हाल जिल्ला सदस्य र क्षेत्रीय सह-संयोजकको रुपमा कार्यरत छन् ।

बुद्ध दर्शनमा स्नातकोत्तर गरेका उनले यसविचमा राजनीतिक नियुक्ति पनि लिएका छन् । यसअघि  राष्ट्रिय सहकारी बोर्डमा सदस्य बनेका उनी हाल दुग्ध विकासको बोर्ड सदस्य छन् ।  देवदह कोलिय सहकारीको संस्थापक सदस्य समेत रहेका उनी २०६९ मा उक्त संस्थाको अध्यक्ष समेत भएका थिए ।

पार्टीमा योगदान र क्रियाशिलताका हिसाबले आफुले टिकट पाउनुपर्ने बताउने अर्यालले आफुले टिकट पाएर निर्वाचन जीते देवदहमा भ्रष्टाचार नियन्त्रण गर्ने बताउँछन् ।

ऋषि सापकोटा:

वि. सं. २०१८ सालमा गुल्मीको वामीटक्सारमा जन्मीएका सापकोटा २०३६ सालको विद्यार्थी आन्दोलन हुँदै २०४८ मा तत्कालीन मालेबाट कम्युनिस्ट राजनीतिमा प्रबेश गरेका हुन् । २०४६ सालको आन्दोलनमा गिरफ्तारपछि ५ दिन प्रहरी हिरासतमा रहेर बहुदल आएपछि रिहाई भएका उनी  २०५४ सालमा तत्कालीन देवदह गाविसको एउटा वडाको अध्यक्षमा निर्वाचित समेत भएका थिए ।

२०५२ देखि ०६२ सम्म जारी माओवादी जनयुद्धको समयमा आफुले एमालेभित्र संविधानसभाको पक्षमा आवाज उठाएको बताउने सापकोटा २०६२-६३ सालको जनआन्दोलनमा आफू ‘ज्यान फालेर’ लागेको बताउँछन् ।

२०६६ सालमा देवदहको एमाले पार्टी अध्यक्ष भएका उनले यसअघि रुपन्देही क्षेत्र नं. १ को क्षेत्रीय इन्चार्जको रुपमा समेत काम गरेका छन् ।

यम राना:

पत्रकारिताको पृष्ठभुमि भएका यम राना हाल एमालेको रुपन्देही जिल्ला कमिटी सदस्य र देवदह नगर इन्चार्जको रुपमा कार्यरत छन् । प्रेस चौतारी नेपालको रुपन्देही कोषाध्यक्ष भैसकेका उनले रेडियो देवदहमा स्टेसन म्यानेजर रहेर समेत काम गरोसकेका छन् ।

आफुले दुई दशकबढी पार्टीमा योगदान गरेकोले मेयरको आकांक्षा गर्नु स्वभाविक रहेको बताउने रानाले पार्टीमा धेरै नै योगदान भएका र स्थानीयस्तरका विभिन्न तहमा निर्वाचित भएर काम गरिसकेका नेताहरूले नगरप्रमुखभन्दा माथि दावी गर्दा राम्रो हुने उनी बताउँछन् ।

हाल एमालेका केन्द्रिय सचिव समेत रहेका संघीय सांसद छविलाल विश्वकर्माको स्वकिय सचिव समेत रहेका राना जनजाति समुदायमाझ लोकप्रिय छन् ।

राजनीतिमा क्रियाशिल नेता कार्यकर्ताले निर्वाचनमा आफुले टिकट पाउनुपर्ने माग राख्नु स्वभाविक हो । नगरमा क्रियाशिलमध्य ठूलो पार्टी एमालेले देवदहबाट कस्तो उम्मेदवार पाउँला र कसरी निर्वाचनमा होमिएला चासो र चर्चाको विषय बनेको छ ।  setomasi

You might also like