चुनावको मुखमा दल बदल्नेको बिगबिगी, प्रतिबद्ध कार्यकर्तामा चरम निराशा
विष्णु पोखरेल, रुपन्देही । स्थानीय तहको निर्वाचन आउँन दुई महिनामात्रै बाँकी हुँदा देशैभरी ‘दलबदलु’ हरूको विगविगी छ । दलबदल्ने लहर चलेको देख्दा लाग्छ, स्थानीयदेखि केन्द्रसम्मका नेताहरू दल बदल्न खुट्टा नै उचालेर बसेका छन् । र, दलबदल्न कै लागि ५ वर्षमा एक पटक चुनाव आउनेगर्छ ।
यसरी दलबदल्नेहरू सबै दलमा छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी लगायत सबै पार्टीहरूमा यस्ता पात्र उत्तिकै सक्रिय छन् । नेताहरूले आफ्नो पार्टीको कार्यकर्ता बचाउँने र आफ्नालाई न्याय दिनेभन्दा पनि बाहिरी पार्टीका मान्छे भित्र्याउने र चुनावको मावल बनाउने कार्यमै ध्यान केन्द्रित गरिरहेका छन ।
यतिबेला ठुला भनिने पार्टीका नेता कार्यकर्ताहरू आफ्ना कार्यकर्ताका घरदैलोमा कम र विपक्षी पार्टीका कार्यकर्ताका आँगनमा ज्यादा नजर राखिरहेका छन् । दलका बैठकमा लामो समय पार्टीमा काम गरेकालाई अगाडि सारेर उनीहरूको इमानदारीता र योगदानको कदर गरिनुपर्छ भन्नेमा छलफल हुँन लगभग छाडिसकेको छ । बरू कुन दलमा को असन्तुष्ट छ र उक्त व्यक्तिलाई को मार्फत भेट्दा आफ्नो पार्टीमा भित्र्याउन सकिन्छ भन्नेमै दलका नेताहरूले जोडबल गरिरहेका छन् ।
विपक्षी दलका ‘ठूला माछा’ खोज्दै नेताहरू
दलहरूका गतिविधि हेर्दा उनीहरू आफ्नो दलभित्रका प्रतिबद्ध कार्यकर्ताको संरक्षण गर्न भन्दा पनि विपक्षी पार्टीका ‘हेभी वेट’ अर्थात ‘ठूला माछा’ समात्ने दाउमा देखिन्छन् । जसको उदाहरण रुपमा रुपन्देही देखि विरगंजसम्मका पार्टी प्रवेशका घटनालाई लिन सकिन्छ ।
फाल्गुनको पहिलो हप्ता ओमसतिया गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका नेता हिरा केवट र रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहेका जनता समाजवादी पार्टीका नेता सनोज कुमार यादव लगायतका नेता कार्यकर्ता आफुले काम गरिरहेको पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरे । भव्य कार्यक्रमका विच उनीहरूलाई एमालेका केन्द्रिय उपाध्यक्ष विष्णु पौडेल लगायतले पार्टीमा स्वागत गरे ।
त्यही सेरोफेरोमा नेपाली कांग्रेसबाट निर्वाचित सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातबाट अविर लगाएर माओवादी बने ।
शनिवारमात्रै जनता समाजवादी पार्टीबाट निर्वाचित विरंगज महानगरपालिकाका प्रमुख विजय सरावगीले ‘सर्प्राइज’ पार्टी प्रवेश गरे । उनको पार्टी प्रवेश यसअर्थमा ‘सर्प्राइज्ड’ भयो कि वास्तवमा उनी नेपाली कांग्रेसमा प्रवेश गर्न चाहान्थे । तर एकाएक उनका विश्वासपात्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेट गराएपछि उनी एमाले बने । जुन उनी आफैले भनेका छन् ।
शनिबार नै नेकपा एमाले रोहिणी गाउँपालिकाका सचिव सहित १ हजार जना अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भन्दै गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँडले भव्य कार्यक्रम विच उनीहरूलाई पार्टीमा स्वागत गरे ।
त्यसैगरी, सोही दिन गत निर्वाचनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका नेतासहित ओमसतिया र रोहिणी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ४५० बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै पुर्वमन्त्री समेत रहेका माओवादी नेता चक्रपाणी खनाल र लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेका अर्का माओवादी नेता वामदेव क्षेत्रीले उनीहरूलाई पार्टी प्रवेश गराए ।
यसविचमा एक्लै र सानातिना समुहमा ‘आतेजाते’ गर्नेहरूको सुची त झनै लामो छ ।
प्रतिबद्ध कार्यकर्तामा चरम निराशा
एकाध बाहेक मौकाको खोजीमा दल बदल्नेहरू जो सुकै होउन् । उनीहरू चाहे आवद्ध दलमा स्थान नपाएर अवसरको खोजिमा अर्को दलमा पुगेका होउन् या आवद्ध दलबाट प्राप्त गर्न सक्ने जति सबै भोग गरिसकेपछि थप प्राप्तिको लागि डुलेका नै किन नहोउन् । चुनावको मुखमा हुने यसप्रकारका गतिविधिले उनीहरू प्रवेश गर्ने र उनीहरूले छाडेका दुबै दललाई दीर्घकालीन रुपमा हानी नै पुर्याईरहेको हुन्छ ।
वास्तविक नेता हुन र नेतृत्व गर्न अत्यन्तै कठिन छ ।कोहि पनि रातारात नेता बन्दैन । एउटा दलले कुनैपनि कार्यकर्ताको नेतृत्व विकासका लागि लामो समय लगानी गरेको हुन्छ । जब निर्वाचनमा पार्टी होमिनुपर्ने छ, त्यहीबेला कार्यकर्ताले पार्टी परित्याग गर्दा उक्त पार्टीलाई ठूलो हानी पुग्ने गर्छ । अर्कोतर्फ जुन पार्टी प्रवेश गराईन्छ त्यहाँ पनि पार्टीमा अवसरको पर्खाइमा लामो समय प्रतिबद्ध भएर काम गरेका ईमानदार नेता कार्यकर्ताप्रती अन्याय हुन्छ । जब पार्टी जिम्मेवारी वा अन्य पार्टीले पाउने भुमिकामा नवप्रवेशीहरूको हालीमुहाली चल्छ तब इमानदार र प्रतिबद्ध कार्यकर्तामा चरम निराशाको स्थिती पैदा हुन्छ । जसले उक्त पार्टीलाई दिर्घकालसम्म क्षती पुर्याईरहन्छ ।
डुलुवाहरू यताको पार्टी कमजोर भए वा अवसर नपाए भोलि अर्कोतिर जालान् । तर, जब पार्टीका वास्तविक र प्रतिबद्ध सिपाहीहरूमा नैराश्यता पैदा हुन्छ र पलायन हुन बाध्य हुन्छन, त्यसको क्षतिपुर्ति गर्न कुनैपनि दललाई फलामको च्युरा चपाए सरह मुस्किल हुन्छ ।
हालै दिनहुँ भैरहने पार्टी प्रवेशवाट पार्टीमा भित्रीएकाहरूकै कारण असन्तुष्ट बनेका दलका नेता कार्यकर्ताको पंक्ति ठुलै छ । सामाजिक संजालमा असन्तुष्टि पोख्ने बाहेक अहिले केही नगरेका उनीहरूले निर्वाचनमा सहयोग गर्छन् या असहयोग त्यो हेर्न बाँकी नै छ । अहिले नवप्रवेशी भित्र्याएर रातारात ‘हिरो’ कहलिएका दल र नेताहरूलाई निर्वाचनमा पार्टीकै इमानदार र प्रतिबद्ध कार्यकर्ताहरूले असहयोग गरे क्षणभरमै ‘जिरो’ हुन सक्ने सम्भावना तर्फ पनि दल र दलका नेताहरू ध्यान दिन जरुरी छ ।setomasi