धनगढीले २० लाख खर्चेर शववाहन ल्यायो, कार्यविधि नहुँदा थन्कायो
वीरेन्द्र भट्ट, धनगढीः धनगढी उपमहानगरपालिकाले पदाधिकारीको कार्यकाल सकिनै लाग्दा दुई वटा शववाहन खरिद गरेको छ। मृतकलाई आर्यघाटसम्म पु¥याउन प्रयोग गरिने शववाहन उपमहानगरपालिकाले खरिद गरेको हो।
तर सञ्चालन कार्यविधि नहुँदा प्रयोगमा नल्याएर उपमहानगरपालिका कार्यालय परिसरमा थन्क्याइएको छ। एक महिनाअघि खरिद गरेर ल्याइएका शववाहन मृतक शरिर राख्न क्रियापुत्री बस्न उपयुक्त नदेखिएको स्थानीय प्रमोद खड्काले बताए।
‘पदाधिकारीको कार्यकाल सकिनै लाग्दा खरिद गरिएका ती शववाहन थन्काइएको छ,’ उनले भने, ‘साथै मृत शरिर राख्न र क्रियापुत्री बस्नका लागि उचित देखिएको छैन।’
उपमहानगरपालिकाले १०/१० लाख रुपैयाँ खर्चेर दुई वटा शववाहन खरिद गरे पनि सञ्चालन कार्यविधि नहुँदा कसरी र कहाँ सञ्चालन हुने भन्नेमै अन्योल भएको उपमहानगरपालिका स्रोतले बताएको छ। सञ्चालन कार्यविधि विना खरिद गरिएका शववाहन कहिलेबाट सञ्चालनमा आउने भन्ने विषय पनि अन्योल छ।
तर शववाहन चालक भने सूचना बीना नै राखिएको छ। ‘सानो साइजका शववाहन भएकाले मृतक शरिर राख्न र क्रियापुत्री बस्न थोरै असहज हुने देखिन्छ,’ एकजना शववाहन चालकले अनुभव सुनाउँदै भने। महिन्द्रा ब्राण्डको अग्नीगु्रपबाट खरिद गरिएका शववाहनको खरिद प्रक्रिया र सञ्चालनको मोडालिटीबारे भने पदाधिकारी नै अनभिज्ञ छन्।
शववाहनको खरिद मूल्य, सञ्चालनको प्रक्रिया र शववाहन सेवाबापत शुल्क लिने वा नलिने भन्नेबारे औपचारिक कार्यक्रम अगावै भन्न नमिल्ने नगर उपप्रमुख सुशिला मिश्र भट्टले बताइन्। ‘अहिले शववाहनको विषयमा केही पनि भन्न सकिदैन। औपचारिक कार्यक्रमपछि सबै विषयमा प्रकाश पारिन्छ,’ उनले भनिन्।
उपमहानगरपालिकाका पदाधिकारीले कार्यकालको अन्तिममा आएर पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृतका लागि भन्दै गाडी खरिद प्रक्रिया अगाडि बढाएको छ।dineshkhabar