‘अपुष्ट हल्लाका भरमा’ आकाँक्षी उम्मेदवारको समाचार नबनाउन काँग्रेसको आग्रह
सामाजिक संजाल र चोक चौराहामा बसेर उम्मेदवारी गर्दा गराउदाँ नेता कार्यकर्ताको मनोबल कमजोर हुने
नवलपरासी – नेपाली काँग्रेस बर्दघाट नगर कार्य समितिले आधिकारिकता विना फैलाइएको अपुष्ट हल्लाका भरमा स्थानीय तहमा आकाँक्षी उम्मेदवार सम्बन्धि समाचार नबनाउन संचारक्षेत्रसंग आग्रह गरेको छ । बर्दघाट नगरपालिकाको नगर प्रमुखमा “ब्रगेल्ती” रुपमा नामावली सार्वजनिक भएको सन्र्दभमा काँग्रेसले विहीवार बिज्ञप्ति जारी गरेको हो ।
बिज्ञप्तिमा आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार बारे संस्थागत निर्णय हुने भन्दै काँग्रेसले आफुखुसी उम्मेदवार घोषणा गर्ने गराउने कार्य नगर्न भनेको छ । सामाजिक संजाल र चोक चौराहामा बसेर उम्मेदवारी गर्दा गराउदाँ नेता कार्यकर्ताको मनोबल कमजोर हुने भन्दै नेपाली काँग्रेस बर्दघाट नगर समितिका सभापति दामोदर जिसीले जारी गरेको प्रेस बिज्ञप्तिमा पार्टी हित विपरित क्रियाकलापमा लाग्नेहरु उपर कारवाही गर्ने जनाइएको छ । यस अघि नगरपालिकाको नगर प्रमुखका आकाँक्षी उम्मेदवार भन्दै समाचार सार्वजनिक भएपछि चर्चा परि चर्चा बृद्धि भएको थियो । उक्त समाचारलाई लक्षित गर्दै काँग्रेसले बिज्ञप्ति जारी गरेको हो ।