जनयुद्धको २७ औं बार्षिकोत्सव पश्चिम नवलपरासी सहित देशैभर मनाइयो
जनयुद्ध दिवसको अवसरमा सहिद पार्क सरसफाइ
नवलपरासी – मोहन बैद्य किरण नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा जनयुद्धको २७ औ बार्षिकोत्सवको बिशेष कार्यक्रम बर्दघाटमा भएको छ ।
आइतवार त्रिवेणीचोकका कार्यक्रम आयोजना गरेर क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा जनयुद्ध जिन्दावाद ! महान शहिद अमर रहुन ! लगायतको नारावाजी गर्दै क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले कोणसभा गरेको प्रदेश सदस्य क्षेत्रबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेलले मुख्य नेतृत्वले गद्धारी गरे पनि जनयुद्धको असली हकदार क्रान्तिकारी माओवादी रहेको जिकिर गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार आफुहरुले पुरा गर्ने बताउनुभयो ।
कार्यक्रमको संचालन जिल्ला सचिवालय सदस्य चुडामणी भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा जनयुद्ध दिवसको शुभकामना आदान प्रदान समेत गरिएको थियो । त्यस्तै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले एक प्रेस बक्तब्य जारी गर्दै जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेको छ । जिल्ला सेक्रेटरी छविलाल खरेलद्वारा हस्ताक्षरित बक्तब्यमा जनवादी क्रान्तिको लक्ष्य पुरा गर्न सबै क्रान्तिकारी शक्तिहरुबीच धुब्रीकरणकोे आब्हान गरिएको छ ।
त्यस्तै पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादी नवलपुरले २७ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरि मनाएको छ । फागुन १ गते जनयुद्ध शुरूवात गरिएको सम्झनामा जनयुद्ध दिवस मनाउने गरिएको हो । कावासोतीमा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य चन्द्रहरि सुवेदी अटल, प्रदेश सहइन्चार्ज अशोक लम्साल अनुकुल लगायतले शुभकामना सहित प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको थियो ।
वाईसीएलद्वारा रक्तदान, पूर्व जनमुक्ति सेनाको पुर्नमिलन
२७ औँ जनयुद्ध दिवसको अवसरमा वाईसीएल नेपाल पश्चिम नवलपरासीले रक्तदान कार्यक्रम गरेको छ । वाईसीएल जिल्ला कमिटीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका स्थित पाल्हीनन्दन अस्पताल लोहरौलीमा आइतवार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए भने ५ जना नेगेटिभ रक्तसमूह पनि भेटिएको आयोजकले जनाएको छ । वाईसीएलका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य दीपक रानाको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वाईसीएल केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज निर्मला केसी, जिल्ला सदस्य मोहन सापकोटा, बर्दघाट नगर अध्यक्ष हरि ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभयो । जनयुद्ध दिवसकै अवसरमा पूर्व जनमुक्ति सेना नेपाल पश्चिम नवलपरासीले पनि सुनवलको वनकट्टीमा पुर्नमिलन कार्यक्रम गरेको छ । कार्यक्रममा पूर्व जनमुक्ति सेनाहरु तथा नेकपा माओवादी केन्द्रका नेताहरुको सहभागिता रहेको पूर्व जनमुक्ति सेना एवं माओवादी केन्द्रका प्रदेश सदस्य अडिग विकले जानकारी दिनुभयो ।
नेकपाद्वारा नवलपरासी र नवलपुरमा विविध कार्यक्रम गरि जनयुद्ध दिवस मनायो
जनयुद्ध दिवसको अवसरमा सहिद पार्क सरसफाइ
नेपाल कम्युनिस्ट पार्टीले नवलपरासीमा जनयुद्ध दिवसको अवसरमा सहिद पार्क सरसफाइ गरेको छ। २७ औं जनयुद्ध दिवसको अवसरमा जिल्लाको बर्दघाट नगरपालीका – १० भुताहा भानुगरमा रहेको सहिद पार्कमा सरसफाइ गरेको छ। सरसफाइ कार्यक्रममा जिल्ला तहका नेता,कार्यकर्ताको उपस्थिति रहेको थियो । सहिदहरुको सम्झना र पार्कलाई संरक्षण गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम संचालन गरिएको पार्टी जिल्ला सचिव धिरजले जानकारी दिनुभयो। नेकपाले जिल्लामा पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक बस्तुम गरिएको मुल्यवृद्धि,एमसिसी खारेजी अभियान जस्ता कार्यक्रम गर्दै आएको छ।
त्यसैगरी पुर्वी नवलपरासी नवलपुरमा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। नवलपुरका पार्टी सचीव सितलको अध्यक्षमा भएको कार्यक्रममा नवलपुर नवलपरासीका इन्चार्ज सरद ओलिको प्रमुख आथित्यतामा र युवा संगठन नेपालका केन्द्रिय सदस्य एवं नवलपरासी नवलपुर इन्चार्ज अविनासको स्वागत सगै सुरु भएको कार्यक्रमको संचालन धन बहादुर कुमालले गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला पार्टी विषेश समिति सदस्य बिश्वास ,सदस्य परिवार एवं सल्लाहकार संयोजक मंगलशेन लगायतको पार्टी र सहिदको बारेमा बोल्नु भएको थियो ।कार्यक्रम जनयुद्धका सहिद रामबहादुर अनमोल सहिद स्मृति भवनमा भएको थियो ।