राष्ट्रिय सम्मेलन पुस दोस्रो साता गर्ने माओवादी अध्यक्ष दाहालको प्रस्ताव
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुस दोस्रो हप्ताका लागि राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका छन् । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा दाहालले पुस दोस्रो हप्ता राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष दाहालले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै राष्ट्रिय सम्मेलनको प्रस्ताव राखेको श्रेष्ठले जानकारी दिए । ‘राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्षले गर्नुभएको छ,’ श्रेष्ठले भने ।
त्यस्तै, चार महिने संगठनात्मक अभियान सञ्चालन गर्ने पनि प्रस्ताव बैठकमा गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावका साथै विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूलाई ८ समूहमा विभाजित गरिएको श्रेष्ठले बताए । दाहालले प्रस्तुत गरेका प्रस्तावमाथि आइतबार बिहान ११ बजेसम्मको समय ती समूहरूलाई दिइएको छ ।
माओवादीको केन्द्रीय कमिटी बैठकले सांगठनिक एजेण्डा तय गर्ने, नेताहरूको प्रदेश र विभिन्न विभागहरूमा कार्यविभाजनको निर्णय गर्ने श्रेष्ठले बताए ।….Kantipur