बर्दघाट नगरले भवन बनाएरै आईसोलेशन सुचारु
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा–२ चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकै बीचमा अस्पताल भवन खडा गरेरै १० बेडको आइसोलेशन सुचारु गरिएको छ ।
बर्दघाट नगरपालिकाले २०७७ असारमा कोभिड– १९ महामारीकै बीचमा निर्माण शुरु गरेर २०७८ बैशाखमै आइसोलेशन सुचारु गरेको हो ।
नेपालमा कोभिड–१९ शुरु भएसंगै अस्पताल भवन बनाउन शुरु गरिएको थियो । र नयाँ भेरियन्टको कोरोना शुरु भएलगतै शुक्रवारबाट आइसोलेशन छ ।
घरबहाल तिरेर संचालन भइरहेको सरकारी स्वमित्वको चिसापानी अस्पतालका लागि भवन आवश्यक परेकोले बर्दघाट नगरपालिकाले आइसोलेशनकै नाममा सो भवन निर्माण गरेको थियो ।
‘बहुप्रतिक्षित’ सो भवन बर्दघाट नगरले आर्थिक वर्ष ०७६÷७७ बाट निर्माण शुरु गरेको थियो । उक्त भवन निर्माण योजनालाई गत वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकतामा राखिएको थियो । चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुदाँ संचालन कठिनाई हुदै आएको थियो । पहिलो चरणमा करिव ७५ लाख र दोस्रो चरणमा करिव २० लाखको लागतमा उक्त भवन बनाइएको हो ।
बर्दघाट नगरप्रमुख धीरज शर्मा बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले नयाँ भवन बनाएरै आइसोलेसन सेन्टर बनाइएको बताए । उनले अल्पकालीन रुपमा कोभिड आइसोलेशन र दीर्घकालीन रुपमा चिसापानी अस्पताल संचालन गर्ने उद्धेश्यले भवन निर्माण गरिएको जानकारी दिए । अहिले १० शय्याको अक्सिजन सेवा सहितको आइसोलेशन सुचारु गरेका छौ – चिसापानी अस्पतालका अध्यक्ष समेत रहेका नगर प्रमुख बस्यालले भने –छिट्टै २० बेडको आइसोलेशन बनाउने छौ ।
आईसोलेसन अस्पतालको भवनलाई शुक्रवार सरसफाई गरी आवश्यक सरसामानहरु सहित तयारी गरेको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख माधव ज्ञवालीले बताए ।
आईसोलेसन सेन्टरमा डा. शान्ति के.सी.डा.पवन अग्रवाल सहितका विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजन सहितको बेडमा बिरामीहरूलाई उपचार गरिने बताईएको छ ।
यस आइसोलेशन सेन्टरमा नगर भित्रका अक्सिजन लेभल कम भएका र स्वासप्रश्वासमा कठिनाई भएका कोभिड बिरामीलाई उपचार गरिने बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले जानकारी दिए ।
कोरोना–१९ शुरु भएपछि बनाउन थालिएको भवनमा आइसोलेशन बनाउन ढिला गरिएको भन्दै स्थानीयले आलोचना गर्दै आएका थिए ।
यस अघि बर्दघाट नगरले संक्रमितलाई आइसोलेशन र बुटवल सम्म थप उपचारका लागि जानु परेमा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेको थियो ।