प्रेस स्वतन्त्रताको बिषयमा कसैसंग सम्झौता हुन्न : पोखरेल
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको ११ औं बार्षिक साधारणसभा
संजय तिवारी/ पप्पु रेग्मी
सुनवल २२ पुस : नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले प्रेस माथि अंकुश लगाउने कार्य भैरहेको बताउदै पत्रकारहरु सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले अभिब्यक्ति स्वतन्त्रता बिरोधी कुनैपनि कानुन पत्रकारहरुका लागि मान्य नहुने बताउदैं नागरिक आन्दोलनलाई कमजोर बनाउन शासकहरुले प्रेस स्वतन्त्रता बिरोधी कानुन ल्याउने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको ११ औं बार्षिक साधारणसभा उद्घाटनमा बोेल्दै उहाँले निरंकुशताले सबैभन्दा पहिला प्रेस माथि अकुंश लगाउने गरेको उदाहरण दिनुभयो । लोकतन्त्र र अभिब्यक्ति स्वतन्त्रतामा कसैसंग सम्झौता नहुने उहाँको भनाई थियो । स्वतन्त्रता प्रिय हुन्छ –उहाँले भन्नुभयो– त्यो प्रिय चिज खोसिएको कसैले टुलुटुल हेरेर बस्न सक्दैन । फरक प्रसंगमा उहाँले समाचार लेख्नेहरु मात्र पत्रकार हुन सक्ने औल्याउनुभयो ।
साधारणसभा सुनवल नगरपालिका – ११ बाबा बर्दगोरियामा सम्पन्न भएको हो । सभाका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष बिपुल पोखरेलले केक काटेर सभाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीले नगरपालिकाले सधै संचारक्षेत्रलाई सहयोग गर्न चाहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले पत्रकारहरुले लेखेका समाचार ईतिहास हुने बताउनुभयो । उहाँले पत्रकारका समाचारले ओहोदामा बसेकाहरुलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाउनुभयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी, लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष दीपक भट्टराई, पत्रकार महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, पूर्ब अध्यक्ष कुल प्रसाद शर्मा, वडाध्यक्ष देवीलाल डुम्रे लगायतले शुभकामना दिनुभयो । सभामा महासंघ नवलपरासीका संस्थापक अध्यक्ष भुपेन्द्र शर्मा भट्टराई, संस्थापक सहसचिब बिष्णुदेवी पाण्डे, संस्थापक सदस्य शान्ता भण्डारीलाइ सम्मान पनि गरिएको थियो ।
कार्यक्रम हरि शर्माको अध्यक्षता नारायण सुवेदीको स्वागत सचिव राज कुमार रेश्मीको संचालनमा कार्यक्रम भएको थियो ।
सभामा महासंघका सचिव राजकुमार रेश्मीले बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन कोषाध्यक्ष रबि पाण्डेयले प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिबेदन सभाले पारित गरेको छ । सभाले बर्दगोरिया घोषणा पत्र जारी गर्नेछ ।
सभामा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसगरी सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकारहरुको क्षमता अभिबृद्धि सम्बन्धि तालिम पनि संचालन गरिएको थियो । तालिम उद्घाटन सत्रमा सुनव नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा महासंघका जिल्ला सल्लाहकार गोपीराम ज्ञवाली महिला उपाध्यक्ष मालती न्यौपानेलगायतले बोल्नु भएको थियो ।
कार्यक्रम समापन पछि वनभोज समेत आयोजना गरिएको थियो ।