भारतीय पूर्वविदेश सचिव भन्छन्, ‘काठमाडौंमा अमेरिका र चीनबीचको शक्तिसंघर्ष’
काठमाडौं : नेपालको वर्तमान राजनीतिक संकटमा अमेरिकी भूमिका रहेको भारतीय पूर्वविदेश सचिव श्यामशरणले बताएका छन्। द ट्रिब्युनमा बुधबार प्रकाशित लेखमा उनले यस्तो निश्कर्ष पेस गरेका छन्। उनले भनेका छन्, ‘नेपालको यो संकटमा अमेरिकी भूमिका पनि रहेको बुझिएको छ। अमेरिकी सहायता परियोजना एमसीसीलाई नेपालका प्रधानमन्त्री केपी ओलीले समर्थन गर्दा प्रचण्डले निषेध गरेका थिए। एमसीसीविरुद्ध उभिएकाहरू चिनियाँ इशाराअनुसार परिचालित भएको बुझिन्छ।’चीन र अमेरिकाबीचको शक्तिसंघर्षका कारण उत्पन्न नेपालको राजनीतिक संकटमा भारत महत्वपूर्ण हुन नसक्ने उनको विश्लेषण छ। उनले लेखमा भनेका छन्, ‘नेपाललाई चीनविरुद्ध प्रयोग गर्ने थलोका रूपमा अमेरिकाले प्रयोग गर्न खोजेको देखिन्छ । यता अमेरिकी नीति असफल पार्न जस्तोसुकै कदम चाल्न पनि चीन तयार रहेको देखिन्छ ।यदि चीनले नेपालमा, भारतले अमेरिकी स्वार्थअनुसार काम गरिरहेको छ भन्ने बुझ्यो भने चीन र भारतको दुस्मनी निश्चित छ ।
नेपालको वर्तमान राजनीतिक मामिलामा अमेरिकी नेतृत्व प्रधान हुने हो भने भारत त्यसमा संलग्न नहुने उनको भनाइ छ। उनी लेख्छन्, ‘ विगतमा पनि अमेरिका र बेलायतको नेपाल मामिलामा भारतप्रधान थियो । उनीहरू प्रधान हुने अवस्थामा नेपाल मामिलामा भारतीय प्रभाव कायम हुनुको सट्टा हामी सीमान्तकृत हुने निश्चित छौँ ।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजनको अवस्थामा पुगेपछि संसद् विघटन गर्दै चुनावको मिति घोषणा गरेको र यसले चीनलाई धक्का पुगेको श्यामशरणले बताएका छन्। उनले भनेका छन्, ‘नेकपा तत्कालीन एमाले र माओवादीबीच चीनको समर्थन र उत्प्रेरणामा एकता भएर गठन भएको पार्टी हो । यो पार्टीको विभाजनले चीनलाई समेत केही धक्का पुगेको छ । त्यसैले विभाजित नेकपालाई मिलाउन चीनका लागि नेपाली राजदूत होउ यान्छीको सक्रियता जारी छ। असन्तुष्ट पक्षलाई मिलाउनका लागि यान्छीले रेफ्रीको भूमिका निर्वाह गरिरहेकी छिन् । उनको सक्रियताले सकारात्मक नतिजा नआएपछि चीनले उपमन्त्री यचौको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल नेपाल पठाएको छ ।’
उनी लेख्छन्, ‘नेकपाको विभाजनमा चिनिँया चासो कति छ भन्ने यसले प्रष्ट पार्छ । चीनले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन दबाब दिइरहेको बुझिएको छ । ओलीलाई सरकारबाट हट्नका लागि नेपालमा स्वच्छ छवि भएका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास भइरहेको बुझिएको छ । यो दबाबलाई ओलीले प्रतिवाद गर्न सक्लान् तर नेपालको वर्तमान संकट कसरी टर्छ, हामीले प्रतीक्षा गर्नै पर्नेछ।’
काठमाडौँमा अमेरिका र चीनबीच भइरहेको राजनीतिक शक्तिसंघर्षमा नयाँ दिल्लीको भूमिका अर्थपूर्ण नहुने खतरा उत्तिकै रहेको उनले आफ्नो लेखमा उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘ ओलीको सत्ता र नेकपाको भविष्यमाथिको परिणाम जे-जस्तो भए पनि नेपालको प्रजातन्त्र, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको भविष्यमा जोखिम निश्चित छ । कोरोना महामारीबाट नेपाल असाध्यै संकटमा परेको छ । पर्यटन र रेमिट्यान्सबाट आम्दानी घटेपछि आर्थिक रूपमा नेपालमा संकटमै थियो । यही समयमा देखा परेको राजनीतिक उथलपुथलले नेपाललाई हिंसातर्फ र आर्थिक संकटतर्फ धकेल्ने संकेत देखा परिसकेको छ ।’
उनले पार्टीभित्रको आन्तरिक संघर्षका कारण प्रतिनिधिसभा नै भंग गर्ने काम बहुदलीय प्रजातन्त्र भएको मुलुकका लागि असाध्यै नराम्रो नजिर भएको तर्क पेस गरेका छन्। उनले लेखेका छन्, ‘महामारीबाट गुज्रिरहेको नेपालमा राजनीतिक उथलपुथलका कारण विकसित घटनाक्रमले निर्वाचनलाई पर धकेल्ने र संकटकालको अवस्था सिर्जना गर्ने खतरा छ । चिनियाँ पक्षको स्वार्थ ओलीले नियन्त्रण गर्न सक्लान् तर यसले उनलाई भारतीय स्वार्थको संरक्षक बनाउने छैन । किनभने आवश्यकता परेको अवस्थामा उनले भारतविरोधी भावना उब्जाउने गरेका छन् । राष्ट्रवादी बन्न ओलीले बारम्बार भारतविरोधी भावना फैलाएको नजिर बारम्बार पाइन्छ ।’
श्यामशरणले नेपालमा अहिले देखिएको राजनीतिक संकटले चीनलाई केही हदसम्म धक्का पुगेको तर, भारतलाई यो संकटबाट कुनै पनि फाइदा नहुने स्पस्ट पारेका छन्। उनी अगाडि लेख्छन्, ‘छिमेकी देशहरूमा बहुदलीय प्रजातन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको चाहना भारतले राख्छ । त्यसैले अहिलेको राजनीतिक संकटमा ओलीलाई समर्थन गर्नु भनेको नेपालको प्रजातन्त्रलाई पछाडि धकेल्नु हो र भारतका लागि यो कदम निकै अदूरदर्शी कदमका रूपमा दर्ज हुनेछ । नेपाल शक्तिराष्ट्रको स्वार्थका कारण मुठभेडमा गएमा भारतका लागि हितकर हुनेछैन । त्यसैले कसैको अल्पकालीन लाभका लागि भारतले प्रोत्साहित गर्नुहुँदैन ।’
नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि भारतसँगको सहकार्यमा ओलीले यो कदम चालेको आशंका गलत भएको उनले स्पस्ट पारेका छन्। उनले लेखेका छन्, ‘अहिले चर्चा के भइरहेको छ भने नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापना गर्न सकिएमा भारतीय स्वार्थ पूरा हुनेछ र यसले चीनलाई किनारा लगाउनेछ, यो तर्क विशुद्ध गलत छ । इतिहास हेर्ने हो भने हिन्दु सम्राटहरूले नै नेपालमा भारतविरोधी भावना प्रवर्द्धन गरेका थिए । उनीहरूले चिनियाँ स्वार्थलाई बढी सम्बोधन गरेका थिए । चीनले राजतन्त्रको विरुद्ध माओवादी लाग्दा कहिल्यै सहयोग गरेन । राजगद्दीबाट राजाको बहिर्गमन रोक्न सकिँदैन भन्ने बुझेपछि मात्रै उसले माओवादीसँग सहकार्य अघि बढाएको थियो ।’
अहिलेको राजनीतिक संकटमा मधेसीहरूको भविष्यका विषयमा कुनै चासो र चिन्ता नभएको उल्लेख गर्दै श्यामशरणले आफ्नो लेखमा नेपालको प्रजातन्त्रलाई सुदृढ गर्दै मधेसी समुदायको राजनीतिक सशक्तिकरण आजको आवश्यकता भएकोमा जोड दिएका छन्। उनले भनेका छन्, ‘ किनभने उनीहरूको अधिकार प्राप्तिको संघर्षले फैलिने अशान्तिले भारतमा असर पुर्याउनेछ । यो कुरा हामीले बारम्बार भोग्दै आएका छौँ । नेपालको अहिलेको राजनीतिक संकटले चीनलाई धक्का पर्यो भनेर हामी मख्ख नपरौँ । बरु भारतको सुरक्षा संवेदनशीलताको रक्षा गर्ने मधेसी जनताको हितका लागि काम गरौँ ।’
चीनले जतिसुकै प्रयत्न गरे पनि नेपाल र भारतको जस्तो सम्बन्ध चीन-नेपालबीच हुन नसक्ने ठोकुवा गर्दै उनले लेखेका छन्, ‘भौगोलिक अवस्थाका कारण नेपालको आर्थिक र सामाजिक विकासका लागि भारतसँगको निर्भरता रहेका कारण भारतले नेपालमा पर्याप्त उपस्थिति कायम राख्न सक्छ । नेपाल शक्तिराष्ट्रको स्वार्थका कारण मुठभेडमा गएमा भारतका लागि हितकर हुनेछैन । त्यसैले कसैको अल्पकालीन लाभका लागि भारतले प्रोत्साहित गर्नुहुँदैन ।’
अन्नपुर्ण पोष्ट