कोरोना कहर : प्रदेश २ यसकारण आक्रान्त

0

 ११ भदौ ,जनकपुरधाम :

देशभर कोरोना संक्रमितको संख्या बुधबारसम्म ३४ हजार ४ सय १८ पुगेको छ। तीमध्ये प्रदेश २ मा मात्र ९ हजार ९ सय ४४ जना छन्। त्यो २९ प्रतिशत हो। अर्थात् ७ प्रदेश भएको देशमा प्रदेश २ मा मात्र झन्डै एक तिहाइ संक्रमित छन्। सबैभन्दा धेरै संक्रमित यस प्रदेशमा किन भइरहेका छन् ? प्रमुख कारण खेलाँचीमा आधारित छन्।

भारतबाट कोरोना संक्रमित भई आएकाहरू सोझै घर र समुदायमा पुगेका कारण अवस्था भयावह बनेको विश्लेषक र सुरक्षा निकायका प्रमुख बताउँछन्। प्रदेशका आठै जिल्लामा भारतसँग खुला सिमाना भएका कारण जतिसुकै निगरानी गरे पनि विभिन्न बहानामा आवतजावत गर्ने क्रम नरोकिएको नेपाल प्रहरीका प्रदेश २ प्रमुख डीआईजी धीरजप्रताप सिंहले स्वीकार गरे। ‘कतै मल ल्याउने बहानामा त कतै नुन, चिनी किन्ने बहानामा चोरबाटो हुँदै नेपाल–भारत ओहोरदोहोर गर्नेहरू हाल पनि छन्’, डीआईजी सिंहले अन्नपूर्णसँग भने, ‘प्रहरीले यस्ता गतिविधि रोक्न खोज्दा उल्टै झडप गर्ने घटनाहरू पनि भइरहेका छन्। तापनि, हामीले सक्दो निगरानी बढाएका छौं।’

उनका अनुसार गाउँघरतिर जतिसुकै सम्झाउँदा पनि हाट, बजार लगाउने गरिएको छ। न त्यहाँ मास्क प्रयोग गरिएको हुन्छ न त दूरी नै कायम हुन्छ। यस्तोमा संक्रमण फैलिने खतरा निकै बढी छ’, उनले भने, ‘यस्तो महामारीका बेला कुनै एक पक्षले मात्रै चाहेर सुधार गर्न गाह्रो छ। त्यसैले सबै पक्ष साझा रूपमा अघि बढ्नुपर्छ।’

लकडाउनको सुरुमा प्रदेशभरि ७० प्रतिशत व्यक्ति मास्क लगाउन आनाकानी गर्थे। तर, प्रहरीको सक्रियता र कारबाहीपछि ३० प्रतिशतले मात्रै मास्क लगाउन आलटाल गरेको सिंहले बताए। प्रहरीले मास्क नलगाउने १ लाख २० हजार जनालाई कारबाही गरेको छ।

लकडाउन खुलेपछि भारतबाट प्रदेश २ छिरेका ४२ हजार जति व्यक्ति सोझै समुदायमा गएर मिलेका कारण संक्रमणदर एक्कासि उच्च भएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी कृष्णभक्त ब्रह्मचार्यको विश्लेषण छ। ‘संक्रमण अत्यधिक फैलिएको मुलुकबाट आएकाहरू सोझै घर पसे। तिनको कन्ट्याक्ट ट्रेसिङ हुनुपथ्र्याे त्यो भएन। जसले गर्दा समुदाय जोखिममा पर्‍यो’, डीआईजी ब्रह्मचार्यले भने, ‘घरछिमेकमा आएकाहरूलाई नातेदार भन्दै लुकाइयो र अहिले यस्तो परिणाम भोग्नुपरेको छ।’

प्रहरीले घरदैलो कार्यक्रम र दोभासे माइकिङ गराएर बाहिरबाट आएका छरछिमेकीलाई स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन अनुरोध गरिरहेको उनले बताए। ‘जनचेतनाको कमीले गर्दा समस्या बढेको हो। यस रोगलाई नियन्त्रण गर्न सबैभन्दा बढी जनचेतना अभिवृद्धितर्फ नै ध्यान जानुपर्छ’, उनले भने।

२ सय संक्रमित सम्पर्कविहीन

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुई सय जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको सार्वजनिक भएको छ। पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले बताएको छ।

संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए। ‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन्। यस्तो प्रवृत्तिले गर्दा पीसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाहे भएको छ’, झाले भने, ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न झमेला भएको छ।’

संक्रमित भएर पनि लुकीछिपी बसेकाहरूको खोजी गर्नुपर्ने बाध्यता रहेकोे धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको भनाइ छ। संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

रिपोर्ट आउन ढिलाइ

जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृतलाई १७ दिनअघि हल्का ज्वरो आयो। खोकी लाग्यो। उनी कार्यालयबाट बिदा भएर घर बसे। लक्षण देखिएको ५ दिनपछि स्वाब दिए। उनको पीसीआर रिपोर्ट ११औं दिनपछि आयो र पोजिटिभ देखियो। लक्षण देखिएको लामो अवधिपछि मात्रै रिपोर्ट आउँदा आफू अझ संक्रमित नै हो वा संक्रमणमुक्त भइसके भने अन्योल छ। उनी घरमै होम आइसोलेसनमा छन्।

पीसीआर परीक्षण भए पनि रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमितहरू घर समाजमै बसिराख्दा अन्यलाई पनि जोखिम बढेको हो। रिपोर्ट आउँदासम्म कोभिडका लक्षण देखा पर्न छाडिसक्ने र लक्षण देखिएको बेला सबैको सम्पर्कमा रह्ने प्रवृत्तिले गर्दा पनि संक्रमण फैलिएको जानकारहरू बताउँछन्।

तिरस्कारको डर

कोभिड—१९ रोगसँग मिल्दोजुल्दो लक्षण देखिए पनि सामाजिक तिरस्कार हुने डरले पनि बिरामीहरू सम्पर्कमा आउन नचाहँदा संक्रमण फैलिएको वरिष्ठ चिकित्सक रामकेवल साहको भनाइ छ। ‘यो रोग लाग्दा बिरामीलाई उच्च मनोबलको आवश्यकता हुन्छ। उसलाई समाजको स्नेह र रोगबाट मुक्त हुने हौसला चाहिन्छ। तर, हाम्रो समाजमा यसको ठीक विपरीत भइरहेको छ’, उनले भने, ‘संक्रमित व्यक्तिको घरपरिवारलाई निकै हेलाँ गर्दै समाजबाटै बहिष्कार गरिएको थुप्रै उदाहरण छन्। यसले गर्दा रोगीको मनोबल अझ कमजोर हुन्छ र परिवारका सदस्यहरू संक्रमित नभए पनि अपहेलित हुन बाध्य हुन्छन्।’

क्वारेन्टाइन र आइसोलेसनमा दुर्व्यवहार

आइसोलेसन र क्वारेन्टाइनमा बिरामीसँग गरिने अमाननीय व्यवहारका कारणले पनि अधिकांश घरमै लुक्ने गरेका छन्। प्रदेश सरकारद्वारा धनुषाको गंगुलीमा सञ्चालित आइसोलेसनमा संक्रमितलाई चिउरा र भुजाका भरमा राखिएको छ। ‘बाहिरबाट रंगरोगन गरेर चिटिक्क बनाइएका आइसोलेसनमा भित्र बस्ने बिरामीलाई न समयमा खाना दिइन्छ, न त पानीकै उपयुक्त व्यवस्था छ’, सोही आइसोलेनमा रहेका एक सञ्चारकर्मीले भने, ‘संक्रमण पुष्टि भएकाहरूलाई विशेष हेरचाह, चिकित्सकीय निगरानी र स्वस्थ्य सफासुग्घर वातावरण हुनुपर्ने हो। तर यहाँ सरसफाइको नाममा नियमित कुचो पनि लगाइँदैन।’

धनुषाको सपहीस्थित क्वारेन्टाइनमा बसेका अर्का सञ्चारकर्मीले उपचार र खानपान समस्याका कारण अझ रोगी पो हुने हो कि भन्ने चिन्ताले सताएको बताए। ‘यहाँ न खानेपानीको राम्रो प्रबन्ध छ न त स्वास्थ्य उपचारकै कुनै सुविधा छ। एक्लै बस्दा बाहिरको जानकारीहरू लिनका लागि इन्टरनेटको समेत व्यवस्था गरिएको छैन्। कसैलाई गुनासो गर्दा सुनुवाइ पनि हुँदैन निकै बिजोग छ,’ उनले भने।

Annapurna post

You might also like