‘वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न’ विषयक अन्तरक्रिया सम्पन्न

0

काठमाडौं – नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको आयोजनामा शनिबार “वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहितको संघीयताको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा महासचिव सीपी गजुरेल गौरवले जेनजी विद्रोहपछि बनेको सरकार साम्राज्यवादी र विस्तारवादीहरुको कठ्पुतली सरकार भएको भन्दै देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि देशमा देशभक्त र क्रान्तिकारीहरुको स्वाधीन संयुक्त सरकारको गठन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । अहिलेको संघीयता नाम मात्रको रहेको भन्दै उत्पीडित जातीय पहिचानसहितको संघीयता स्थापनाका लागि पनि स्वाधीन संयुक्त सरकारको निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष तथा आदिवासी जनजाति आन्दोलनका बरिष्ठ नेता सीताराम तामाङले नेपालमा धर्मनिरपेक्षता र संघीयता खारेज गरिए जातीय र धार्मिक द्वन्द्व हुने चेतावनी दिनुभयो । जनजी विद्रोहपछि उत्पन्न परिस्थितिलाई अग्रगामी दिशामा लैजान र देशमा साँच्चैको उत्पीडित जातीय पहिचानसहितको संघीयता बनाउन सच्चा कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आफ्नो महत्वपूर्ण विचार प्रस्तुत गर्दै डा. महेशमान श्रेष्ठ र डा.केशवमान शाक्य र भाजु सुरेशकिरण मानन्धरले पनि संघीयताका विरुद्ध जेनजी विद्रोहको आवरणमा गम्भीर षड्यन्त्र भइरहेकोले यो अवस्थामा वास्तविक संघीयताक पक्षधरहरु एकताबद्ध भएर त्यस्ता षड्यन्त्रहरुलाई परास्त गर्नुपर्ने विचार राख्नुभयो ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षता तथा महासचिव शिव श्रेष्ठको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेता सुरेश श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रम ललितपुरको कुपण्डोलस्थित सातोआकी पुस्तकालयमा सम्पन्न भएको थियो । अन्तरक्रिया कार्यक्रमको सुरुमा मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले ‘देशको वर्तमान परिस्थितिमा स्वाधीन संयुक्त सरकार र पहिचानसहित संघीयताको प्रश्न’ शीर्षकमा संक्षिप्त कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वक्ताहरुले यही कार्यपत्रको मूलस्पिरिटमा केन्द्रित रहेर आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

You might also like