स्वाधीन संयुक्त सरकार एक मात्र विकल्प : महासचिव गजुरेल
काठमाडौं २० कार्तिक – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले जेनजी विद्रोहपछि विकसित असाधारण राजनीतिक परिस्थितिमा छरिएर रहेका सबै क्रान्तिकारीहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको ९ नं. ब्यूरोद्वारा शुक्रबार राजधानीको संवाद डबलीमा सम्पन्न ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जेनजी विद्रोहबाट पाठ सिक्दै नेपालका क्रान्तिकारीहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।
जेनजी बिद्रोहको बलबाट प्रधानमन्त्री बनेकी सुशिला कार्कीले क्रान्तिकारीहरुलाई वार्तामा नबोलाएको प्रति रोष व्यक्त गर्दै गजुरेलले भने, “विगतमा भ्रष्टाचार र कुशासनमा लिप्त दलहरुलाई मात्रै निकासको लागि प्रधानमन्त्रीले बोलाएर यो सरकार पनि पुरानै दलदलमा फसेको पुष्टी हुन्छ ।” उनलेले अगाडि थपे , “जेनजीले भनेजस्तै हुने छाँट पनि देखिएन अब निकासका लागि स्वाधीन संयुक्त सरकार एक मात्रै विकल्प हो ।”
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले जेन्जी बिद्रोहबाट जनताले ठूलो अपेक्षा राखे पनि नीति, विचार र राजनैतिक चेत तथा नेतृत्वविहीनताले पुरानै व्यवस्था र भ्रष्टहरु बँच्ने अवस्था आएको बताए । “जेन्जी बिद्रोहले मुलतः भ्रष्ट र दलाल सत्ताको बिस्थापन चाहेको थियो तर, तिनैलाई मुद्दा लगाउने कुराप्रति हाम्रो विरोध छ, जेन्जीहरुले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग गर्नुपर्छ ।”–उनले भने ।
विप्लव नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जेन्जी बिद्रोहपछि देशमा व्यापक ध्रुवीकरणको आवश्यकता रहेको र सबै क्रान्तिकारी कम्युनिस्टहरु एकठाउँमा आउनुपर्नेमा जोड दिए ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता राजेश्वरी सुवेदीले विभिन्न समूहमा विभक्त नेपाली कम्युनिस्टहरु आफूलाई बाहेक अरुलाई कम्युनिस्ट नठान्ने प्रवृत्तिको करण प्रतिक्रियावादीहरुले ठाउँ पाएको जिकिर गरिन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले जेन्जीमा वर्ग र वर्गीय चेतको अभावका कारण सो आन्दोलनको उपलब्धि शून्य जस्तै भएको बताए ।
सो पार्टीका ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेलले देशमा संसदवादी दल र व्यवस्थालाई विस्थापन गरी वैज्ञानिक समाजवादी व्यवस्थाको लागि संघर्षको खाँचो भएको औल्याए । कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा नेतृत्वका बारेमा उमेर हदको विषय चलेको र जुन विषय वैज्ञानिक नभएको जिकिर गरे ।
सांस्कृतिक प्रतिरोध अभियानका सदस्य संगीत स्रोताले क्रान्तिकारी शक्तिहरु छरिएरभन्दा एक भएर परिवर्तनको लागि तयारी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं जिल्ला सचिव केदार खतिवडाले जेनजी बिद्रोहबाट पाठ सिक्दै नेपालमा क्रान्ति र बिद्रोहबाट परिवर्तन सम्भव भएकोले सबै एक भएर तयारी गर्नुपर्ने धारणासहित स्वागत मन्तव्य राखेका थिए ।