क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनसम्बन्ध विस्तार अभियान शुरु
नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान शुरु गरेको जनाएको छ ।
पार्टीका जिल्ला सेक्रेटरी रवि पाण्डेयले सोमवार एक प्रेस बक्तब्य जारी गर्दै जनसम्बन्ध विस्तार अभियान शुरु गरिएको जानकारी दिनुभयो ।
बक्तब्यमा भनिएको छ – ‘वर्तमान अवस्थामा देश विकराल स्थितिबाट गुज्रिरहेको छ । दलाल सत्ता र ब्यवस्थाको चंगुलबाट जनता पिल्सिरहेका छन् । बिशेष गरेर राष्ट्रियता ,जनतन्त्र र जनजिविका संकटमा पर्दै गएको छ । कम्युनिस्ट आन्दोलनको नाममा संशोधनवादीहरु निकै हावी हुदै श्रमजिवी जनतालाई भम्र दिईराखेका छन् । यस्तो अवस्थामा हामी क्रान्तिकारीहरुबीच एकता सम्पन्न गरेर राष्ट्रिय एकता महाधिबेशनबाट बनेको पार्टीको कार्यदिशा तथा कार्यक्रम लिएर जनता माझ जानु वान्छिनीय रहेकोले पार्टी केन्द्र र ब्युरोको योजनालाई दृढ कार्यान्वयन गर्दै जिल्लाको सापेक्षतामा जनसम्बन्ध विस्तार अभियान संचालन गर्न तयारी गरिरहेका छौ ।’
उक्त बक्तब्यमा अभियानको अवधि २०८१ चैत्र ४ गते देखि २०८२ बैशाख १८ गते सम्म रहने उल्लेख छ । अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने , पार्टीको समर्थक समुह निर्माण गर्ने, जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने , जिल्लाको संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको जनाइएको छ ।
पार्टीले जन सम्बन्ध विस्तार अभियानको चरण बि.स. २०८१ चैत्र ४ गते देखि २०८२ बैशाख १८ गते सम्म र त्यसको समिक्षा पछि २०८२ बैशाख २० देखि असार ५ सम्म पुनः डेढ महिनाको संगठन विस्तार तथा सुदृढ अभियान संचालन गरिने बताएको छ ।
जिल्लाको सापेक्षतामा जनसम्बन्ध विस्तार अभियान सुस्ता गाउँपालिकाबाट शुरु गरिने र आलोपालो टोली बनाएर हरेक पालिकाको एउटा वडालाई जोड दिने र अन्यलाई ध्यान दिएर टोलीले काम गर्ने योजना रहेको पार्टीले जनाएको छ ।
बक्तब्यमा अभियानकै बीचमा चैत्र १२ गते सम्म पालिका कमिटीको बैठक बसेर योजना बनाउने , प्रत्येक वडामा कम्तीमा पाँच वटा नारा लेख्ने , प्रचारका लागि पर्चा वितरण तथा १० वटा कोण सभा गर्ने ,सम्भव भएका जनवर्गीय तथा मोर्चा संगठनका जिल्ला आयोजक समिति गठन गर्ने , स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा पार्टी पंक्ति परिचालित हुनेलगायत काम हुने प्रष्ट पारिएको छ ।
त्यस्तै २०८१ चैत्र २६ देखि बैशाख १८ सम्मको कार्यक्रम समेत निर्धारण गरिएको पार्टीले बक्तब्यमा युवा, विद्यार्थी ,मजदुर ,किसान, महिला संगठन र दलित संगठनको सदस्यता प्राथमिकतामा वितरण गर्ने , नमुना वडामा न्युनतम पार्टीको ३ सेल वटा सहित ३० जनाको जवस मोर्चाको सदस्यता विस्तार गर्ने , केन्द्रीय अभियान टोलीको ब्यवस्थापकीय जिम्मा लिने , वि.स.२०८२ बैशाख ६ देखि ८ गते सम्म केन्द्रीय अभियान टोलीको कार्यक्रमलाई सफल बनाउने र वि.स.२०८२ बैशाख १८ गते मई दिवस कार्यक्रममा काठमाण्डौमा ब्यापक रुपमा सहभागिता जनाउने लगायत समाबेश कार्यक्रम छन् ।
केन्द्रीय अभियान टोलीले जिल्लाको सदरमुकाममा राजनैतिक दलहरुबीच अन्तरक्रिया गर्ने सम्भव भए सबै पालिकाको केन्द्र नजिक कोणसभा गर्ने , आधारभुत वर्गको बस्तीमा जनभेटघाट गर्ने , भारत अतिक्रमित सुस्ता पुगेर जनतासंग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमतय गरिएको पार्टीले जनाएको छ ।
त्यस्तै पार्टीले अभियानको क्रममा स्थानीय रुपमा जनसंर्घषका कार्यक्रम समेत तय गरिएको बताएको छ ।