कञ्चनपुरमा क्रान्तिकारी कम्युनिष्ट पार्टीको ’जनसम्बन्ध विस्तार अभियान’ टोली
अभियान अन्तर्गत कोणसभा , विरोधसभा, चोकसभा लगायतका कार्यक्रमहरु गरिने
कञ्चनपुर – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कञ्चनपुरसहित देशका चार स्थानबाट एकैसाथ जनसम्बन्ध विस्तार अभियान संचालन गर्ने भएको छ । सोमबारदेखि देशै भरी अभियान संचालन हुन लागेको पार्टीले जनाएको हो ।
आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पार्टीले कञ्चनपुरको गड्डाचौकी देखि जनसम्बन्ध विस्तार अभियान संचालन गरिने जनाएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवम् चार नम्बर अभियान टोलीका इन्चार्ज कृष्णराज पौडेलले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताउनुभयो ।
नेपालमा राजनीतिक क्रान्ति अधुरै रहेको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले गड्डाचौकीदेखि शुरु भएको अभियान जिल्लाको दोधाराचाँदनी, ब्रम्हदेब, भीमदत्त नगर, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर सहितका स्थानमा संचालन गरिने जानकारी दिनुभयो ।
यस बीचमा सहिद परिवारदेखि सरोकारवालासंग भेटघाट गरिने उहाँको भनाई छ ।
कञ्चनपुरमा चारदिन सम्म चल्ने उक्त अभियान अन्तर्गत कोणसभा , विरोधसभा, चोकसभा लगायतका कार्यक्रमहरु गरिने जनाइएको छ । जनसम्बन्ध विस्तार अभियानको बैशाख १८ गते काठमाडौमा समापन गरिने सो पार्टीले जनाएको छ ।