सन्देश सभा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी
नवलपरासी : मोहन बैध्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जिल्ला सदरमुकाम परासीमा सन्देश सभा गर्ने भएको छ । पार्टीको हालै सम्पन्न रास्ट्रिय एकता महाधिबेशनको सन्देश सम्प्रेषण गर्ने उद्वेश्यले पौष ११ गते सन्देश सभा गर्न लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिनुभयो । बिहीवार बर्दघाटमा भएको जिल्ला पार्टीको सम्पन्न बैठकले उक्त निर्णय गरेको थापाको भनाइ छ । पौष ११ गते १३२ औं माओ दिवसको सन्दर्भमा सभा गर्न लागिएको हो । साथै जनताको महत्त्वपूर्ण मुद्दाहरुलाई लिएर स्थानीयस्तरमा जनसंर्घष संचालन गर्ने, पौष १९ गते सहिद सलिमको स्मृति गर्ने लगायत कार्यक्रम तय भएको बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले बताउनुभयो । बैठकले जिल्ला समितिमा युवाहरुको सहभागीता वृद्धि गर्दै जाने नीति अनुसार जिल्ला सचिवालयमा कमल र प्रेमलाई बढुवा गर्नुको साथै साकालाई जिल्ला समितिको पुर्ण सदस्य र संसारलाई जिल्ला समितिको बैकल्पिक सदस्यमा मनोनित गरेको सो पार्टीले जनाएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको २१ पुर्ण र ७ बैकल्पिक सदस्य सहित २८ सदस्यीय जिल्ला समिती र ६ सदस्यीय सल्लाहकार समिती रहेको छ । यस अघि क्रान्तिकारी माओवादी , नेकपा (बहुमत ) र नेकपा (मशाल) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी बनेको थियो ।