क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता अधिबेशन तीब्र
रवि पाण्डेय
बुटवल – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले जिल्ला संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र पारेको छ । प्रदेशमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच एकता सम्पन्न भएपछि जिल्ला जिल्लामा एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र बनाइएको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले जानकारी दिनुभयो ।
तत्कालीन क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइने क्रम तीब्र भएको हो ।
सोही क्रममा शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँची जिल्ला संगठन समिति को एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । एकता अधिबेशनले टकमान रावतको संयोजकत्वमा २९ सदस्यीय जिल्ला अधिबेशन आयोजक समिति गठन गरिएको छ ।
सो क्रममा पार्टी प्रदेश इन्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यता, सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसी, प्युठान जिल्ला इन्चार्ज टिकाराम पौडेल , अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम र विद्यार्थी प्रदेश संयोजक नवीन खड्कालगायतको आतिथ्यता रहेको थियो ।
एकता अधिबेशन , प्रशिक्षण तथा बैठक जिल्ला भरिबाट साबिकका दुई पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थिति भएको हो । त्यस्तै पाल्पाको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक यही असार २८ गते हुने जिल्ला संयोजक मुक्ति गैरेले जनाउनुभएको छ ।
त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले एकता अधिबेशन, प्रशिक्षण तथा बैठकको पूर्व तयारी गरिरहेको जनाएको छ ।
जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीका अनुसार पश्चिम नवलपरासीको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक असार ३० गतेलाई तय गरिएको छ । हालै सम्पन्न प्रदेश पाँचको एकता अधिबेशनमा जिल्लाबाट एक प्रदेश सल्लाहकार र ११ जना प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । प्रदेश समितिको निर्णय कार्यान्वयनका लागि प्रदेश सदस्यहरु तम्तयार भएर लागि परेको सो पार्टीले जनाएको छ । एकता अधिबेशन पूर्व तयारीका लागि प्रदेश सदस्यहरुको बीचबाट जनभेटघाट र ब्यवस्थापन टोली समेत बनाइएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुनसरी एकता अधिवेशन भब्यरुपमा सम्पन्न
सुनसरी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको सुनसरी जिल्लाको पार्टी एकता अधिवेशन भब्य एंव शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले रवीकिरणको संयोजकत्वमा ५५ सदस्यीय सुनसरी जिल्ला संगठन समिति चयन गरेको छ ।
सुनसरी जिल्लाको इटहरीमा शनिबार सम्पन्न भएको अधिवेशनका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज क. निर्मलले अधिवेशनको उद्घाटन गर्दै प्रशिक्षण मूलक मन्तब्यसहित कार्यक्रममा सहभागीहरुको तर्फबाट उठेका प्रश्नहरुको जवाफसहित पार्टीको नीति तथा आगामी कार्यक्रमहरुको विषयमा प्रस्ट पार्नुभयो । उहाँले क्रान्तिकारी पार्टीहरुका बीचमा एकता र ध्रुवीकरणलाई तीब्ररुपमा अगाडि बढाउँदै अबको क्रान्तिको कार्यभार सम्हाल्नुपर्ने जिम्मेवारी क्रान्तिकारी कम्युनिस्ट पार्टीको काँधमा रहेको पनि बताउनु भयो ।
कार्यक्रमका अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अबको विकल्प पुनरुत्थानवादी तथा पश्चगामीहरु नभएर क्रान्तिकारी शक्ति रहेको दर्शाउँदै सम्पूर्ण उत्पीडित तथा श्रमजीवीहरुलाई दृढताकासाथ क्रान्तिकारी कित्तामा उभिन आव्हान गर्नुभयो । उहाँले जनतालाई भ्रम दिँदै आफूलाई कम्युनिस्टको खोलभित्र छोपेर केही नवसंशोधनवादी, प्रतिक्रियावादी तथा फाँसीवादी तत्वहरुले समाजवादी मोर्चाको नाममा भ्रम सिर्जना गरिरहेकाले त्यस्ता भ्रमहरुलाई चिर्दै र क्रान्तिकारी शक्तिहरुबीचको एकता तथा आन्तरिक एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह–संयोजक नरेश, सुनसरी जिल्ला इन्चार्ज डिल्ली, महाधिवेशन आयोजक समिति सदस्य तथा १ नं. प्रदेश संगठन समितिका कार्यालय सचिव अनुपम लगायतको आतिथ्यता रहेको थियो । पारसको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको संचालन खगेन्द्रले गर्नुभएको थियो ।