कृषि पेशाबाट आयआर्जन गर्दै महिला
पवित्रा देवकाटा भुताहा – पश्चिम नवलपरासीको बर्दघाट १० की शान्ति पौडेलले कृषि ब्यवसायबाट आयआर्जन शुरु गर्नुभएको छ । भुताहामा शान्ति लोकल कुखुरा फार्म दर्ता गर्नुभएकी उहाँले सो स्थानमा माछापालन समेत गर्दै आयआर्जनमा जोडिनुभएको हो । उहाँले लोकल कुखुराका एक हजार चल्ला र २ हजार माछामा भुरा ल्याई ब्यवसाय शुरु गर्नुभएको थियो । कृषि प्राबिधिक अध्ययन गर्नुभएकी शान्तिले जागिर भन्दा ब्यवसाय उत्तम रहेको बताउदै कृषि पेशा पढेकाहरुले भेटनरी पसल मात्र खोल्नु भन्दा कृषि क्षेत्रमै स्थापित हुनुपर्ने तर्क गर्नुहुन्छ – भेटनरी खोलेपनि कमाउन त सकिन्थ्यो –उहाँले भन्नुभयो –तर ब्यवसाय नै गर्ने ईच्छा भयो । शान्तिले आफ्नो ब्यवसायमा पारिवारिक सहयोग पाएकोमा समेत खुसी ब्यक्त गर्नुभयो । बाउबाजेकै पालादेखि नै कृषि कर्म गर्दै आएपनि यसलाई आधुनिकीकरण गर्नुपर्ने उहाँको धारणा थियो । शान्तिले कुखुराको चल्ला उत्पादन गर्ने आफ्नो योजना रहेको सुनाउनुभयो । शान्तिले योजना बनाएर ब्यवसाय गर्न सके बेरोजगारी समस्या हल गर्न र स्वदेशीमै रोजगार हुन सकिन्छ भन्नेमा आफु आशावादी रहेको बताउनुहुन्छ ।