बर्दघाट खानेपानीको निर्वाचन : कसले बाजी मार्ला ?
चार ठुला दलको उम्मेदवार बिरुद्ध साना दलको उम्मेदवारी
नवलपरासी : यहाँको एक खानेपानी संस्थामा चार ठुला दलको गठबन्धन बिरुद्ध साना भनिएका दलहरुले संयुक्त गठबन्धन बनाएका छन् । हरेक अधिबेशनमा दलीय झिनाझपटी हुने बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भने एकल रुपमा उम्मेदवारी दिएको छ । अघिल्लो कार्यकालको चुनाव सम्म दुईवटा प्यानल बनाएर निर्वाचन लड्ने दलहरु यस पटक भने तीनवटा प्यानल दर्ता गरेर चुनावी मैदानमा उत्रिएका हुन् । बैशाख ९ गते हुने मतदानका लागि आइतवार तीनवटा प्यानलबाट उम्मेदवारी दर्ता गरिएको हो । देशकै सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले दोस्रो ठुलो दल नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार दीपक लम्सालको नेतृत्वमा निर्वाचनमा होमिने गरेर उम्मेदवारी दर्ता गराएको छ । यस प्यानलमा देशको तेस्रो ठुलो दल नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सामेल छन् । यस प्यानलको उपाध्यक्षमा काँग्रेसको तर्फबाट कमल थापा , सचिवमा एमालेको तर्फबाट शोभाकान्त कोइराला र कोषाध्यक्षमा राधादेवी अधिकारी र मनिसरा मश्राङगीको उम्मेदवारी परेको छ । कोषाध्यक्षका उम्मेदवार अधिकारी र मश्राङ्गी दुवैजना काँगेसका कार्यकर्ता हुनुहुन्छ । सत्तारुढ र बिपक्षी दलहरु मिलेर बनाइएको यो प्यानलमा चारवटा दल रहेका छन् यस प्यानलले प्यानलले सबै पदमा उम्मेदवारी दिएको छ ।
त्यस्तै गरी बर्दघाटमा क्रियाशिल साना भनिएका चार दलले राष्ट्रिय जनमुक्ति पार्टीका नेता धनबहादुर गुरुङ्गको नेतृत्वमा संयुक्त गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् । गुरुङ्ग यस अघिको कार्यसमितिमा सचिव रहनुभएको थियो । गुरुङ्गको यस प्यानलमा उपाध्यक्षमा राप्रपाको तर्फबाट शेरबहादुर दर्जी,सचिवमा मोतीलाल सुनार र कोषाध्यक्षमा रेवती पुनको उम्मेदवारी रहेको छ । यो संयुक्त प्यानलमा नेकपा(क्रान्तिकारी माओवादी)बाट नगर सदस्य गौरी पोखरेल र विप्लव नेतृत्वको नेकपाबाट निरबहादुर पाठकलगायतको उम्मेदवारी हुनुुहुन्छ । यस प्यानलमा जनमुक्ति, राप्रपा,क्रान्तिकारी माओवादी र विप्लव नेकपाको प्रत्यक्ष उम्मेदवार छन् । गुरुङ्ग नेतृत्वको यस संयुक्त प्यानललाई नेकपा(बहुमत),नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र मंगोल अर्गनाइजेसनलगायत ४ दलको समर्थन समेत रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एकल रुपमा उम्मेदवारी दर्ता गराएको छ । देशको चौथो दल रास्वपाले राजेन्द्र प्रसाद तिमिल्सिनाको नेतृत्वमा उपाध्यक्ष सागर गैरे, सचिव खिमानन्द पुरी र कोषाध्यक्षमा कविता रेग्मी अधिकारीलाई अगाडि सारेको छ ।
लेखा समितिमा पनि तीनवटै प्यानलबाट उम्मेदवारी रहेको छ । काँग्रेस एमाले माओवादी केन्द्रलगायतको संयुक्त गठबन्धनबाट नारायण भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टी नेतृत्वको साझा गठबन्धनबाट पुर्ण बहादुर सारु र रास्वपाबाट शंकर भट्टराई लेखा संयोजकको उम्मेदवार बन्नुभएको छ । भण्डारी पत्रकार समेत हुनुहुन्छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने समय भने अझै बैशाख ५ गते सम्म बाँकी नै छ । त्यसैले यस निर्वाचनमा कसले बाजी मार्ला हेर्न भने बैशाख १० गते सम्म कुनुपर्नेछ ।