बर्दघाट नगरपालिकाले मगर एकता दिवसमा दिएको बिदाको शैली प्रति सरोकारवाला असन्तुष्ट !
रवि पाण्डेय
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मगर एकता दिवसमा दिएको बिदाको शैली प्रति सरोकारवालाहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । बर्दघाट नगरले मगर एकता दिवसकै दिन बिहान पख मात्र सुचना जारी गर्दै मगर जातिलाई मात्र विदा दिएको थियो ।
अघिल्लो बर्षहरुमा मगर एकता दिवसमा पुर्ण विदा दिने गरिएकोमा यस पटक मगर जातिलाई मात्र बिदा दिइएको र त्यसमा पनि उसै दिन बिहान मात्र सुचना जारी गरेको भन्दै मगर समुदायले असन्तुष्टि ब्यक्त गरेको हो ।
मगर युवा भरत काम्मु मगरले यस अघि सार्वजनिक बिदा दिने गरिएको तर यस पटक भने विदा नदिएको भन्दै संजालमा आलोचना गर्नुभएको छ । अगुवाहरुले समयमै विदा नदिने र बिहान पख मात्र बिदाको सुचना जारी गर्नुलाई गैर जिम्मेवारीको संज्ञा दिएका छन् । मगर जातिलाई मात्र भनेर बिहान पख सुचना जारी गर्नु गैर जिम्मेवारीपन हो – एक अगुवाले भने – त्यही सुचना पनि एक दिन अगाडि गर्न सकिन्थ्यो । हामी नगरको तेस्रो ठुलो समुदाय हौं ।
यस्तै सामाजिक संजालमा स्थानीय गोबिन्द बहादुर सारुले मगर एकता दिवसमा सार्वजनिक बिदा नदिएको र समयमै सुचना जारी नगरेको भन्दै खेद ब्यक्त गर्नुभएको छ ।
बर्दघाट नगर कार्यपालिकाका प्रबक्ता सन्तबहादुर गाहाको हस्ताक्षरमा मगर दिवसकै दिन मगरजातिलाई मात्र बिदा दिने सुचना नगरको अफिसियल फेसबुकमा राखिएको थियो । फागुन १४ गते लेखिएको उक्त सुचना सोमवार बिहान ८ बजे मात्र पोष्ट गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका हुन् ।
समयमै विदाको सुचना नआउदाँ बिद्यालयहरुमा अध्यापन गर्ने नगर्ने बारे समेत अन्यौल भएको थियो । विदा बारे अन्यौल बीच नगरपालिका भने संचालनमा आएको थियो । नगरपालिकाको कार्यालयमा सोमवार अरु दिन जस्तो सेवाग्राहीहरु भने आएका थिएनन् ।