पहाडी चुरे बस्तीका योजना अनुगमन गर्दै बर्दघाट नगर उपप्रमुख उपाध्याय
मनोरम छ बर्दघाटको चुरे इलाका !
लक्ष्मी घिमिरे / बुद्धि भुजेल
नवलपरासी – बर्दघाट नगरपालिका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट–२ को पहाडी चुरे क्षेत्रका बस्तीहरुमा योजना अनुगमन गर्नुभएको छ । समयमै काम सम्पन्न गर्न निर्देशन सहित उपप्रमुख उपाध्यायको नेतृत्वका प्राबिधिक सम्मिलित टोलीले योजनाको प्रगति बारे जानकारी लिन अनुगमन गरेको हो ।
सो क्रममा चुरे बस्ती भित्रका ३ वटा योजनाको प्रगति बारे जानकारी लिएको उपप्रमुख उपाध्यायले बताउनुभयो । टोलीमा ईन्जिनियर शारदा भट्टराई, कृषि विकास अधिकृत युवराज लम्साल समेत सहभागी रहेको उपाध्यायले जानकारी गराउनुभयो ।
टोलीले बर्दघाट–२ आमबास देखि पोखरीछाप जाने बाटो , आमबास देखि संसारकोट हुदै तिल्केनी सम्मको बाटो मर्मत गंगटे र पटुकेका बिभिन्न योजना र तिल्केनीको नयाँ ट्रयाकको समेत अनुगमन गरेको थियो ।सो अवसरमा उपप्रमुख उपाध्यायले मंगलादेवी प्राविको समेत अनुगमन गर्नुभएको थियो ।
मनोरम छ बर्दघाटको चुरे इलाका
बर्दघाटको चुरे क्षेत्र पर्यटकीय स्थल संसारकोटले परिचित क्षेत्र हो । पहाडी चुरे क्षेत्रको गाउँ संसारकोट प्रचारप्रसार अभावले ओझेल परेको छ । यसक्षेत्रको विकासका लागि नगरपालिका लागि परेको उपप्रमुख उपाध्यायको दावी छ ।
पर्यटन विकासका सम्भावना बोकेको ऐतिहासिक यो सेनवंशीय पाल्पा राज्यअन्तर्गत थियो । संसारकोट गाउँको मौलादेवी मन्दिर, पुरानो बस्ती मानिने तिल्केनी, बिहारी गाउँ र बिहारी गाउँ पश्चिमको इनारचुली पर्यटकीय स्थल हुन् । तर, ईनारचुलीबारे बर्दघाट नगरपालिका मात्र नभई स्थानीय बासिन्दा समेत अनबिज्ञ जस्तै छन् ।
संसारकोट ऐतिहासिक एंव धार्मिक रुपले पनि महत्वपूर्ण छ । यहाँको मौलादेवीको मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । मौलादेवी मन्दिरमा रहेको घन्ट चन्द्रशमशेर राणाले चढाएको स्थानीय बुढापाका बताउँछन् ।
मौलादेवी मन्दिर सेनवंशीय राजाहरूको कोट मानिन्छ । पाल्पा र गुल्मीका बासिन्दा त्रिवेणीधाम स्नान गर्न यही क्षेत्रको चुरे पहाडको गोरेटो हुँदै आउजाउ गरेको किंवदन्ती पाइन्छ । विशेषगरी दशै र रामनवमीमा यो मन्दिरमा पूजा गर्नेहरूको भीड लाग्छ ।
यो चुरे क्षेत्र साविक धुर्कोट गाविस वडा–७ र ८ मा पथ्र्यो । यहाँका बासिन्दाले केही सिफारिस लिनु परे पाल्पाको सीमा क्षेत्र देउराली पुग्नैपथ्र्याे । जंगलको बाटो हिँडेर जान धेरै टाढाको तत्कालीन गाविसको केन्द्र पुग्न उनीहरू नौ किलोमिटर वरको भुताहा झर्थे । त्यसपछि सवारीसाधनमा बर्दघाट, दाउन्ने, दुम्कीवास हुँदै वेणीमणिपुरको सर्दी उपत्यका छिचोलेर देउराली पुग्नुपर्ने बाध्यता थियो ।
संघीयताले अब उनीहरूलाई बर्दघाट–२ चिसापानीको वडा कार्यालय झरे पुग्ने बनाएको छ । संसारकोट मनोरम प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट स्थल मानिन्छ । विकटता र प्रचार–प्रसार अभावका कारण ओझेलमै बस्न बाध्य छ । विकासका हिसाबले भने चुरे क्षेत्रले गति लिन थालेको छ ।
०७३ मा भुताहादेखि संसारकोटसम्म ट्रयाक खुलेपछि सडक सन्जालमा जोडिएको चुरेका सबै बस्तीमा गरी करिब ४ सय घरपरिवार बस्छन् । समुद्री सतहबाट करिब ७ सय ४५ मिटरको उचाइमा रहेको संसारकोटबाट उत्तरमा माछापुच्छ्रे हिम शृंखलालगायत धेरै हिमाल प्रस्ट देख्न सकिन्छ । दक्षिणमा पर्ने बर्दघाट बजारदेखि त्रिवेणी, भैरहवा, भारतको नौतनवादेखि सफा मौसमका बेला दूरविनले गोरखपुरसम्म देख्न सकिन्छ ।
पुस, माघमा तराई क्षेत्रको आकाशमा हुस्सुले छानो बनाउँदा चुरे क्षेत्रमा भने टहटह घाम लाग्छ । गृष्म ऋतुमा तराई–मधेसमा गर्मी हुँदा यहाँ शितल हावा चल्छ । चुरे क्षेत्रमा सुखौरा, आमबाँस, पोखरीछाप, संसारकोट, केवरेढाप, तिल्केनी, भोर्लेनी, चावचा, बिहारी, हुक्सेदमार, पटुकेलगायतका बस्ती छन् ।