सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
सत्ता गठबन्धन दल आगामी निर्वाचनमा तालमेल गर्दा सिट बाँडफाँटको चाँजो मिलाउन कसरत गरिरहेका छन् । कार्यदलमा महिना दिनसम्म छलफल गर्दा समेत त्यसबारे सहमति नबनेपछि ११ दिनदेखि शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । १२ औँ दिन मंगलबार पनि त्यसबारे छलफल हुँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार पनि दिउँसो ३ बजेका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । तर‚ चार बजे भने प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच बालुवाटारमा भेटवार्ताका लागि समय तय भइसकेको छ ।
देशभर प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० प्रत्यक्ष निर्वाचन क्षेत्र छन् । तीमध्ये गठबन्धनका पाँच दलले कसले कति सिट लिने भन्ने विषयमा तालमेलको प्रयास भइरहेको छ । तर‚ शीर्ष नेताहरू आफैँ सहमतिका लागि प्रयासरत भए पनि अहिलेसम्म सहमति जुटेको छैन ।
गठबन्धनमा दलहरुले २० साउनमै चुनावी तालमेल गर्ने र त्यसका लागि सिट बाँडफाँटको खाका बनाउन नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेताहरुले विभिन्न मोडेलमाथि छलफल गरेर त्यसको विवरण शीर्ष नेताहरूमाझ पेश गरिसकेका छन् । kantipurnews