तम्घास सिमलटारी सडकमा पक्की पुल नहुँदा सास्ती
गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ को तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा तम्घासदेखि सिमलटारीसम्मको मदन भण्डारी राजमार्गको पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ । सडक कालोपत्रे भएको तीन वर्ष बितिसक्दा पनि विभिन्न खहरे खोलामा पुल नहुँदा यात्रुले निकै सास्ती खेप्नु परेको छ ।
तम्घास सिमलटारी सडक अन्तर्गत राजमार्गका गुर्वा, हुलाके, धनार्जी, फुलबारी र घमिर खहरे खोलामा पुल नबन्दा साना ठूला सवारी साधन र पैदल यात्रुलाई समेत आउ–जाउ गर्न समस्या परेको हो ।
पुल नहुँदा सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता छ । यी खहरे खोलामा आउने भेलले सवारी साधन बगाउने गरेको विद्यार्थी बसु क्षेत्रीले बताइन् । पानी परेपछि खोला बढ्दा समयमै स्कुल पुग्न पनि कठिनाइ हुने गरेको उनले बताइन । चक्रबन्धु भुसाल यात्रा गर्दा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था भएको बताउँछन् ।
मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले हुलाके, धनार्जी, फुलवारी र घमिर खहरे खोलाका चार वटा पुलको काम सुरु गरेको बताए । वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनले बताए ।
पन्त निर्माण सेवाले फुलवारी र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ । हुलाके र धनार्जी खोलामा पनि पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले ठेक्का सम्झौता गरेको मदन भण्डारी राजमार्गका इन्जिनियर दुर्गा गौतमले बताए ।
घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फुलवारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार लागत रहेको छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० साल भदौ महिना भित्र सम्पन्न गरिसक्नु सम्झौता भएको मदन भण्डारी राजमार्गका इन्जिनियर गौतमले बताए ।
घमिर खोलाको पुल १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । फुलवारी खोलाको पुल २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । त्यस्तै धनार्जी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार को लागतमा निर्माण हुनेछ ।
धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यो पुल २०८० साल माघ महिना भित्र सम्पन्न गर्नुपर्ने इन्जिनियर गौतमले बताए । हुलाकेमा निर्माण हुने पुल २५ मिटर लम्बाइ ११ मिटर चौडाइको हुनेछ ।
चुनाव नजिकिएपछि झुल्किए सांसद
घमिर खोलामा पक्कि पुल बन्ने स्थानमा पुगेर गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्णराज बिष्टले अवलोकन गरे । यस भेगमा सबैभन्दा लामो समय जनप्रतिनिधि रहेका उनीमाथि निर्वाचन जितेपछि भने निर्वाचन क्षेत्रको बेवास्ता गरेको आरोप लाग्ने गर्छ । अवलोकनको क्रममा तम्घास सिमलटारी सडक अन्तरगत पर्ने सबै खोलामा पुल निर्माण गर्न निर्माण कम्पनीलाई ठेक्का दिइसकेको तर समयमा काम नगर्दा जनताले सास्ती भोग्नुपरेको बिष्टले बताए ।
ठूलो संघर्षले तम्घास सिमलटारी सडक कालोपत्रे गर्न सफल भएको उनले बताए । सडक कालोपत्रे भएपछि पक्की पुल बन्न बाँकी रहेका स्थानमा तोकिएकै समयमा पुल निर्माण हुनेमा आफू विश्वस्त रहेको बिष्टले बताए ।
ठेक्का पाएको निर्माण कम्पनीले आउँदो असोजदेखि निर्माण कार्य सुरुगर्ने बताएका छन् ।
तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम तीन वर्ष पहिले एक अर्बको लागतमा सम्पन्न भएको हो । सडक कालोपत्रे गर्न ०७२ साल देखि कालिका कन्ट्रक्सनले निर्माणको काम गरेको थियो । तम्घासबाट सिमलटारी सम्मको सडक ०४३ सालतिर सडकको ट्रयाक खोल्ने कार्य भएको थियो । onlinekhabar