‘नेपालमा ५ हजार ६ सय ६ प्रजाति फूल फुल्ने वनस्पति’
नेपालमा ५ हजार ६ सय ६ प्रजातिका फूल फुल्ने वनस्पति रहेको पाइएको छ । मंगलबार सार्वजनिक गरिएको ‘प्लान्ट्स अफ नेपाल : जिम्नोस्पर्म एन्ड एन्जियोस्पर्म’ अनुसन्धानात्मक पुस्तकमा उक्त विवरण उल्लेख छ ।
प्राध्यापक एवं वरिष्ठ वनस्पतिविद् कृष्णकुमार श्रेष्ठसहित प्रवीन भण्डारी र सन्देश भट्टराईले लेखेको यो पुस्तकमा नेपालमा पाइने सबै प्रकारका कोणधारी र फूल फुल्ने वनस्पतिका विवरण समावेश छ ।
नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)मा मंगलबार आयोजित कार्यक्रममा उपकुलपति सुनीलबाबु श्रेष्ठले पुस्तकको लोकार्पण गर्दै पुस्तककले नेपालको वनस्पति अभिलेखका लागि महत्त्वपूर्ण योगदान गरेको बताए ।
सल्ला, धुपीलगायत कोणधारी बिरुवाहरू जिम्नोस्पर्म वर्गमा पर्छन् भने फूल फुल्ने वनस्पतिहरू एन्जियोस्पर्म वर्गमा पर्छन् ।
पुस्तकका अनुसार नेपालमा २४ विभिन्न प्रजातिका कोणधारी वनस्पति छन् । यस्तै, २ वटा उपप्रजातिका कोणधारी वनस्पति नेपालमा पाइन्छन् । प्राध्यापक श्रेष्ठले पुस्तकमा भएको तथ्यांक सुनाउँदै भने, ‘नेपालमा अब ५ हजार ६ सय ६ प्रजातिका फूल फुल्ने वनस्पति अभिलेख भएको छ । २ सय १४ वटा उपप्रजातिका फूल फुल्ने बिरुवाहरू पनि नेपालमा छन् ।’
खतराको सूचीमा रहेका कोणधारी र फूल फुल्ने वनस्पतिको संख्या २४ छ । यस्तै, ३ सय २ वटा फूल फुल्न रैथाने वनस्पति नेपालमा मात्रै पाइने पुस्तकमा उल्लेख छ । यस्तै, साइटिस सूचीमा रहेको वनस्पतिको संख्या १ सय ३५ छ । तीमध्ये साइटिसको अनसूची १ मा एउटा, अनसूची २ मा १ सय ३० र अनसूची ३ मा ४ प्रजाति बिरुवा समावेश छन् ।
यसअघि प्रकाशित विभिन्न खोज, आलेख र अनुसन्धानलाई समेटेर लेखकहरूले एकीकृत रुपमा कोणधारी र फूल फुल्ने वनस्पतिको सम्पूर्ण विवरण यो पुस्तकमा समावेशमा गरेका छन् । पुस्तकमा २ हजार ६ सय ९ प्रजातिका जडिबुटीजन्य बिरुवा, ७ सय ७० वटा खाना मिल्ने वनस्पति, ४ सय ४२ वटा घाँस/सेउलाजन्य वनस्पति, धार्मिक कार्यमा प्रयोग हुने ९० प्रजातिका वनस्पति, तेल निकाल्न मिल्ने ५० प्रजातिका वनस्पतिहरु नेपालमा पाइने उल्लेख छ । नेपालमा पाइने फूल फुल्ने र कोणधारी बिरुवाहरुमध्ये ३ सयभन्दा बढी प्रजाति सजावटमा पनि प्रयोग हुने गरेको श्रेष्ठले बताए । यस्तै ३ सय २ वटा रैथाने बिरुवाहरु रहेको उनले जनाए ।
पुस्तकका सहलेखक प्रविन भण्डारीले भने, ‘अहिले जति पनि कोणधारी र फूल फुल्ने बिरुवाहरू नेपालबाट रिपोर्टिङ भएका छन्, ती सबै बिरुवाहरुको अपडेट चेकलिस्ट यो किताबमा छ ।’ यो पुस्तक सन् १९७८मा प्रकाशित ‘इनुमुरेसन अफ द फ्लावरिङ प्लान्टस’ को परस्कृत स्वरुपसहित नयाँ तथ्य र विवरणहरू उल्लेख छ ।
वनस्पतिप्रति रुची हुनेहरूका लागि यो पुस्तक अत्यन्तै उपयोगी हुने उनले बताए । ‘विशेष गरी वनस्पतिविद्हरूलाई अत्यावश्यक अनुसन्धानात्मक पुस्तक हो,’ उनले भने ।
वनस्पति विभागकी महानिर्देशक राधा वाग्लेले पुस्तकले नेपालमा पाइने वनस्पतिको वर्गीकरण र अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
रोयल बोटानिकल गार्डेन इडिनवगका वरिष्ठ वनस्पतिविद् मार्क वाटसेनले तथ्यमा आधरित भएर लेखिएकाले पुस्तक उपयोगी भएको बताए । इमिरेट्स प्रोफेसर एवं वरिष्ठ वनस्पतिविद् रामप्रसाद चौधरीले पुस्तकले नेपालमा पाइने फूल फुल्ने बिरुवा र कोणाधारी बिरुवाको विस्तृत अभिलेख गरेको जनाए ।
अर्का वनस्पतिविद् प्राध्यापक तीर्थबहादुर श्रेष्ठले वनस्पतिविद्हरूले गरेका अध्ययन/खोजलाई पुस्तकको रुपमा ल्याउँदा ज्ञान पुस्तान्तरण गर्न सहयोग पुर्याउने विश्वास गरे । उनले पुस्तकमा वनस्पतिहरूको नेपाली नाम पनि उल्लेख गरिएकाले महत्त्वपूर्ण हुने जनाए ।
पुस्तकमा २ हजारभन्दा बढी वनस्पतिको नेपाली नाम समावेश छ । kantipurnews