मदन भण्डारी राजमार्ग : पुल नहुँदा जोखिम मोलेर यात्रा
सडक कालोपत्रे भएपनि खोलाहरुमा पक्कीपुल नहुँदा सर्वसाधरण नागरिकहरु बर्खामा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । पुलबीनाको कालोपत्रे सडकले मदन भण्डारी राजमार्गलाई गिज्जाइरहेको छ । सामान्य झरी पर्दा पनि खोला बढेर यात्रुहरु गन्तव्यमा पुग्न सक्दैनन् ।
गुल्मीको भित्री सडक अन्तर्गत पर्ने मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र रेसुंगा नगरपालिकाका बस्तीहरुमा सडक भएर दैनिक सयौँ गाडीहरु ओहोरदोहोर गर्छन् । सदरमुकाम तम्घाससहित बुटवल, काठमाडौं पुग्नका लागि पनि यस क्षेत्रका मानिसको सजिलो गन्तव्य यही मार्ग हो ।
ढुक्कसँग यात्रा गर्ने नागरिकहरुको चाहना पूरा हुन कम्तीमा अझै डेढ वर्ष लाग्ने छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने गुल्मीको तम्घास–सिमलटारी खण्डमा सडक कालोपत्रे भएको चार वर्षपछि बल्ल पक्की पुल बन्ने तरखर भएको छ । छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका नागरिकहरु समेत यसै सडक भएर आउजाउ गर्ने गर्छन् । सडक कालोपत्रे भएर हौसिएका नागरिकहरु पुल नबन्दा वर्षौसम्म निराश भएका थिए । चार वर्षपछि भएपनि पुल बन्ने प्रक्रियाले गति लिन थालेपछि यस क्षेत्रका नागरिकहरु उत्साहित हुन थालेका हुन् । तम्घासदेखि सिमलटारीसम्मको दुरी २८ किलोमिटर हो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका इन्जिनियर दुर्गा गौतमले तम्घासदेखि सिमलटारीसम्मका चारवटा खोलाहरुमा पक्की पुल बन्ने प्रक्रिया अघि बढिसकेको जानकारी गराए । फूलवारी खोला अर्जै, घमीर खोला, हुलाके खोला र धनार्जे खोलामा ११ मिटर चौढाइको पक्कीपुल बन्ने उनले बताए ।
फूलवारी र घमीर खोला पुल निर्माणका लागि पन्थ निर्माण सेवा प्रा.लि गुल्मीसँग ठेक्का सम्झौता भएको छ भने हुलाके र धनार्जे खोला पुल निर्माणका लागि शुनिल समिर निर्माण सेवा प्रालिसँग सम्झौता भएको छ । यी चारवटा पुल निर्माणका लागि भ्याटसहित १९ करोड २६ लाख ५५ हजार २ सय रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको इन्जिनियर गौतमले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले आगामी ०८० भदौ, मंसीर र माघ महिनाभित्र पुल बनाइसक्नुपर्ने सम्झौता छ ।
मदन भण्डारी राजमार्ग कुन ठाउँबाट जाने भन्ने विषय नटुंगिदा बिचमा कामले गति लिन नसकेको र पुल निर्माणमा ढिलाई भएको आयोजना कार्यालयका प्रमुख शशांक मिश्रले जानकारी दिए । ‘यसबीचमा डीपीआर तयार भए’,उनले भने,‘अहिले मदन भण्डारी राजमार्गको सडकमा विवाद छैन् । अब कामले गति लिन्छ ।’
गुल्मीको सिमलटारीहुँदै पुर्कोटदह, प्यूठानको सौतामारेबाट मच्छि हुँदै एउटा खण्ड र अर्घाखाँचीको बलकोट, रतनमारे, गोखुंगाहुँदै प्यूठानको मजुवासम्म जाने अर्को खण्ड तय भएको छ । मदन भण्डारी राजमार्ग पहाडी जिल्लाका नागरिकहरुको जीवनस्तर माथि उकास्ने महत्वपूर्ण योजना हो ।
पुल नहुँदा बर्खामा जोखिम मोलेर यात्रा गर्नुपरेको मालिका गाउँपालिका ५ छापहिलेका गाडी चालक बसन्त श्रीसले गुनासो गरे । ‘पुल बीनाको कालोपत्रे सडकको के काम,’उनले भने,‘यो त मान्छे बाहिर हेर्दा चिटिक्क तर भित्र भित्रै रोगी जस्तै भएन र ?’
उनले पुल निर्माणको कामलाई तत्काल सुरु गरि तोकिएकै समयमा पूरा गर्न माग गरे । हिउँदमा हिँड्न सजिलै भएपनि बर्खामा निकै कष्ट पर्ने गरेको उनको दुःखेसो छ । हुलाकेबाट तम्घास २५ मिनेटमै पुग्न सकिने भएपनि बर्खामा खोलाले बाटो छेक्दा इस्मा गाउँपालिका कार्यालय, मैदान र दर्लामचौर हुँदै घुमेर जाँदा करिब डेढ घण्टा लाग्ने गरेको उनले सुनाए । annapurna post