प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या बढाउनुपर्छ : पूर्वसभामुख घर्ती

0

माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले तिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवार संख्या बढाउनुपर्ने बताएकी छन् । प्रत्यक्षतर्फ महिला नेताहरूलाई उम्मेदवार बनाउनका लागि सबै राजनीतिक दलहरूले टिकट वितिरणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

माओवादीको अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वसभामुख घर्तीले हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेता रहेकाले टिकट वितरणमा राजनीतिक नेतृत्वले ध्यान पुर्‍याउनुपर्ने बताइन् ।

पार्टीका शिर्ष नेताहरूमा महिलाहरू समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले रहेको र स्वयं महिलाहरू समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको भन्दै उनले त्यस्तो धारणा तोड्नुपर्ने बताइन् । ‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ,’ उनले भनिन्, ‘महिलाहरू समानुपातिकमा मात्र लालायति हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरूमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’

पुरुषहरूलाई पितृसत्तावादी भनेर गाली गर्ने महिला आफैं त्यो मनोदशाबाट ग्रस्त भएको घर्तीको टिप्पणी थियो । उनले आफूभित्रको पृत्तसत्तावाद जबर्जस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन् । महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन् । महिलाहरूले अवसर पाएमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्छन् भन्ने प्रमाणित भएको उनको भनाइ थियो । सभामुख हुँदा आफ्नो ‘खिसिट्युरी’ भएको तर जिम्मेवारीपूर्ण रूपमा आफूले काम गरेको उनको भनाइ थियो । ‘६ महिना त म २ घण्टा मात्र सुतेँ । कहिले काहीं त त्यो पनि भएन’, उनले भनिन्, ‘भोलिपल्ट बस्ने संसद्मा जुन विषयमा छलफल छ त्यसबारे धेरै अध्ययन गरे जान्थे । मैले संविधानका प्रत्येक हरफ हातले डायरीमा कोरेर पढेको छु । संसद् सचिवालयमा धुलोले पुरिएका किताब धुलो टक्टक्याएर पढेर बैठकमा जाने गरेको थिएँ ।’

आफू असफल हुँदा महिलाहरू शासन, प्रशासन चलाउन सक्दैनन् भन्ने सन्देश प्रवाह हुने र आफूलाई नजिरका रुपमा देखाएर भविष्यमा अरु महिलालाई अवसरबाट रोक्न सक्नेतर्फ सधैं सचेत भएर काम गरेको अनुभव घर्तीले सुनाइन् । आफूलाई सफल बनाउन सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिका कहिल्यै बिर्सन नसक्ने पनि उल्लेख गरिन् । ‘महिलालाई अवसर दिने र सम्मान गर्ने संस्कार अरु पार्टीको तुलनामा माओवादीमा धेरै राम्रो छ’, उनले भनिन् । आफूहरूको आन्दोलनले नै आजका छोरीहरूलाई अधिकारप्रति सचेत गराएको र आफ्नै खुट्टामा उभिन सक्ने बनाएको दाबी घर्तीले गरिन् । महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताइन् । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उनको भनाइ थियो । kantipurnews

You might also like