महिला हिंसाविरुद्धको‌ महाअभियान

तिम्रो बजेटमा मेरो नाम छैन .....!

0
तिम्रो आँगनको निलकाँडा उखेल्दा
अनि पिढीको कसेर सोहोर्दा
मेरा हातका रेखा मेटिएछन्
भाग्य को बाटो अन्तै मोडियो !
…………………………………
कहाँ पासाङ्को पाइला पछ्याउन हिडेको म
तिम्रो जुठ्यान सोहोर्ने जुठे भएछु !
कहाँ पारिजातको नामको फुर्को समात्न हिडेको म तिम्रो चुलोमा दाउरा जोर्ने भान्से भएछु !
कहाँ रावणको लङ्का दहन गर्न हिडेको म
तिम्रो शयनकक्षमा लोट्ने मान्छे भएछु !
बोल न किन चुप छौ तिमी !
केही त छुट्याउन मेरो भागमा पनि !
किन छुट्याएनौ …..
तिम्रो जुठेको नाउँमा अाज पनि केही ?
किन बोलेनौ
……. तिम्रो भान्सेको पक्षमा एेलेपनि केही ?
किन लेखेनौ …..
तिमी छेउ पछारिनेकालागि आज पनि केही ?
रुख रोप्नेलाई फल दियौ
बिउ छर्ने लाई जल दियौ
बाँझो जोत्नेलाई मल दियौ ….
तर तिम्रा लागि जीवनै रोप्ने त मै हुँ
तिमी सत्तारुढ हुँदा
नढाँटी भन सानु
तिमीले मलाई के दियौ ?
यस्तो लाग्दैछ ….
ब्यर्थै मेटाएछु तिम्रो प्यास आफ्नो जीवन सुकाएर !
ब्यर्थै गरेछु तिम्रो सेवा आफनो खुशी दुखाएर
ब्यर्थै गरेछु तिम्रो काँडा र फोहोर विसर्जन
ब्यर्थै सोहोरेछु तिम्रो रछान
आफ्नो हस्तरेखा नै मेटाएर !
बर्षौ कुरायौ
आशामा झुलायौ
दुःख पिलायौ….
तर …..
अाज तिमी कल्पवृक्ष बनेका बेला
बिचरी मलाई एक गास निल्न पनि
तिम्रो आगमन पर्खिने बनायौ !
शायद
….मेरी हजुरआमाजस्तै
……. ‌मेरी आमाजस्तै
मेरी भाउजु अनि दिदीजस्तै !
ए धर्ती माता मलाई बताइदेऊ न
कुन शक्तिको पूजा गरू
जसले म पोडे बनेको मर्म बुझ्छ !
जसले म जुठे भएको मर्म बुझ्छ !
जसले म दासी भएको मर्म बुझ्छ !
मेरा अस्तिवका आमहत्या बुझ्छ !
मेरा सपनाका लगानी बुझ्छ …..
र सर्लक्क फिर्ता गरिदिन्छ ब्याजजस्तै !
सरक्क पढिदिन्छ स्पस्ट
आजको बजेट जस्तै ….!
बल्ल पो………..
म तिम्रो आँगनामा फूल फुलाउँदा वैलाउँदिन !
तिम्रो पिढीको कसेर फाल्दा ढल्मलाउँदिन !
तिम्रो भान्सामा अागो बाल्दा मन जलाउँदिन !
तिम्रो जुठ्यानमा सल्बलाउँदस घिनाउँदिन !
तिम्रो आडमा इनार खन्दा तिर्खाउँदिनँ !
साच्ची ,
म तिम्रो मयल पखाल्दा डगमगाउँदिन !
तिम्रो इच्छामा सर्वत हुँदा ढल्पलाउँदिन !
… ‌‌… ….
र त हामी एक हुन्छौँ
र त हामी सुखी हुन्छौँ
र त हामी सुरक्षित हुन्छौँ
अनि पो हास्छ हाम्रो बस्ती !
अब त बुझ न ए मेरो घरको नाइके
तिम्रो बार्षिक बजेटमा
यसपाली पनि तिम्री भान्सेको नाम छुट्यो !
तिम्री जुठेको नाम छुट्यो !
तिम्री सेविकाको नाम छुट्यो !
तिम्री दासीको भाग छुट्यो !
तिम्री धोबीनीको नाम छुट्यो !
तिमी आफै भन कसरी हुन्छ तिम्रो घर सुन्दर
कसरी हुन्छ तिम्रो स्वर्ग हराभरा
म भोको पेट रुँदा !
कसरी हुन्छ तिम्रो संसार सुरक्षित
जब कि तिम्रो बजेटमा मेरो नाम छैन !!!  kabita kavya
You might also like