‘कबड्डी–४’ ले न्यूनतम २५ करोड कलेक्सन गर्ने वितरकको दाबी  

0

नेपाली कथानक चलचित्र ‘कबड्डी–४’ ले हालसम्मका ग्रस कलेक्सनका सम्पूर्ण रेकर्ड तोड्ने वितरकले बताएका छन् । पहिलो हप्ताको कलेन्सन रिपोर्ट र दोस्रो हप्तासम्म देखिएको दर्शकको चापका आधारमा नेपाली थिएटरमा हालसम्म भएका ग्रस कलेक्सनको सम्पूर्ण रेकर्ड ब्रेक गर्ने चलचित्र वितरकको भनाइ छ ।

चलचित्र वितरक प्रचण्डमान श्रेष्ठका अनुसार एक सातामा चलचित्रले १४ करोडभन्दा धेरै ग्रस कलेक्सन गरिसकेको छ । अहिले पनि दर्शकको चाप बाक्लो रहेको उनी बताउँछन् ।

“नेपाली, हिन्दी, अंग्रेजीलगायत जेजति चलचित्रले नेपालमा पहिलो हप्ता राम्रो कलेक्सन गरे ती सबै रेकर्ड यो चलचित्रले तोडिसकेको छ,” उनी भन्छन्, “पक्कै पनि अरु चलचित्र यो शुक्रबारबाट आएका कारण केही शो घटेको छ । तर, अहिले पनि उच्च शो पाएको छ । र, दर्शकको चाप झण्डै उत्तिकै छ ।” यो चलचित्र गत साताबाट प्रदर्शनमा आएको हो ।

उनले नेपालमा हालसम्म भएको उच्च ग्रस कलेक्सनको रेकर्ड ‘कबड्डी–४’ले तोड्ने निश्चित देखिएको बताए । उनी अनपेक्षित रुपमा चलचित्रले व्यापार गरेको बताउँछन् ।

“हामीले पनि यति धेरै व्यापार गर्छ भन्ने सोचेकै थिएनौं । तर, यसले नेपाली चलचित्रले पनि राम्रो कलेक्सन गर्छ भन्ने प्रमाणित गरिदियो,” उनले भने, “यही हिसावले अगाडि बढ्ने हो भने दोस्रो र तेस्रो हप्ताको व्यापार पहिलो हप्ताको जति भयो भने पनि २८ करोड ग्रस कलेक्सन हुने देखियो ।”

दर्शकको संख्या घटे पनि कम्तीमा २५ करोड कलेक्सन हुने उनको दाबी छ ।

‘कबड्डी–४’ किन यति धेरै दर्शकको रोजाइमा पर्यो भन्ने यकिन कारण नरहे पनि अघिल्ला तीनवटा सिरिजका कारण यो चलचित्रका पात्रहरु दर्शकसँग आत्मीय भइसकेको निर्देशकसमेत रहेका प्रमण्डमान बताउँछन् । वीरकाजी, बमकाजी र सोल्टिनी दर्शसँग परिचित भएको उनी बताउँछन् ।

“सायद कटप्पापछि नेपालमा चलचित्रको पात्रलाई लिएर यति धेरै उत्सुकता कायम भएको यो नै पहिलोपटक होला,” उनी भन्छन्, “काजीको बिहे हुन्छ कि हुँदैन भन्ने प्रश्न आम चलचित्रप्रेमीमा थियो ।” यसले पनि दर्शकलाई हलसम्म तान्न सहयोग गरेको उनको ठम्म्याइ छ ।

निर्वाचन भर्खरै सकिएको, राम्रो नेपाली चलचित्र नआएको धेरै समय भएको र राम्रो डेट पाएका कारण पनि चलचित्रले अनपेक्षित व्यापार गरेको उनको बुझाइ छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर, सौगात मल्ल, विजय बराल, बुद्दि तामाङगायत कलाकार छन्  ! baahrakhari

You might also like