काठमाडौंमा विप्लवबाट कारवाहीमा परेका हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेला

0

नेत्रविक्रम चन्द‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेला काठमाडौंमा भर्खरै सुरु भएको छ । पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको भन्दै विप्लवले ओली र बास्कोटालाई कारवाही गरेपछि उनीहरुले आफ्नो पक्षको केन्द्रीय समिति भेला गरेका हुन् । देशैभरबाट उपस्थित भएका केन्द्रीय समिति र सल्लाहकार समितिको बैठक काठमार्डौंमा केही दिन चल्ने बताएको छ ।

केन्द्रीय समितिका ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्य भेलामा उपस्थिति भएको हेमन्तप्रकाश धर्मेन्द्र पक्षका एक नेताले बताए । पार्टी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल‘असारे काका’ सहित ५ जनाले विप्लवलाई छोडेको ती नेताले बताए । ‘अहिले भर्खरै ४० भन्दा बढी केन्द्रीय सदस्य समितिका असारे काकासहित पाँचै जना सल्लाहकार समितिको सहभागिता छ । अरु केन्द्रीय सदस्य थपिने क्रम जारी छ’ हेमन्तप्रकाश र धर्मेन्द्र पक्षका ती नेताले भने, ‘विचार राजनीतिको केन्द्र यतै भएकाले बहुमत हुन्छ । नेकपाको निरन्तरतामै बहुमतले अल्पमतलाई कारवाही गर्ने स्थिति बन्नेछ ।’ पार्टी नीति विपरित जाने विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायतका नेतालाई कारवाही गरिने ती नेताले चेतावनी दिए ।

उनीहरु राजनीतिक र वैचारिक रुपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग नजिक भएकाले उतै सहकार्य गर्ने स्थिति आउन सक्ने बताइँदै आएको छ । तर विप्लवसहित विश्वकर्माहरू एमाले पथमा लागेको ती नेताले आरोप लगाए ।
‘प्रतिबन्धको अवधिमा तीन बुँदे सहमति स्थानीय चुनावी तालमेलसम्म आउँदा विप्लव र विश्वकर्माले एमाले अध्यक्ष केपी ओलीसँग भित्री रुपमा सहमति गरेको बुझिन्छ’ ती नेताले दाबी गर्दै भने, ‘जनयुद्धदेखि प्रतिबन्धको अवधिमा भएका सहिदको बलिदान एमाले शरणमा लगियो । स्थानीय तहको चुनावमा एमालेसँग तालमेल गर्ने वातावरण बनाउँदै उनीहरु समेत संसद छिर्ने दाउ देखिन्छ ।’ विचार राजनीतिलाई मर्न नदिने भन्दै क्रान्तिको झण्डा झुक्न नदिने हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भनाई छ ।  ratopati
You might also like